Khadya Bibhag

प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्दैन

–बालेश्वर मण्डल
मेयर, धनुषाधाम नगरपालिका
धनुषाधाम नगरपालिका एउटा धार्मिक र ऐतिहासिक ठाउँ हो । यो पालिका धनुषाधाम, धनुषा गोविन्दपुर, उमाप्रेमपुर र यज्ञभूमि गाविस मिलेर बनेको हो । भनिन्छ, त्रेता युगमा मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान श्रीरामले शिवको पिनाकमा प्रत्याञ्च चढाउँदा धनुष तीन टुव्रmा भएको थियो । त्यसमध्ये एक खण्ड आकाश, दोस्रो खण्ड पाताल र तेस्रो खण्ड धनुषाधाममा खसेको थियो । त्यसैले सो पालिकाको नाम धनुषाधाम रहन गएको हो । धार्मिक मान्यताका कारण यो पालिकालाई साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । धनुषाधाम पालिकाको मेयरमा बालेश्वर मण्डल आउनु भएको छ । यो उहाँको दोस्रो कार्यकाल हो । २०७४ मा पनि उहाँ मेयरमा काँग्रेसबाट चुनाव जित्नु भएको थियो । पहिलो कार्यकाल सफल भएकै कारण उहाँ दोस्रो पटक चुनाव जित्नु भएको हो । उहाँ भन्नुहुन्छ, ‘पहिलो कार्यकालभन्दा दोस्रो कार्यकालमा राम्रो काम हुन्छ जनताले अपेक्षा गरेभन्दा राम्रो काम हुन्छ । प्रस्तुत छ मेयर मण्डलसँग धनुषाधाम पालिको धार्मिक मान्यता, विकास कार्यको अवस्था, योजना तथा विधि प्रकृयाको बारेमा सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः
नुषाधाम नगरपालिका एउटा धार्मिक मान्यता बोकेको पालिका हो यो मन्यतालाई तपाईले कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
–वास्तवमा धनुषाधाम नगरपालिका एउटा धार्मिक मान्यता बोकेको पालिका हो । यो पालिकाको चर्चा पौराणिक कालदेखि नै हुँदै आएको हो । र, त्यो पालिकामा दुई दुई पटक मेयर बने त्यसमा मलाई गर्व लाग्छ । आर्थिक समृद्धि तथा विकासको एउटा आधार भनेको धार्मिक पर्यटन पनि हो । यहाँ रहेको धनुषाधाम मन्दिर दर्शन गर्न वार्षिक लाखौँ भक्तजन आउने गरेका छन् । यसलाई अझै व्यवस्थित गर्नमा लागेका छौं । विश्वका पर्यटकलाई कसरी आकर्षण गर्ने सोचाइका साथ योजना बन्दैछ । नेपाल–भारतको सीमावर्ती क्षेत्रका पर्यटक आएर मात्र हुँदैन । नेपाल–भारतबाहेक अन्य देशका पर्यटकलाई पनि ल्याउने मन छ मलाई । यसलाई व्यवस्थित तथा आकर्षित बनाउन लागिरहेका छौँ । पर्यटनलाई जोड दिने योजनास्वरुप काम भइरहेको छ । ऐतिहासिक, पुरातात्विक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, मन्दिर परिसरमा सञ्चालनमा आएका पसललाई पर्यटनमैत्री बनाउने काम गरिएको छ । बाहिरबाट आउने भक्तजनको बस्ने सुविधाका लागि दुई तल्ले भवन निर्माण गरिरहेका छौँ । यहाँ रहेको धार्मिक महत्वका धनुष सागर र वाणगङ्गा सरोवरलाई सौन्दर्यकरण गर्ने काम भइरहेको छ । धनुष सागरमा स्नान गरेर मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ । त्यसलाई विश्वसँग कसरी जोड्ने त्यसको बारेमा पनि छलफलहरु भइरहेका छन् । यसका लागि प्रदेश तथा संघको पर्यटन मन्त्रालयसँग पनि समन्वय भइरहेको छ । धनुषाधाम मन्दिरलाई सौन्दर्यकरण गर्न सङ्घीय सरकारले यसवर्ष ४५ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । त्यसमा हामीले पनि केही थप गर्छौं । प्रदेश सरकार हालसम्म धनुषाधाम नगरपालिका लागि केही गरेको छैन । अघिल्लो कार्यकालमा पनि मैै थिए । जहाँसम्म मलाई याद छ, प्रदेश सरकारबाट कुनै सहयोग प्राप्त भएको छैन ।
प्रदेशभन्दा स्थानीय तह आफैमा शक्तिशाली हो, अनि किन चाहियो सहयोग होइन र ?
–होइन, स्थानीय तहभन्दा प्रदेश निकै शक्तिशाली हो । तर समन्वयको अभाव छ । कुनै पनि विषयवस्तुमा प्रदेशले हामीसँग सल्लाह गर्दैंन । प्रदेशले हामीलाई गिन्दा पनि गिन्दैन । प्रदेश सरकारले हामीसँग कुनै कुरामा समन्वय गरेको कुरा मलाई याद छैन । प्रदेश सरकारको क्षेत्राधिकार के हो त्यो बाहिरी रूपमा मात्र हामीलाई जानकारी भयो । नगरपालिका आफैंमा स्वायत्त छ भनिन्छ उसको निर्णय आफैं गर्ने क्षमता हुन्छ । नियम, कानुन, कार्यविधि, नियमावली बनाएर स्थापना भएको नगरपालिकालाई सबै अधिकार छ भनिन्छ । तर, हामीले निर्णय त गर्ने तर निर्णय लागु गर्ने त प्रमुख प्रशासकीय अधिकृतले हो । उहाँहरूले मनपरी रूपमा मन्त्रालयबाट पठाउने र यति छिटो सरूवा हुने कि हामीलाई थाहै हुन्न । धनुषाधाम नगरपालिकामा पर्यटन विकासका लागि प्रदेशका पर्यटन मन्त्रालयलाई पटक पटक आग्रह गरे । तर कुनै रेसपोन्स नै भएन ।
तपाईको नगरपालिका एउटा धार्मिक ऐतिहासिक ठाउँ हो त्यो ठाउँलाई तपाईले कसरी बुझ्नु भएको छ ?
—मेरो लागि यो सौभाग्य हो कि म यो नगरपालिकाको मेयरमा जितिरहेको छु । पक्कै पनि म जनताका लागि राम्रो गरेको होला त्यही भएर मलाई जनताले पत्याइ रहेको छ । जनतासँगै श्रीरामको कृपा पनि मसँग छ । म यो धर्तीलाई पुजा गर्छु । यो धर्तीको कण कणमा भगवान रामचन्द्रजी र सीताजीको बास छ । रामचन्द्रजीको सीतासँग स्वयम्वर हुँदाखेरी धनुष भाँचिएको थियो । त्यो धनुषा तीन टुक्रा भयो । तीन टुक्रामध्ये एक टुक्रा आकाश, एक टुक्रा पाताल र अर्को टुक्रा धनुषाधाममा आइपुग्यो भन्ने पौराणिक मान्यता रहेको छ । यहाँ लगभग १०० वर्ष पुरानो एउटा धर्मशाला बनेको छ जुन भारतको पटनाका एकजना व्यक्तिले बनाइ दिएका हुन् । ६०÷६७ कोठे धर्मशाला छ । यसले के जागृत गर्छ भने यो धनुषाधामको १०० वर्ष पहिले नै त्यति धेरै महत्व थियो । त्यो हिसाबले यहाँ धर्मशाला बनेको हो र यसको महत्व विशेष गरेर भारतसँग जोडिएको हुनाले भारतबाट प्रत्येक दिन सयौंको संख्यामा भक्तजनहरू आउने गर्छन् । भारतका प्रधानमन्त्री र राष्ट्रपति जनकपुर आउँदा पनि धनुषाधामको धार्मिक मान्यताको वर्णन गर्नुभएको थियो । भारतीय प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको रामायण सर्किट अन्तर्गत धनुषाधाम पनि परेको छ ।
यस्तो महत्वपूर्ण ठाउँ छ तर त्यसको उत्थानमा ध्यान पुगेको छैन जस्तो लाग्दैन ?
