Khadya Bibhag

आरजुबाट ओली भयभित

यो दुई हप्ता सबभन्दा बढी चर्चाको विषय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमण रह्यो । परराष्ट्रमन्त्रीहरुको विदेश भ्रमण मामुली कुरा हो । दुई देश बिचको सम्बन्ध बनाउनका लागि परराष्ट्रमन्त्री तथा परराष्ट्रमन्त्रालयका अन्य अधिकारीहरु विदेश भ्रमणमा गइरहनु पर्छ । परराष्ट्रमन्त्री आरजु भारत भ्रमणमा जानु भयो त्यो कुनै नौलो कुरा होइन । यसअघि पनि उहाँ पटक पटक भारत नीजि भ्रमणमा गइरहनु हुन्थ्यो । भारत आउजाउ भइरहन्थ्यो । तर यसपटक परराष्ट्रमन्त्रीको रुपमा आरजुको भ्रमण विशेष रह्यो मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा समते लगाई ब्रेक लगाई दियो ।
खासमा परराष्ट्रमन्त्री आरजु उपचारका लागि भारत जानु भएको थियो । उपचारका लागि भारत जाने भनि कार्यतालिका मन्त्री हुनुभन्दा पहिला नै तय भएको थियो । स्वास्थ्यको नियमित चेक जाँचका क्रममा उहाँ भारत जानै पथ्र्यो चाहे मन्त्री भएको होस् नभएको होस् । तर मन्त्री भएर त्यसमा पनि परराष्ट्रमन्त्रीको रुपमा त्यतिकै भारत जानुभन्दा निमन्त्रणामा जाँदा त्यसको महत्व रहन्छ भनि उहाँले भारतबाट निमन्त्रणा मगाएर आफ्नो उपचारको भ्रमणलाई विशेष बनाउनु भयो ।
भारत भ्रमणको तयारी चलिरहँदा मन्त्रीपरिषद्बाट त्यसलाई अनुमोदन गराउनुपर्छ । परराष्ट्रमन्त्री आरजुले भारत भ्रमणको प्रस्ताव मन्त्रिपरिषद्मा लग्नु भएको थियो । भारतको औपचारिक भ्रमण भएको र त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने चाँजो पाँजो मिलाई रहेको कारण त्यही अनुसार तयारी गरेर जानुपर्छ भनि उहाँले मन्त्रीपरिषद्मा प्रस्ताव लग्नुभएको थियो ।
तर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले तपाई स्वास्थ्य उपचारमा जाँदै हुनुहुन्छ, यतिका कर्मचारी र तयारीका साथ किन जानु पर्यो प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मुसँग भेटघाट सम्भव नै हुँदैन, विदेशमन्त्रीसम्मलाई भेटेर आउनुस् । एक दुई जना सहयोगी यहाँबाट लग्नुस् आवश्यकता पर्यो भने त्यहाँका दुतावासबाट कर्मचारीलाई पनि प्रयोग गर्नुहोला भनि भन्नुभएको थियो ।
उहाँले आफ्नो भ्रमण दलमा एक जना सहसचिवसहित पाँच जनाको नाम दिनुभएको थियो । त्यसमध्ये तीनको नाम काट् दिनुभयो । परराष्ट्रमन्त्री आरजु नेपालबाट मन छोटो बनाएर त जानुभयो तर प्रधानमन्त्री ओलीलाई यसपाली देखाइ दिने भनि अठोट पनि लिनुभएको थियो । आफ्नो भारत भ्रमणलाई विशेष बनाउने भनि ठानेर नै उहाँ भदौं २ गते भ्रमणका लागि भारत जानुभयो । प्रधानमन्त्री ओलीले आरजुको भ्रमणलाई निकै हल्का रुपमा लिनुभएको थियो । उपचारका लागि गइरहनु भएको छ, त्यसक्रममा एक दुई जनालाई भेटेर फर्किनु हुन्छ भनि ठान्नुभएको थियो प्रधानमन्त्री ओली ।
तर परराष्ट्रमन्त्री आरजु प्रधानमन्त्री र राष्ट्रपतिलाई जसरी पनि भेट्ने भनि पावर लगाउनुभयो । आरजु परराष्ट्रमन्त्री मात्र होइन, देशका सबभन्दा ठूलो पार्टीका सभापति शेरबहादुर देउवाको श्रीमती पनि हुनुहुन्छ । अर्थात ‘नेक्स्ट पीएम’ का श्रीमती हुनुहुन्छ । शेरबहादुर देउवा नेपालमा छ पटक प्रधानमन्त्री भइसक्नु भएको छ । देउवा प्रधानमन्त्रीको रुपमा भारतको भ्रमण गर्दा आरजु फस्ट लेडीको रुपमा हरेक भ्रमणमा हुनुहुन्थ्यो । प्रधानमन्त्री मोदीलाई हरेक भ्रमणमा परराष्ट्रमन्त्री आरजुले भेटनु भएका छ । यस्तो ‘पावरफुल लेडी’ले पावर लगाएपछि प्रधामन्त्री मोदी नभेट्ने कुरा नै हुँदैन । भदौं ३ गते रक्षाबन्धनकै दिन परराष्ट्रमन्त्री आरजुले सुरुमा विदेशमन्त्री एस.जयशंकर भेट्नुभयो र साँझमा प्रधानमन्त्री मोदीसँग भेट्नुभयो ।
