Khadya Bibhag

पत्रकारिताका लागि घरमा विद्रोह गर्नुभएका अर्कना

लक्ष्य स्पष्ट भएपछि नतिजाको प्रतिक्षा हुँदैन । लक्ष्य निर्धारण हुन्छ । तर परिणामको आश हुँदैन । परिणाम सकारात्मक होस् या नकारात्मक, त्यसले दिने सन्तुष्टिको पनि बैग्लै आनन्द हुन्छ । अर्कना हुसैन (खातुन)को पनि लक्ष्य त्यस्तै छ । अर्कनाले पनि लक्ष्य लिनुभएको छ तर परिणामको पछि कहिले लाग्नु भएन ।

बारा बसतपुर कलैयामा जन्मिनु भएका अर्कनाको लालन पालन, शिक्षा दीक्षा सबै काठमाडौँमा भएको हो । बुवा महम्मद शानी ठकुराइ काठमाडौमा जागिरे भएको कारण अर्कना पनि काठमाडौँमै बस्नुभयो । उहाँको लक्ष्य नै पत्रकार बन्नु थियो र छ पनि । त्यसबाहेक अरु कुनै लक्ष्य लिनुभएन । उहाँले आफ्नो लक्ष्य प्राप्तिका लागि आफ्नो पथमा हिडि रहनु भएको छ । लक्ष्य प्राप्त हुन्छ कि हुँदैन उहाँलाई थाह छैन, तर लक्ष्य प्राप्तिका लािग निरन्तर हिडिरहनु भएको छ ।


उहाँका आमा बुवाले उहाँलाई पत्रकार होइन, डाक्टर–इन्जिनियर पढाउन चाहनु भएको थियो । त्यही भएर २०६५ मा एसएलसी पास गरेपछि अर्कनालाई प्लस टुमा साइन्स पढ्नका लागि कलैयाका डिभाइन कलेजमा पठाउनु भएको थियो । डिभाइन स्कुलका प्रमुखसँग चिनजान भएका कारण उहाँको बुवाले पढ्नका लागि त्यहाँ पठाउनु भएको थियो ।
अर्कनाले भन्नुभयो, ‘बुवाका साथीले यही पठाई दिनु म आफ्नो देखभाल राम्रोसँग पढाई दिन्छु बुवा त्यही गर्नुभयो । मलाई त्यहाँ पठाउनुभयो तर मलाई त्यहाँ पढ्न मन नै लागेन । साइन्सको नाम सुनेपछि मलाई त्यतिकै टाउको दुख्थ्यो ।’ पढाइको क्रममा अर्कना धेरै पटक कक्षा कोठामा रुनु भएको थियो किनभने उहाँको लक्ष्य साइन्स पढेर डाक्टर बन्नु थिएन । उहाँलाई जसरी पनि पत्रकार बन्नु थियो तर कसरी त्यो थाह थिएन ।

 

‘अरुको आमाबुवाले छोराछोरीलाई पढाउनका लागि देश विदेश बाहिर पठाउनु हुन्छ तर मेरो बुवाले मलाई काठमाडौबाट पढ्नका लागि गाउँ पठाउनुभयो त्यसमा पनि मलाई दुख लागेको थियो,

डिभाइन जाँदा अर्कनाले आफ्नो आमालाई साइन्स पढ्न सक्दिन, पापालाई भन्नुस् त्यहाँ नपठाउनका लागि भनि पटक पटक भन्नुभएको थियो । तर छोरीलाई डाक्टर नै पढाउने भनि साथीको निगरानी साइन्स पढ्नका लागि उहाँको बुवाले डिभाइन पठाउनुभएको थियो ।

‘अरुको आमाबुवाले छोराछोरीलाई पढाउनका लागि देश विदेश बाहिर पठाउनु हुन्छ तर मेरो बुवाले मलाई काठमाडौबाट पढ्नका लागि गाउँ पठाउनुभयो त्यसमा पनि मलाई दुख लागेको थियो, अर्कना भन्नुहुन्छ, ‘आमालाई यो कुरा मैले पटक पटक भनेको थिए, मेरो हालत हेरेर आमाले भन्नुभएको थियो, छोड दे पढाइ लेखाइ आइजा काठमाडौँ ।’ त्यसपछि म काठमाडौँ फर्केका थिए ।’

पत्रकार बन्न सिंहदरवार
उहाँको बुवाले समाचार सुन्नका लागि घरमा एउटा ब्ल्याक एण्ड ह्वाइट टिभी ल्याउनु भएको थियो । त्यसमा एक जना महिलाले समाचार पढी रहेको अर्कनाले हेर्नुभयो । समाचारमा के भनिरहनु भएका थियो त्यो उहाँलाई थाह थिएन तर यसरी नै आफू पनि समाचार पढ्ने कुरा उहाँको दिमागमा बस्यो ।

कसरी कसरी पढ्ने, कसलाई भन्ने, त्यहाँसम्म कसरी पुग्ने अर्कनासँग कुनै आइडिया थिएन । सायद त्यतिबेला अर्कना ५–६ कक्षा पढदै हुनुहुन्थ्यो । उहाँलाई कसैले सिंहदरवारमा यसरी न्युज पढ्न पाइन्छ भनेको थियो । त्यसपछि उहाँ सिंहदरवारतिर लाग्नुभयो । कसो कसो उहाँ सिंहदरवार छिर्नुभयो । सिंहदरवारभित्र न्युज पढ्ने ठाउँ दिनभरी खोज्नु भयो ।

 

अर्कनालाई पत्रकार बन्नु थियो, टिभीमा समाचार पढ्नु थियो । त्यसका लागि केही पढ्नुपर्छ भनि उहाँसँग कुनै आइडिया थिएन ।

कोही उता जा भन्थे, कोही यता जा भन्थे तर दिनभर खोज्दा पनि उहाँले न्युज पढ्ने ठाउँ पाउनु भएन । निराश भएर घर फर्किनुभयो । घर फर्के पनि सवार भएको समाचार पढ्ने भुत झरेको थिएन । जसरी पनि समाचार नै पढ्ने हो भनि उहाँले मनमा ठानि सक्नु भएको थियो तर कसरी त्यसको बारेमा उहाँले केही सोच्नु भएका थिएन ।

सात कक्षासम्म लिटल एन्जलस स्कूलमा पढ्नु भएका अर्कना एसएलसी नाइटिङ्गल स्कूलबाट पास गर्नुभएको हो । एसएलसी पास गरेपछि के पढ्ने कुनै आइडिया थिएन अर्कनासँग । तर आमा–बुवाले छोरी डाक्टर, इन्जिनियरिङ पढोस् भनि थियो । अर्कनालाई पत्रकार बन्नु थियो, टिभीमा समाचार पढ्नु थियो । त्यसका लागि केही पढ्नुपर्छ भनि उहाँसँग कुनै आइडिया थिएन ।

पत्रकारिताका लागि मोडिलिङ
अर्कना भन्नुहुन्छ, ‘टिभीमा समाचार पढ्न, पत्रकार बन्नका लागि पनि पढ्नुपर्छ भन्ने कुराको जानकारी मलाई थिएन, पत्रकारिता पढ्नुपर्छ भन्ने कुरा मलाई कसैले भन्नु पनि भएन । मलाई कसैले भनेको भए म पत्रकारिता नै पढ्थे ।’ कलैयाको डिभाइन कलेज छाडेर उहाँ काठमाडौँ आएर एडभान्स कलेजमा म्यानेजमेन्ट पढ्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला कसैले पत्रकारिता पढनुपर्छ भनि आइडिया दिएको भए म पत्रकारिता नै पढ्थे ।’

म्यानेजमेन्ट पढ्नमा पनि उहाँको ध्यान थिएन । उहाँको मन पत्रकारितामा रुमालिएको थियो । पछि त उहाँको बुवाले तिमीलाई के गर्न मन लाग्छ त्यही गर तर आफै खोजेर गर पनि भन्न थाल्नु भएको थियो । प्लस टु पास गरेपछि उहाँले निस्ट कलेजमा म्यानेजमेन्ट लिएर ब्याचलर पढ्न थाल्नुभयो । उहाँ पढाइको साथै उहाँले आफ्नो बुवालाई काममा सघाउन थाल्नुभयो ।

टिभीमा समाचार पढ्नेहरु सुन्दर हुनुपर्छ भनि थाह पाएर अर्कनाले आफ्नो सुन्दरतामा ध्यान दिन थाल्नुभयो । राम्री कसरी देखिने त्यतातिर उहाँले बढी ध्यान दिन थाल्नुभयो । फेसनमा उहाँको ध्यान गयो । राम्रो राम्रो लुगा लगाउने, स्टाइलिस भएर हिड्ने गर्न थाल्नुभयो । अर्थात पढाई भन्दा उहाँको ध्यान अन्यत्रतिर बढी गइरहेको थियो ।

भारतबाट एक जना कोरियोग्राफर आएको र उनले मोडिलिङका लागि ट्रेनिङ दिने भनि सुचना कतैबाट अर्कनाले थाह पाउनु भएको थियो । सो सूचनाका आधारमा उहाँ खोज्दै त्यहाँसम्म पुग्नुभयो । फर्म भर्नुभयो । त्यसको आधारमा उहाँको इन्टरभ्यु पनि भयो । पास हुनुभयो । मोडलिङको तालिम लिनका लागि उहाँले आइडमिसन गराउनुभयो । त्यतिबेला आइडमिसनका लागि तीन हजार रुपियाँ लागेको थियो ।

ह्यात होटलमा २० दिनसम्म तालिम चलेको थियो । त्यो तालिम लिइरहेको बारेमा घरमा कसैलाई थाह थिएन । उहाँले आमा–बुवाबाट लुकेर त्यसको तालिम लिनुभयो ।

 

टिभीमा समाचार पढ्नेहरु सुन्दर हुनुपर्छ भनि थाह पाएर अर्कनाले आफ्नो सुन्दरतामा ध्यान दिन थाल्नुभयो । राम्री कसरी देखिने त्यतातिर उहाँले बढी ध्यान दिन थाल्नुभयो ।

तालिमका क्रममा विभिन्न फोटो सुटहरु भएका थिए । त्यसको लुगाहरु अर्कनाले आफै व्यवस्थापन गर्नुभएको थियो । ‘मैले त्यतिबेला फोटो सुटका लागि लुगाको व्यवस्थापन कसरी गरे त्यो मलाई नै थाह छ, अर्कनाले भन्नुभयो, ‘यी सब थोक मैले टिभीमा समाचार पढ्नका लागि नै गरेका थिए, मोडिलिङ क्षेत्र मेरो सरोकारको विषय थिएन तर राम्रो दिखिनका लागि यो तालिम लिएका थिए ।’

मोडलिङको ट्रेनिङ लिइरहेको कुरा घरमा कसैलाई थाह थिएन । तालिमको बारेमा एउटा समाचार छापियो नागरिक दैनिकमा । त्यसमा मोडलिङका लागि सुट गरिएको फोटो छापिएको थियो । समाचार र फोटोको बारेमा अर्कनालाई पनि थाह थिएन घरमा थाह हुने कुरै भएन । नागरिक दैनिक पत्रिकामा त्यो समाचार डिभाइन कलेजका प्रिन्सिपल पढ्नु भएको थियो । उहाँले तुरुन्तै फोन गरेर अर्कनाको आमालाई जानकारी गराउनु भएको थियो ।

त्यतिबेला अर्कनाको आमा बसरा बेगम कलैयामा नै हुनुहुन्थ्यो । यो कुरा थाह पाएपछि तत्कालै कुनै प्रतिकृया देखाउनु भएन । काठमाडौँ फर्केपछि आमाले अर्कनालाई बेस्सरी गाली गर्नुभयो । ‘तिमीले नाम हँसाई दियौं, हाम्रो त नाक नै कटाई दियौं, मुस्लिममा यस्तो गर्ने चलन छैन, तिमीले हाम्रो समुदायको इज्जत पनि फ्याल्यौं जस्ता गाली अर्कनालाई उहाँको आमाले गर्नुभएको थियो ।


त्यो गालीले अर्कनाले मोडलिङको कुरा दिमागबाट नै हटाइ दिनुभयो । मोडलिङतिर जानु भएन तर उहाँको मनबाट पत्रकारिता हटेको थिएन ।

उज्यालोले दियो उज्यालो
नभन्दै एकदिन अर्कनालाई खोज्दै काम आफै आयो । प्रियंका पाण्डेले अर्कनालाई फोन गरेर भन्नुभयो, ‘उज्यालो नेटवर्कमा रेडियो नाटकका लागि एउटा काम छ तिमी गर्छौ, गर्छौ भने तिमी मलाई आजै भेट ।’ यो सन् २०१० तिरको कुरा हो । अर्कना खातुनले उज्यालो नेटर्वकमा काम गर्न थालेपछि उहाँको खुशीको सीमा थिएन । रेडियो नाटकमा उहाँ एउटा पात्र हुनुहुन्थ्यो, जो भोजपुरी भाषाका लागि हुनुहुन्थ्यो ।

उहाँले लिनु भएको लक्ष्यको खुड्किलो भेट्न थालेको जस्तो लागेको थियो । यो रेडियो नाटकमा काम गरेको बारेमा पनि घरमा कसैलाई जानकारी थिएन । किनभने घरका मान्छेलाई यो पत्रकारिता, नाट्क, मोडलिङलगायतका कलाकारिता मन पर्दैन्थ्यो । घरमा ढाँटेर जहिले बाहिर जानु हुन्थ्यो । यो नाटकको रेकर्डिङ जहिले विहान विहान हुन्थ्यो । विहान घरबाट निस्कन अर्कनालाई कम्ती गाह्रो हुँदैन्थ्यो ।

१०–१५ दिनपछि अर्कनाले आफ्नो आमालाई रेडियो नाटकको बारेमा भनेर कन्भिन्स गर्नुभएको थियो । तर यही कुरा आफ्नो बुवालाई भन्न अर्कनालाई हिम्मत भएको थिएन । अर्कना भन्नुहुन्छ, ‘बुवा बिहानै उठ्नु हुन्थ्यो बाहिर हिडडुल गर्नुहुन्थ्यो, त्यतिबेला मलाई घरबाट निस्कन निकै गाह्रो हुन्थ्यो त्यसपछि आमाले एउटा जुक्ति निकाल्नुभयो, घरको टिभीमा विहानको समाचार लगाई दिनुहुन्थ्यो अनि बुवा आफै घरभित्र जानुहुन्थ्यो अनि म बाहिर निस्कन्थे ।’
उज्यालोमा काम गर्दा गर्दै अर्कनाले एन्टिना फाण्डेशन र इक्वल एक्सेसको रेडियो, बीबीसी नाटकमा पनि काम पाउनुभयो । यी सबै काम अर्कनाले पत्रकारिताका लागि गरिरहनु भएको थियो । यी कुराको बारेमा घरमा आमा–बुवालाई थाह हुँदैन्थ्यो । तर अर्कनाले आफ्ना दिदीलाई हरेक कुराको जानकारी दिनुहुन्थ्यो । दिदीले सक्दो सहयोग गर्नुहुन्थ्यो ।

 

‘बुवा बिहानै उठ्नु हुन्थ्यो बाहिर हिडडुल गर्नुहुन्थ्यो, त्यतिबेला मलाई घरबाट निस्कन निकै गाह्रो हुन्थ्यो त्यसपछि आमाले एउटा जुक्ति निकाल्नुभयो, घरको टिभीमा विहानको समाचार लगाई दिनुहुन्थ्यो अनि बुवा आफै घरभित्र जानुहुन्थ्यो अनि म बाहिर निस्कन्थे ।’

रेडियो नाटक गर्दा पनि उहाँलाई चित्त बुझिरहेको थिएन । उहाँले पत्रकारिता गर्न चाहनु भएको थियो । टिभीको स्क्रिनमा समाचार पढ्ने इच्छा पाल्नुभएको थियो । त्यही भएर उहाँलाई नाटकमा चित्त बुझिरहेको थिएन तैपनि यही बाटो भएर पत्रकारितासम्म जान सकिन्छ भनि विश्वास अर्कनालाई थियो ।

बिना तलबको अनलाईन पत्रकारिता
रेडियो नाटकमा काम गरिरहदाकै अवस्थामा अर्कनाले मुस्लिम आवाज डट कममा काम गर्न थाल्नुभयो । अफरोजले मुस्लिम समुदायका लागि खोल्नु भएको मुस्लिम आवाज डट कममा अर्कनाले बिना तलब काम गर्न सुरु गर्नुभएको थियो । अर्कना भन्नुहुन्छ, ‘यसमा काम गर्न थालेपछि एउटा पहिचान बन्छ नै र पत्रकारिता पनि सिक्न पाउँछु भनेर नै काम गर्न थालेका थिए ।’ आफ्नो समुदायको सेवा पनि गर्न पाइन्छ भनि अर्कनाको बुझाई थियो । मुस्लिम आवाजमा समाचार प्रकाशित हुँदा त्यसको चर्चा हुन्थ्यो, धेरैले प्रशंसा गर्थे भन्दै अर्कनाले बाइलाइनको समाचार आउँदा त मान्छेले प्रत्यक्ष चिन्न थाले, कामको प्रशंसा हुन्थ्यो त्यसले झन कामप्रति हौसला बढाउने काम भएको थियो ।

मुस्लिम आवाजमा काम गरेको कुरा पनि घरमा आमाबुवालाई थाह थिएन । धेरैपछि आमाले थाह पाएपछि अर्कनाले आफ्नो बाइलाइनमा छापिएको समाचार देखाउँदै भन्नुभएको थियो, यी हेर्नुस् मेरो नामसहितको समाचार छापिएको छ, धेरैले राम्रो नै भनेका छन् ।’ त्यसपछि आमाले अर्कनालाई भन्नुभएको थियो, ‘समाचारमा नाम त आइरहेको छ तर पैसा कति आउँछ, केही कमाउने पनि गर ।’

तर अर्कनालाई त्यो कुरासँग मतलब थिएन । अर्कनाले पत्रकारिता गरेकोमा नै खुशी थियो । मुस्लिम अवाजमा काम गरिरहँदा अर्कनाले आफ्नो बुवाको फर्ममा काम गर्न छाड्नु भएको थिएन । त्यहाँबाट अलिअलि पकेट खर्च आउँथ्यो । पकेट खर्चको समस्या अर्कनालाई थिएन । बुवाको फर्मबाट पनि त्यो अनालाइनमा काम गर्नुहुन्थ्यो । तैपनि अर्कनाको बुवाले थाह पाउनु भएको थिएन ।

पछि हुलाकी डट कममा समेत काम गर्न थाल्नुभयो । तर त्यहाँ पनि उहाँलाई तलब दिएको थिएन । तर अर्कनालाई मतलब थिएन । मतलब थियो सिर्फ पत्रकारितासँग । उहाँले लेखेको समाचार प्रकाशित, प्रसारित हुनु र त्यसको तारिफ हुनु नै अर्कनाको कमाई थियो । अकना भन्नुहुन्छ, ‘यी दुईटा अनलाईनबाट धेरै कुरा सिक्ने मौका पाए । समाचार कसरी लेखिन्छ, कसरी प्रकाशित हुन्छ, फाइभ डब्लु के हो, सफ्ट न्युज के हो, हार्ड न्युज के हो, फिचर के हो जस्ता धेरै कुरा त्यही अनलाइनबाट सिक्ने मौका पाए ।

र मलाई सिकाउने मास्टर मास्टरनी हुनुहुन्छ, अफरोज, स्नेहा, प्रियंका ।’

उहाँलाई तलब दिएको थिएन । तर अर्कनालाई मतलब थिएन । मतलब थियो सिर्फ पत्रकारितासँग । उहाँले लेखेको समाचार प्रकाशित, प्रसारित हुनु र त्यसको तारिफ हुनु नै अर्कनाको कमाई थियो ।

रातको १२ वजे पनि स्नेहा र प्रियंकालाई फोन गरेर दिदी यो समाचार कसरी लेख्ने, यसलाई कहाँ राख्ने, यसपछि के लेख्ने जस्ता कुरा फोनमा सोधेर गर्थे तर उहाँहरुले कहिले झर्को मान्नु भएन, सबै कुरा बताई दिनुहुन्थ्यो र लेख्नका लागि प्रेरित गर्नुहुन्थ्यो, उहाँ भन्नुहुन्छ, ‘म आज जे छु प्रियंका र स्नेहाको कारणले छु । जीवनमा उहाँहरुबाट धेरै कुरा सिक्ने मौका पाएर, धेरै सहयोग पाए ।’

मुस्लिम आवाज र हुलाकी डट कममा काम गरिहेकै बेला नेपाल आज डट कममा विज्ञापन निस्केको थियो । अर्कनाले त्यसमा फर्म भर्नुभयो । त्यसमा छनौट पनि हुनुभयो । काम गर्न थाल्नुभयो तर त्यहाँ काम गर्ने स्वतन्त्रता थिएन । हुलाकी र मुस्लिम आवाजमा जसरी काम गरिरहनु भएको थियो त्यसरी त्यहाँ काम गर्न पाइरहनु भएका थिएन ।

उहाँले भन्नुभयो, ‘कुनै न्युज खोजेर ल्याउथे, लेख्थे तर विभिन्न बहाना बनाउँदै त्यसलाई प्रकाशित गर्दैन्थ्यो । कुरा कुरामा विभेदपूर्ण व्यवहार, रुखो वचन हुन्थ्यो, जुनियर पत्रकार हुन् केही सिक्न खोजेका छन् भने सिनियरबाट सहयोग हुनुपर्ने थियो तर त्यस्तो व्यवहार मैले कसैबाट पाउन सकिन ।’ अन्तरवार्ता लिन अर्कनलाइ निकै मन पथ्र्यो तर उसले आफूले रोजेको अन्तरवार्ता लिन कहिले पाउनु भएन । एक पटक माओवादीका नेता हालको मधेश प्रदेशका प्रदेश सभा सदस्य रोहवर अन्सारीको अन्तरवार्ता लिए तर नेपाल आजमा प्रकाशित गरि दिएन । कसले पढ्छ यस्ता अन्तरवार्ता भनेर प्रकाशन गर्न इन्कार गरेका थिए । त्यसपछि अर्कनाले त्यहाँ काम गर्न नै छाड्नु भयो । त्यो अन्तरवार्ता उहाँले हुलाकी अनलाईनमा हाल्नुभयो ।

सगरमाथा चढ्ने हुटहुटी
नेपाल आज छाडेपछि केही समय उहाँ फुर्सदमा आउनुभयो । सागरमाथ चढ्छु भनि मन बनाउनुभयो । र, त्यसको तयारीमा लाग्नुभयो । त्यो अनुसारको वर्कआउटहरु पनि गर्न थाल्नुभयो । साँझ बिहान हिड्दा झोलामा इटा बोकेर हिड्नु हुन्थ्यो । सागरमाथा चढ्ने तयारी गरिरहँदा उहाँले घरमा कसैलाई जानकारी दिनुभएन । उहाँलाई लागेको थियो कि जुन घरले पत्रकारिता गर्न इजाजत दिँदैन त्यो घरले सागरमाथा चढ्न कसरी इजाजत देला, त्यही भएर घरमा दिदीबाहेक अरु कसैलाई जानकारी नदिइकन त्यसको तयारीमा उहाँ लाग्नुभएको थियो ।

तर सगरमाथा चढ्ने केटाकेटीका खेल होइन, त्यसका लागि हिम्मत र मेहनतका साथै पैसा पनि चाहिन्छ । त्यसमध्ये अर्कनासँग पैसा थिएन । हिम्मत र मेहनतको कमी उहाँसँग थिएन । दिदी र साथीभाइसँग पैँचो सापटी लिएर हिमाल चढ्न चाहिने सामाग्रीको जाहो गर्नुभयो । उहाँले करिब ८० हजार रुपियाँ बराबरको समान नै खरिद गर्नुभएको थियो । सबै तयारी पुरा भएपछि मात्र उहाँले आमाबुवालाई भन्नुभयो । आमा–बुवालाई उहाँले कन्भिन्स गर्नुभयो । बुवाले जान दिनुभयो तर आमाको मन मानिरहेको थिएन । उहाँको आमाले विभिन्न समाचारबाट थाह पाउनु भएको थियो सागरमाथा चढ्दा मान्छेको ज्यान गएको छ । एउटा विदेशीको पनि ज्यान गएको थियो । त्यही भएर उहाँको आमा चाहनु भएका थियो अर्कना सागरमाथा चढ्न नजाओस् ।

 

आमा प्लेन नै उडेन के गरौं ।’ जे भयो राम्रैका लागि भयो, छोरी तिमी फर्कि आउ जानु पर्दै हिमाल चढ्न आमाले भन्नुभएको थियो । त्यसपछि अर्कना निराश भएर घर फर्किनुभयो ।

आमाले चाहदा नचाहदै उहाँ हिमालको बेस क्याम्पसम्म जान तयार हुनुभयो ।

एयरपोर्टमा जाँदा मौसमका कारण त्यो दिनको प्लेन उडेन । उहाँले त्यहींबाट चिन्तित भावमा आमालाई फोन गर्नुभयो, ‘आमा प्लेन नै उडेन के गरौं ।’ जे भयो राम्रैका लागि भयो, छोरी तिमी फर्कि आउ जानु पर्दै हिमाल चढ्न आमाले भन्नुभएको थियो । त्यसपछि अर्कना निराश भएर घर फर्किनुभयो । घर फर्केपछि आमाले खुशीले अर्कनालाई अँगालोमा लिनुभयो । आमाले यसरी अँगालोमा लिएकोमा एकातिर अर्कनालाई खुशी थियो भने अर्कोतिर सगरमाथा चढ्न नपाएकोमा दुखी हुनुहुन्थ्यो ।

धेरै दिनसम्म पिडाबोध भएर नै बस्नुभयो । यतिका खर्च गरेर पनि हिमाल जान पाइनन् भनि पिडा थियो अर्कनालाई । तर आफूलाई सम्हाल्नका लागि उहाँले मोटिभिसनल स्पीचहरु सुन्न थाल्नुभयो । त्यही क्रममा उहाँले सगरमाथा जान नपाए पनि कम से कम अन्नपूर्ण बेस क्याम्पसम्म त जानुपर्छ भनि त्यसको तयारीमा लाग्नुभयो ।

हाइक फर नेपालमार्फत उहाँ अन्नपूर्ण बेस क्याम्पसम्म जान तयार हुनुभयो ।  उहाँ त्यो क्याम्पसम्म पुग्नु पनि भयो । त्यहाँ पुगेपछि अर्कनाको खुशीको सीमा नै थिएन । संसार नै जितेको अनुभुती उहाँलाई भइरहेको थियो । पहिलो फोन उहाँले आफ्नो आमालाई नै गर्नुभयो । र, उहाँले भन्नुभयो, ‘आमा मेरो सपना पुरा भयो ।’

अन्नपूर्णसम्म जान अर्कनालाई कम्ती गाहो भएको थिएन । यात्राको क्रममा कतियौं पटक त उहाँको सांस पनि बन्द हुने हुने अवस्था पुगेको थियो । धेरै पटक सांस लिन गाह्रो भएको थियो । अब बाँचिदैन कि पनि अर्कनालाई लागेको थियो । तर यो कुरा उहाँले घरमा भन्नु भएन, आमासँग भन्नुभएन । घरमा भनेपछि आतिन्छ कि भनि लागेको थियो उहाँलाई । यात्राकै क्रममा उहाँले पटक पटक भगवानलाई सम्झनुभयो अलाहको सज्दा गर्नुयभो ।

अन्नपूर्णबाट फर्केपछि मार्दीसम्म पनि उहाँ जानुभएको थियो । तर हिमालको आरोहण गरिरहँदा पनि उहाँको मनबाट पत्रकारिता हटेको थिएन । हिमाल चढ्नु उहाँको सौख थियो तर लक्ष्य भनेको पत्रकारिता नै थियो । उहाँले भन्नुभयो, ‘पत्रकार बन्ने दौडमा रहेको बेला यसो थाकेपछि साइड लागेर हिमालको टाकुरसम्म जाने पर्यत्न गरेको मात्र हो तर मेरा लक्ष्य त्यो थिएन र छैन पनि ।’

यात्राको क्रममा कतियौं पटक त उहाँको सांस पनि बन्द हुने हुने अवस्था पुगेको थियो । धेरै पटक सांस लिन गाह्रो भएको थियो । अब बाँचिदैन कि पनि अर्कनालाई लागेको थियो ।

 

विवाह

अर्कनाका लागि विहेको अफर आउँदा उहाँका आमा बुवाले कुरा गर्नुहुन्थ्यो । अर्कनाले टार्दै जानु हुन्थ्यो । आमा विरामी पर्नुभएको थियो । अस्तापलमा हुनुहुन्थ्यो । अर्कनाका आमाले भन्नुभयो, ‘अहिले म छु त तिमीलाई सबै थोक छ, तर म मरेपछि तिमीलाई हेर्ने पनि कोही हुँदैन, त्यसैले विहे गरि हाल विहे पछि जेजे गर्न मन लाग्छ त्यो गर्नु ।’ आमाको यस्तो कुरा सुनेपछि अर्कनाले केही भन्न सक्नुभएन । विहेका लागि राजि हुनुभयो ।

पर्साको वीरगञ्जबाट विहेको लागि प्रस्ताव आएको थियो । काठमाडौस्थित घरमा केटासहित उहाँका अभिभावकहरु पनि आउनुभएको थियो । त्यहाँ केटा–केटी बिच पनि देखादेख भयो । केटा अर्थात याहिया हुसैनले अर्कनालाई सोध्नुभयो, ‘आर यु ह्यापी ?’ यही कुराबाट अर्कना याहियामाथि फिदा हुनुभएको थियो । अर्कनाले पनि याहियालाई मन पराउन थाल्नुभएको थियो । जुन दिन यो विवाह फिक्स भयो त्यो दिन अर्कनाको जन्मदिन थियो । त्यसलाई शुभदिन नै उहाँले मान्नुभएको थियो र सन् २०२० मा अर्कनाको विहे भयो ।

ग्यालेक्सीको यात्रा
अर्कना अहिले भोजपुरी भाषाको ‘खेलाडी’ हस्य सिरिजमा काम गरिरहनु भएको छ । साथी विरेन्द्र मुखिया र प्रियंका पाण्डेसँग मिलेर ‘खेलाडी’ सिरिजमा काम गरिरहनु भएको छ । सो सिरिजबाट अर्कनालाई अहिले एक पैसा पनि आइरहेका छैन । अर्कना भन्नुहुन्छ, ‘म त्यो काम गर्दा पैसाको डिमाण्ड गरेको थिइनन्, काम गर्नुको दुईटा कारण छन्, एउटा त्यहाँबाट एउटा पहिचान बन्छ र अर्को आफ्नो भाषा र सँस्कृतिको प्रचार हुन्छ ।’ पछि राम्रोसँग चल्न थालेपछि त्यहाँबाट आर्थिक सहयोग हुनसक्ने आशमा अर्कना हुनुहुन्छ ।

मैले त पछि थाह पाए कि मलाई त त्यहाँ समावेशीका लागि देखाउन लगेको थियो, मुस्लिम समावेशीका लागि मलाई राखेको थियो तर काम दिइरहेको थिएन ।’

बिहेपछि अर्कनालाई ग्यालेक्सी टिभीमा काम गर्ने अफर आएको थियो । उहाँले सहस्र स्विकार गर्नुभयो । रिर्पोटिङसहित न्युज एकंर भनेर अर्कनालाई त्यहाँ राखिएको थियो तर जे भनेर राखिएको थियो । त्यो काम कहिले दिएन । काममा भेदभाव हुन्थ्यो । ल्याएका समाचार पनि प्रशासरण गर्दैन्थ्यो, एकरिङ गर्न दिनु धेरै टाढाको कुरा ।
अर्कनाले भन्नुभयो, ‘मैले त पछि थाह पाए कि मलाई त त्यहाँ समावेशीका लागि देखाउन लगेको थियो, मुस्लिम समावेशीका लागि मलाई राखेको थियो तर काम दिइरहेको थिएन ।’ केही रिर्पोटिङ गरेर ल्याएपछि त्यसलाई विभिन्न टिकाटिप्पणी गर्ने, यो भएन, त्यो भएन भनि देखाउने गर्थे तर यसो गर उसो गरे कहिले भनेनन् भन्दै अर्कनाले आफूले त्यहाँ अनइजी फिल गरेका कारण सात महिनामै टिभी छाडेर हिडेको बताउनुभयो ।

यस्तै अवस्था भएको थियो न्युज २४ टीभीमा । बिहेअघि उहाँ न्युज २४ टिभीमा पनि कामका लागि जानुभएको थियो । तर मधेशी समुदाय त्यसमा पनि मुस्लिम समुदायका भएका कारण त्यही नजरले सबैले हेर्थे त्यहाँ । जस्तोसुकै मेहनत गरेर रिर्पोट बनाएर ल्याए पनि अनेक बहाना बनाएर त्यसलाई रिजेक्ट गर्थे । मधेशी, मुस्लिमको समाचार वा रिर्पोर्ट ल्याउँदा त्यसमाथि अनेक टिप्पणी हुन्थ्यो जसले अर्कणालाई दिक्क लाग्थ्यो । काम गर्ने माहोल नपाएर त्यहाँबाट पनि काम छाडेर उहाँ हिड्नुभएको थियो ।


अर्कना भन्नुहुन्छ, ‘पत्रकारितामा काम त पाइन्छ तर पैसा दिँदैन, मलाई पत्रकारिताको नासा लागेको बेला मैले धेरै ठाउँमा बिना पैसाको काम गरे, कतिपय ठाउँमा त पैसा दिन्छु भनेर काम लगाए पनि दिएन त्यसमध्येको एउटा हेडलाइन एण्ड म्युजिक एफएम । त्यहाँ लामो समय काम गरे, समाचार पढे तर पैसा कहिले दिएन ।
अहिले पनि त्यो एफएममाथि थुप्रै पैसा बाँकी छ ।’ पत्रकारिता गर्नका लागि उहाँले आरजेको तालिम लिनु भएको छ भने सञ्चारिक समूहदेखि मिडिया एक्सनलगायतले दिएका विभिन्न तालिम लिनुभएको छ ।

आर क्याम्पस पत्रकारिता लिएर पढाई पनि सुरु गर्नुभएको थियो तर लकडाउनका कारण त्यसलाई पनि उहाँले निरन्तरता दिन सक्नुभएको थिएन ।

अब बेरोजगार बस्छु तर बिना पैसा कुनै मिडियामा कम गर्दिन भन्नुहुन्छ अर्कना खातुन । उहाँले केही समय बानेश्वरको एउटा स्कुलमा पढाउनु पनि भयो । दिनभर पढाउनु हुन्थ्यो तर तलब एकदमै कम भएको कारण त्यहाँ पनि एक वर्ष मात्र काम गर्नुभयो र छाड्नुभयो । उहाँ आफ्नो जिविका चलाउन सानो सानो कामहरु गरिरहँदा पनि उहाँको लक्ष्य भनेकै पत्रकारिता हो । उहाँ भन्नुहुन्छ, अन्ततः म पत्रकारिता नै गर्छु, चाहे त्यसका लागि मलाई जति दिन कुर्नुपर्छ कुरौला ।’

(पछि अर्कनासँग कुरा भएपछि केही कुरालाई सम्पादन गरिएको छ–सम्पादक)

तपाईको प्रतिक्रिया