–पालिकास्तरलाई जे जस्तो क्षमता छ त्यो अनुसार काम भइरहेको छ । पालिकामा सिमित साधन स्रोत छ । त्यसबाट भ्याए जतिका काम भइरहेको छ । धनुषाधामको प्रवद्र्धन, सम्वद्र्धन र उत्थानका लागि पालिकाको बजेटले मात्र पुग्दैन । यसका लागि ठुलै प्रोजेक्ट चाहिन्छ । तर राज्यको यसमा ध्यान गएको छैन । स्थानीय तह गठन भएपछि केही कामहरु भएका छन् । मलाई लाग्छ यदि स्थानीय तह भएन भने यति पनि हुँदैन्थ्यो किनभने न यसका लागि संघ सरकारलाई मतलब छ न प्रदेश सरकारलाई मतबल छ । यो महत्वपूर्ण ठाउँ हो नेपाल सरकारले निर्माण गरिहाल्छ नि भन्ने बझुाई थियो । सरकारबाट पनि खासै चासो पुग्न सकेन । त्यसैले यो क्षेत्र विकसित हुन सकेन । यो क्षेत्र पछाडि पर्नुमा पर्यटन मन्त्रालय, पुरात्तात्विक विभाग, नेपाल सरकारकै कमजोरी देखेको छु म ।
तपाई यो पालिकामा दोस्रो पटक मेयर बन्नुभयो । यो दोस्रो कार्यकालको अनुभव कस्तो भइरहेको छ ?
–म पहिलो कार्यकालमा काम गरिसकेको हुनाले यो दोस्रो कार्यकाल सजिलो भएको छ । नगरबासीलाई स्थानीय सरकारको अनुभूति दिने गरी सेवा प्रवाह र विकास निर्माणको काममा म जुटेको छु । पहिलो कार्यकालभन्दा यो कार्यकालमा फरक ढंगले काम गर्न खोजेको छु । कृषि, पशुपालन र पर्यटनमा राम्रो सम्भावना रहेको पालिका भएकाले कृषि उत्पादन र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छौँ । सबै वडामा सडक पहुँच पु¥याएका छौँ । सडक स्तरोन्नति पनि प्राथमिकतामा नै छ । सिँचाइ योजना निर्माण, विद्यालयहरुका भवन निर्माण भएका छन् । धनुषाधाम नगरपालिकालाई आर्थिक समृद्धि, सामाजिक रुपान्तरणतिर उन्मुख गराउन जोड दिएका छौँ । मौलिक कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदाको संरक्षण, व्यवसायको प्रवर्धन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।
हाम्रो समाज कृषिमा आधारित समाज हो, तपाईको पालिकाले कृषिको क्षेत्रको सुधारको लागि के के गरिरहेको छ ?
–खेतीका लागि यो उर्वर ठाउँ हो । किसानलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । कृषि अनुदान, तालिम, मल बिउमा अनुदान र सिँचाइ सुविधा विस्तार गरेका छौँ । सिँचाइ सुविधाका लागि सानो ट्युवबेल, इनार, डिप बोरिङको व्यवस्था मिलाएका छौँ । किसानलाई सुविधा होस् भने अनुदानमा सिँचाइ मोटर र पम्पिङ्सेट पनि उपलब्ध गराएका छौँ । सिँचाइका लागि किसानको खेतखेतमा विद्युतीयकरण गरिएको छ । कतिपय वडाले किसानको सिँचाइ मिटरको विद्युत् महसुल पनि तिरिदिएका छन् । तरकारी तथा फलफूलको उत्पादनलाई वृद्धि गर्ने योजना बनाइएको छ ।
सिँचाइका लागि विद्युत महसुल फरक फरक वडाले तिरेको भन्नुभयो, पालिकाले एकैपटक पालिका भित्रका सबै किसानको महसुल तिरिदिए हुँदैन ?
–सबै किसानलाई महसुल तिरिदियो भने त्यसको सदुपयोग भन्दा दुरुपयोग हुने देखिएको छ । हाम्रो चाहना भनेको आवश्यकता भएको किसानलाई महसुल तिरि दियो भने त्यो उद्देश्यमुलक हुन्छ । सबै किसानलाई दिन थाल्यो भने त्यसको दुरुपयोग हुन थाल्छ । विद्युतको जथाभावी युज हुन थाल्छन् । पालिकाबाट सबै किसानलाई दिने हो कि भने विषयमा कार्यपालिका बैठकमा छलफल पनि भयो । वडाबाट यस्तो काम हुँदा निगरानी गर्न सजिलो हुन्छ त्यसैले वडाबाटै केही बजेट छुट्टयाएर किसानको सिँचाइ विद्युत् महसुल तिरिदिएको राम्रो हुन्छ भन्ने छलफलबाट कुरा आएको थियो । यदि वडाले तिर्न सकेन भने पालिकाबाट तिर्नेछ ।
एउटा महत्वपूर्ण क्षेत्र भनेको शिक्षा हो । विद्यालयहरु स्थानीय तहको मातहतमा नै राखिएको छ । सो क्षेत्रका लागि तपाईले के गरिरहनु भएको छ ?
–अहिले हामीले शिक्षाको पूर्वाधार सुधारमा ध्यान दिउका छौं । भौतिक पूर्वाधार राम्रो भयो भने विद्यार्थीलाई पढ्न सजिलो हुन्छ । शैक्षिक वतावरण पनि राम्रो हुन्छ । २०७४ सालमा निर्वाचित भएर आउँदा शिक्षामा जुन समस्या थियो त्यो अहिले पनि यथावत छ । विद्यालयहरु विद्यार्थीको अनुपातमा शिक्षक सङ्ख्या अपुग छ । पठनपाठन सुधारका लागि भौतिक पूर्वाधारका साथै योग्य शिक्षक पनि चाहिन्छ । तर सरकारले पर्याप्त संख्यामा शिक्षक पठाउन सकेका छैनन् । प्रत्येक विद्यालयमा दरबन्दीको अभाव छ । प्रायः विद्यालयहरु निजी स्रोत शिक्षकको भरमा चलिरहेको छ । स्थानीय तहबाट गर्नुपर्ने सबै गरेका छौँ । तर शिक्षकको कमीले गर्दा पठपाठनमा सुधार गर्न समस्या भइरहेको छ । एउटा विद्यालयबाट अर्को विद्यालयमा शिक्षक पठाउँदा पनि शिक्षा समन्वय इकाइको स्वीकृति लिनुपर्छ । शिक्षक व्यवस्थापनका लागि पटकपटक पहल गरेको छु । विद्यार्थी र अभिभावक पनि हामीकहाँ आएर पढाइ राम्रो भएन भनेर गुनासो गरिरहेका हुन्छन् । हामीले विद्यालय प्रशासनसँग समन्वय गर्दा शिक्षकको अभाव रहेको भन्छ अब शिक्षकको व्यवस्थापन सङ्घ र प्रदेश सरकारले गरिदिनुपर्यो नभए दरबन्दी सिर्जना गर्ने अधिकार पालिकालाई दिनुप¥यो ।

तपाईको प्रतिक्रिया