प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री आरजुसँगको भेटलाई प्रधानमन्त्री हराहारीकै सम्मान र महत्व दिनुभयो । त्यो महत्व किन झल्कियो भने प्रधानमन्त्री मोदीले आफ्नो साथमा प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री एस जयशंकर, विदेशसचिव विक्रम मिस्री, मोदीका निजी सचिव पिके मिश्र र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव उपस्थित थिए । यसखालको उपस्थिति हतपत कुनै प्रधानमन्त्री भ्रमणमा पनि हुँदैन । यसले पुष्टि हुन्छ कि प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री आरजुको भेटलाई विशेष महत्व दिनुभएको छ ।
भेट मात्र होइन, भारतले त्यति नै बेला नेपालबाट थप २५१ मेगावट विद्युत् खरिद गर्ने घोषणा गर्यो । अब अगामी दिनमा भारतले नेपालबाट १,००० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने परिस्थिति बन्नुलाई नेपालमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री अ‍ोलीका लागि निकै ठूलो झटकाका विषय थियो । भारतले परराष्ट्रमन्त्री आरजुलाई यति महत्व दिन्छन् भने कुराको कुनै नोटिस थिएन उहाँलाई । भारतका प्रधानमन्त्रीसँग भेटहुन्छ भनि प्रधानमन्त्री ओलीले कल्पना समेत गर्नुभएको थिएन । यो विद्युत आयातको कुरा धेरै टाढाको विषय थियो । यी दुईटा विषयले प्रधानमन्त्री ओलीलाई नराम्रो झटका दियो र झस्कायो पनि ।
भारतले नेपालमा ओलीले सरकारको नेतृत्व लिएकोमा रुचाएको छैन । बरु माओवादी–काँग्रेसकै गठबन्धन ठिक थियो भनि भारतको बुझाई रहेको छ । भारतले आफ्नो नेतृत्वको सरकारलाई नरुचाएको कुरा प्रधानमन्त्री ओलीले राम्रोसँग बुझ्नु भएको छ । त्यस अवस्थामा भारतले परराष्ट्रमन्त्री आरजुलाई यतिका महत्व दिएपछि प्रधानमन्त्री ओली झस्किनु स्वभाविक हो । यहाँसम्म कि परराष्ट्रमन्त्री आरजु प्रधानमन्त्रीका दावेदार पनि हुनुहुन्छ । अर्को टर्म देशको प्रधानमन्त्री काँग्रेसबाट शेरबहादुर देउवा भनिएको छ तर शेरबहादुर देउवाको ठाउँमा आरजुलाई प्रधानमन्त्री बनाउने खेल भइरहेको छ वा गठबन्धन भत्काएर पनि आरजुलाई प्रधानमन्त्री बनाउने सम्भावनाका कुरा पनि भइरहेको छ । प्रधानमन्त्री ओलीले नै घोषणा गर्नुभएको थियो । अबको प्रधानमन्त्री महिलाबाट हुन्छ र आफू त्यसको सम्पूर्ण पहलकदमी लिने आफूले लिने भन्नुभएको थियो ।
यसअघि आरजुले माओवादी–काँग्रेस गठबन्धन बनाउनुमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । माओवादी–काँग्रेसको गठबन्धनले निरन्तरता पाओस् भनि आरजुले भारतै गएर धेरैपटक प्रयास गर्नुभएको हो । त्यही दौडधुपका कारण बिग्रिसकेका काँग्रेस–माओवादीको गठबन्धन भत्केर पनि पटक पटक मिलेर पुन गठबन्धन बनेकै हो । यो कुरा एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीलाई थाह नभएको होइन । सबै कुरा थाह भइरहेको अवस्थामा भारतले त्यत्रो महत्व दिएपछि झस्किनु पर्ने आवश्क थियो ।
अब आफू तत्कालै भारत भ्रमणमा गइयो भने भने आरजु जतिको पनि महत्व भएन भने भ्रमणको अर्थ रहदैन भन्दै भदौंमा हुने भ्रमणलाई स्थगित गर्नुभएको छ । भर्खरै आरजुलाई भारतले त्यत्रो महत्व दिएको छ । त्यसले आफ्नो भ्रमणलाई फितलो बनाउने हो कि प्रधानमन्त्री ओली भारत भ्रमणमा नगएर अमेरिका भ्रमणमा जान लाग्नुभएको हो । अमेरिकमा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन त्यहाँ गइरहनु भएको छ । आरजुले भारतमा त्यत्रो सम्मान र महत्व नपाएको भए प्रधानमन्त्री ओलीले अमेरिका जानु भन्दा पहिले भारतको भ्रमण गर्नुहुन्थ्यो । प्रधानमन्त्रीको भ्रमणमा हुनुपर्ने कुरा परराष्ट्रमन्त्रीकै भ्रमणको क्रममा भइसक्यो अब तत्कालै त्यहाँ जानुको अर्थ नरहने भनि भारत भ्रमण तत्काल त्यागेर अमेरिका जाने तयारीमा प्रधानमन्त्री ओली हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया