Khadya Bibhag

मधेश विद्रोहका लागि जनतामा उकुस मुकुस छ

केही सांसदहरु पार्टीबाट जाँदा सँख्यामा कमी आएको मात्र हो तर संगठनमा कुनै असर परेको छैन ।  सबै नेताहरु आफ्नो व्यक्तिगत स्वार्थमा परेर पार्टी विभाजन गर्नुभएको कुरा पुष्टि भइसकेको छ ।

–जयराम यादव
केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी नेपाल-
जनता समाजवादी पार्टी नेपालले जेठको अन्तिममा पार्टीको एकता महाधिवेशन सम्पन्न गरेको छ । त्यसको एक महिनापछि केन्द्रीय समितिको घोषणा गर्यो । त्यसको ठिक एक महिनापछि महाधिवेशनबाट बनेको केन्द्रीय समितिको बैठक बस्यो । त्यो बैठक चार दिनसम्म चल्यो । संगठन बनाउनका लागि चार महिने अभियान सञ्चालन गर्ने निर्णय त्यो बैठकले गरेको छ । त्यसका लागि सबै केन्द्रिय सदस्यलाई पालिका स्तरमा खटाएको छ । यसरी हेर्दा महाधिवेशनपछि पार्टी सक्रिय भएको जस्तो देखिन्छ तर यतिबेला किन ? पार्टी विभाजनपछि कमजोर भएर हो कि अरु अन्य कारण छन् । यिनै विषयहरुको बारेमा जसपा नेपालका केन्द्रीय सदस्य जयराम यादवसँग सहारा टाइम्सले गरेको संक्षिप्त कुराकानीको सम्पादीत अंशः
तपाईहरु पार्टीको केन्द्रीय समितिको बैठक चार दिनसम्म लगातार चल्यो यति लामो बैठकले के के निर्णय गर्यो ?
–जेठको अन्तिममा जनकपुरमा सम्पन्न पार्टीको महाधिवेशनपछि केन्द्रीय समितिको पहिलो बैठक थियो त्यो । महाधिवेशनपछि बनेको केन्द्रीय समितिमा कतिपय नयाँ सदस्यहरु पनि छन् भने कतिपय पुरानाहरु पनि छन् । पहिलो बैठक भएको कारण वैचारिक, सैद्धान्तिक रुपमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षित गर्नुको साथै अगामी दिनमा संगठनलाई कसरी अगाडि बढाउने, आउने दिनमा देशमा आइरहेको चुनौतीलाई कसरी सामना गर्नेलगायतका विषयमा गम्भिर छलफल भयो । बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरुको सपथग्रहण तथा एजेण्डा प्रस्तुतमै समय गएको थियो । त्यसपछि दुई दिन समसायिक विषयमा प्रशिक्षण सञ्चालन भएको थियो । त्यसपछि पेस भएका राजनीतिक प्रस्तावलगायत अन्य एजेण्डामा छलफल भइ निर्णयमा पुग्ने काम भयो । संगठन निर्माणका लागि चार महिने अभियान सञ्चालन गर्ने निर्णय पनि भयो ।
पार्टीको जुन पछिल्लो अवस्था छ, जुन अवस्थाबाट गुज्रिरहेको छ त्यसको बारेमा समिक्षा भयो कि भएन ?
–पछिल्लो अवस्था भन्नाले तपाई विभाजनतिर इकिंत गर्नुभएको छ जस्तो लाग्छ । पार्टी विभाजन आफैमा पिडादायी कुरा हो । एउटा संगठनको निर्माण वर्षौको मेहनतले भएको हुन्छ । त्यो संगठन कुनै कारणले विभाजन हुन्छ भने त्यो पिडादायी कुरा हो । अशोक राइजीहरु पार्टी छाडेर जानुभयो । छुट्टै पार्टी बनाउनुभयो । त्यसको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । भदौं १३ गते केही छिनोफानो हुन्छ । पार्टी विभाजन लगतै केन्द्रीय समितिको बैठक बसेको थियो । त्यो बैकठमा व्यापक रुपमा पार्टी विभाजनको विषयमा समिक्षा भएको थियो । त्यसपछि जेठमा भएको महाधिवेशनमा पनि यसको विषयमा छलफल र समिक्षा भएको थियो । केही साथीहरुले व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन गर्नुभयो र त्यसलाई राज्यपक्षले सहयोग गर्यो भनि पार्टीले निष्कर्ष निकाल्यो ।
केन्द्रीय समितिको बैठकबाट चार महिने अभियानको घोषणा गरेको छ पार्टीले यो चार महिनामा के के गर्छ ?
–पार्टीको संगठनलाई सुदृढीकरण तथा बलियो बनाउन यो अभियान सञ्चालन गरिएको हो । पुरानो सदस्यको सदस्यता नविकरण गराउन तथा नयाँलाई सदस्यता वितरण गर्ने काम यो अभियानको क्रममा हुन्छ । जहाँ संगठन छ, त्यहाँ त्यसलाई पुनर्गठन वा त्यसलाई सुदृढीकरण गर्ने, जहाँ संगठन छैन त्यहाँ संगठन बनाउने काम हुन्छ । जन–जनमा जसपा नेपालको पहुँच बढाउन यो अभियान सञ्चालन गरिएको हो । जहाँ जसपा नेपालको पहुँच छैन त्यहाँ कसरी पहुँच बनाउने त्यसको रणनीति विषयमा पनि यो अभियानले काम गर्नेछ । अर्थात संगठनलाई थप बलियो कसरी बनाउने, जसपा नेपालप्रति जनतालाई आकर्षण कसरी बढाउने, नेता तथा कार्यकर्तालाई चलायमान कसरी बनाउने जस्ता कार्य यो अभियानको क्रममा हुन्छ ।
पार्टी विभाजन तथा सत्ता बाहिर गएपछि मात्र जसपा नेपाललाई अभियानको याद आयो भनि बाहिर टिप्पणी भइरहेको छ यस्तो किन ?
–होइन, यस्तो टिप्पणीकर्तामाथि मेरो कुनै टिप्पणी छैन । पार्टी विभाजनसँग वा सत्तासँग यो अभियानको कुनै सरोकार छैन । पार्टी विभाजन नहुँदा पनि जसपा नेपाल विभिन्न अभियान चलाएकै हो । सत्तामा भए पनि नभए पनि संगठनका लागि काम गरेकै हो । तपाईलाई याद होला, पार्टी विभाजन हुनुभन्दा पहिले पार्टी देशव्यापी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । पालिका तहदेखि केन्द्रीय तहसम्म नेता तथा कार्यकतालाई पार्टीले तालिम दिएको थियो । त्यो कार्यक्रम सम्पन्न भएपछि पार्टीको एकता महाधिवेशन सम्पन्न भयो । सो महाधिवेशनपछि केन्द्रीय समितिको बैठक बस्यो र त्यो बैठकले चार महिने अभियान सञ्चालन गर्ने निर्णय गर्यो । यहाँ पार्टी विभाजन र सत्तासँग कहाँ अभियानको तारतम्य छ जस्तो लाग्छ तपाईलाई । पार्टी विभाजनले जसपा नेपालको संगठनमा कुनै असर परेको छैन । केही सांसदहरु पार्टीबाट जाँदा सँख्यामा कमी आएको मात्र हो तर संगठनमा कुनै असर परेको छैन । पार्टीका अध्यक्ष उपेन्द्र यादवज्यु विदेशमा रहेको बेला अशोक राइजीहरुले पार्टी विभाजन गर्नुभयो । सबै नेताहरु आफ्नो व्यक्तिगत स्वार्थमा परेर पार्टी विभाजन गर्नुभएको कुरा पुष्टि भइसकेको छ । पार्टी विभाजनमा उपेन्द्र यादवमाथि जुन आरोप लगाइएको छ । त्यसमा कुनै सत्यता छैन । उहाँहरुले पार्टीलाई धोका दिनुभएको छ । यो कुराको मूल्यांकन जनताले गर्नेछ ।

 

संविधानमा त्रुटी छ, यसलाई सच्याउन संशोधन गर्नुपर्छ भनि हामीले आन्दोलन पनि गर्यौं । तर शासकहरुले संविधान संशोधन गर्न चाहेनन् । आज उनीहरुले नै संविधानमा त्रुटी छ भने कुुरा स्विकार गर्दै यसलाई सच्याउनु पर्छ भनिरहेका छन् ।

 

भनिन्छ, यो केन्द्रीय समितिको बैठक २०८४ लाई टार्गेट गरेर बसेको थियो के यो साँच्चै हो ?
–२०८४ मा चुनाव हुन्छ । त्यसमा जसपा नेपाल लोकतान्त्रिक प्रकृयाबाट भाग लिन्छ । त्यसलाई प्रतिष्ठाको विषय जसपा नेपालले बनाउँदैन । जसरी अरु समय चुनावमा जसपा नेपाले भाग लिएको थियो । त्यसरी नै ८४ पनि लिन्छ । एउटा लक्ष्य त रहन्छ कि विगतको चुनावभन्दा बेटर गर्ने । अहिलेको वर्तमान गठबन्धन सरकारले संविधान संशोधन कुरा उठाएको छ । संविधान संशोधनमा आदिवासी जनजाति, मधेशी, उत्पिडित समुदायको अधिकार समावेश होस् भनि जसपा नेपालको चासो हुन्छ । त्यसमा दबाव दिनका लागि जसपा नेपालले तयारी गर्छ । त्यसमा हामी सबैको कुरा समावेश होस् भनि दबाव दिन्छौं र त्यसको तयारी पनि यो अभियानको क्रममा हुन्छ ।
संविधान संशोधन तपाईहरुको पक्षमा हुन्छ भनि तपाईलाई विश्वास छ ?
–देशको हितमा संविधान संशोधन होस् भनि हामी चाहन्छौं । संविधान निर्माण हुन लाग्दा पनि हामीले यसमा सबैको कुरा समेटियोस् भनि दबाव दियौं तर त्यतिबेला कसैको कुरा नसुनि ठूला दल भनाउँदाहरुले हतार हतारमा संविधान निर्माण गरे । त्यो संविधानलाई सबभन्दा उत्कृष्ट भने । संविधानमा त्रुटी छ, यसलाई सच्याउन संशोधन गर्नुपर्छ भनि हामीले आन्दोलन पनि गर्यौं । तर शासकहरुले संविधान संशोधन गर्न चाहेनन् । आज उनीहरुले नै संविधानमा त्रुटी छ भने कुुरा स्विकार गर्दै यसलाई सच्याउनु पर्छ भनिरहेका छन् । हामीले भनेको कुरा ठिक थियो भन्ने कुरा प्रमाणित भएको छ । अब हामीले उठाउँदै आएको विषयवस्तु समेटेर संविधान सशोधन गर्नुपर्छ त्यो हाम्रो चाहना हो र त्यसका लागि हामीले दबाव पनि दिन तयारी गरिरहेका छौं ।
तपाईहरुले भनेको अनुसार संविधान संशोधन भएन भने के गर्नुहुन्छ ?
–हामी माओवादीको जस्तो हतियार उठाउदैनौ । तर शान्तिपूर्ण आन्दोलन गर्छौ । विगतमा मधेशीसँग गरेको बेइमानीका कारण जनता कसरी सडकमा आएको थियो । कसरी मधेश विद्रोह भएको थियो, त्यसरी पनि हुनसक्छ । मधेशी जनतामा फेरि उकुस मुकुस छ । राज्य दमन गर्यो, अधिकार दिन तयार भएन भने लामो समय चुप लगाएर बस्दैन । आफ्नो अधिकार लिनका लागि कुनै नकुनै उपाय त लगाउँछ ।
अहिलेको काँग्रेस–एमाले गठबन्धनले त साना दललाई समाप्त गर्ने योजना बनाइरहेको छ, यस्तो केही कुरा तपाईले थाह पाउनु भएको छ ?
–यसको आधिकारिक पुष्टि कसैले गर्न सकेको छैन । तपाईले सुनेको जस्तो मैले पनि सुनेको हुँ । यो सुनि सुनाउ कुरा हो । यसको आधिकारी दस्तावेज वा निर्णय कही छैन । हल्लाको पछि लाग्नु हुँदैन । जुन दिन यसको आधिकारिक कुरा आउँछ त्यो दिन यसको बारेमा हामी पनि सल्लाह गर्छौ ।
काँग्रेस–एमालेका नेता खास गरि विशेष रुपमा एमालेका नेताहरुले साना दलका कारण देशमा अस्थिरता आएको हो भनिरहनु भएको छ यसमा तपाईको बुझाइ के हो ?
–होइन यसमा कुनै सत्यता छैन । मेरो विचारमा त तीन ठूला दलका कारण यो देशमा अस्थिरता आएको हो । सत्ताका लागि जे पनि गर्न तयार हुने ठूला दलले साना दललाई प्रयोग गर्ने कार्य मात्र गरे । कहिले यो गठबन्धन त, कहिले त्यो गठबन्धन त कहिले यो सरकार त कहिले त्यो सरकार भनेर उनीहरुले उलट फेर गरिरहेका हुन्छन् । र, त्यसमा साना दललाई ती ठूला दहरुले प्रयोग गरिरहेका हुन्छन् । तीन ठूला दल स्थिर भए भने देश कहिले अस्थिरतामा जाँदैन । आफ्नो गल्ती ढाकाछोप गर्नका लागि साना दललाई दोषी देखाएर पन्छिने काम ठूला दल भनाउँदाहरुले गरिरहेका छन् ।
त्यसो भए काँग्रेस–एमालेको यो गठबन्धन किन बनेको हो जस्तो लाग्छ तपाईलाई ?
–यो गठबन्धन भ्रष्टाचार लुकाउनका लागि बनेको हो । यसमा गिरीबन्धु टी–स्टेट र भुटानी शरणार्थी जस्ता काण्ड दबाउनका लागि यो गठबन्धन बनेको हो भनि यो कुरा स्पष्ट छ । बेचन झा पक्राउ पर्ने बित्तिकै हो गठबन्धन बनेको होइन ? अब त देशका बच्चा बच्चाले थाह पाइसके कि यो गठबन्धन किन बनेको हो । यो संविधान संशोधनलगायतका कुरा सब बहाना मात्र हुन् । हेर्नु होला यो गठबन्धनले संविधान संशोधन गर्न सक्दैन । बरु भुटानी शरणार्थी तथा गिरीबन्धु टि–स्टेट जस्ता काण्डहरु विस्तारै हराउँछन् । त्यसको चर्चा पनि हुँदैन । सबै फाइल गायब हुन्छन् । सबै प्रमाण नष्ट हुन्छ र गठबन्धनको उद्देश्य पुरा हुन्छ । संविधान संशोधन जस्तो विषय ल्याएर सबैलाई त्यसमा अल्झाएको छ । ताकि टि–स्टेटको बारेमा कसैले केही नबोलोस् ।
कोशी प्रदेशका लागि जसपा नेपालले एउटा छुट्टै कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलन परिचालन समिति गठन गरेको छ त्यसको आवश्यकता किन पर्यो ?
–एमालेलगायतका दलले प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राखेदेखि नै जसपा नेपाल त्यसको विरुद्धमा आन्दोलन गर्दै आइरहेको छ । त्यसलाई झन व्यवस्थित र सशक्त बनाउनका लागि यो समिति बनाएको हो । कोशी प्रदेश नामाकरण खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्छ भनि माग राखेर आन्दोलन भइरहेको छ । जुन दिन पहिचानको आधारमा नामाकरण हुन्छ त्यो दिन आन्दोलन पनि स्थगित हुन्छ । प्रदेश नम्बर १ मा कोशी प्रदेशको नाम खारेजका लागि लामो समयदेखि आन्दोलन भइरहेको छ । त्यसमा दुई जना सहिद पनि भएका छन् । थुप्रै जना घाइते पनि भएका छन् । तैपन िराज्यले सुनेको छैन अब ठूलो धक्का दिने गरी आन्दोलनको आवश्यकता छ त्यसको तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया