Khadya Bibhag

कमलापुलमा राजनीति

धनुषा–सिरहा जोड्ने हुलाकी राजमार्गको कमला पुल विस्तारै इतिहास बन्दैछ । तराई मधेशको ‘लाइफलाइन’ मानिएको कमला पुल निर्माणका लागि पटक पटक आन्दोलन भयो, संघर्ष भयो तर अहिलेसम्म त्यसले पूर्णता पाएन । २०६८ मा कमला पुल निर्माणका लागि शिलान्यास हुँदा त्यो भेगका जनतामा खुशीको सञ्चार भएको थियो । अब सिरहा, सप्तरीबासीका लागि जनकपुर नजिक हुने भयो । चाहिएको बेलामा दर्शन गर्न पाइन्छ । विजनेश व्यपार पनि गर्न पाइन्छ भनि अनेक सपना पुरा हुने कल्पना त्यहाँका जनताले गरेका थिए । अर्थात त्यो पुल बनेपछि त्यो वरपरका जनताको जीवनशैलीमा नै परिवर्तन आउने देखिएको थियो ।
शिल्यानाशपछि निर्माणको काम सुरु त भयो तर त्यसमा पनि अनेक झमेला भयो । कहिले बन्ने, कहिले बन्द हुने भइ रह्यो । त्यो बिचमा कम्पनी पनि परिवर्तन भयो । पुल निर्माण चाँडै होस् भनि सिरहाका जनताले पटक पटक दबाव पनि दिएका थिए । त्यसमा रामरिझन यादवको विशेष योगदान थियो । उहाँले नै त्यस वरपरका जनतालाई पुलका लागि जगाउने काम गर्नुभयो । तैपनि ढिलासुस्ती भइरहेको थियो । काम गुणस्तर भइरहेको छैन भनि त्यतिबेला पनि सिरहाका युवाले आवाज उठाएका थिए । २०७१ मै त्यो पुल निर्माण भइसक्नु पर्ने थियो । तर १० वर्ष लाग्यो ।
ढिलो भए पनि पुल निर्माण भयो । धनुषा–सिरहाका जनतामा मात्र होइन हुलाकी सडक वरपरका जनता निकै खुशी थिए । राणा कालदेखि नै त्यस क्षेत्रका जनताले पुलका लागि विभिन्न आश्वासन पाइ रहेका थिए । पुल निर्माणका लागि अनेक सपना बाँडिएको थियो । त्यो पुलको नाममा कसैले राजनीतिको रोटी सेके भने कसैले व्यवसाय र कमिशनको रोटी सके । त्यस कारणले पुल निर्माण भइरहेको थिएन । पुल निर्माणका लागि पटक पटक आन्दोलन भए । पुल निर्माण त भयो । जनता खुशी थिए तर त्यो खुशी धेरै दिनसम्म टिक्न सकेन ।
२०७८ असारमा कमला नदीमा आएको समान्य बाढीले पुल भासियो । त्यो पुल मात्र भासिएन त्यहाँका जनताको मन पनि भासियो । एकदिन अगाडीसम्म खुशी रहेका जनता निराश भए । वर्षौदेखि विभिन्न सपना साँचेर बसेका जनतामा निराशाका लहर सञ्चार भयो । सबै सपना भाँचियो ।
पुल निर्माण कम्पनीले त्यसलाई पुनः निर्माण गर्ने भनि कबोल गर्यो । जनताको दबावमा तत्कालै काम पनि सुरु भयो । तर त्यो जनतालाई भुलाउन काम मात्र थियो भनि अहिले आएर पुष्टि भयो । कहिले के जाँच त कहिले के जाँच भनि कम्पनीले जनतालाई भुलाइ रह्यो । त्यो बाटो भएर हिड्नेले त त्यहाँ काम भइरहेको छ भनि बुझिरहेका थिए । कम्पनीले कहिले एक महिनामा काम सकिन्छ कहिले दुई महिनामा सकिन्छ भनि भाकाहरु दिइरह्यो । पुल चाँडो पुननिर्माणका लागि जनताले दबाव पनि दिइ रहेको थियो । त्यो दबाव केन्द्रसम्म पथ्र्यो ।
केन्द्रीय मन्त्रीहरु पनि त्यसको अनुगमन गर्न आउथे । मन्त्रीहरुले पनि काम हुँदैछ चाँडै पुर्णता पाउने आश्वासन आउँथ्यो । तर ती सबै भुलाउन चाल मात्र थियो भनि अहिले आएर खुलेको छ ।
त्यत्रो दिन काम भएको देखिएको थियो तर कुनै काम भएको छैन । कोही काम भएको छैन । अहिले त्यो कम्पनीले बिमा रकम नपाएको कारण पुननिर्माणको काम गर्न नसकिने भनि जवाफ दिएको छ । सिरहाका युवाहरु आन्दोलित भए । पटक पटक आन्दोलन भए । मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडी भदौं ४ गतेदेखि बसेको आमरण अनसनपछि त्यहाँका सरकारले नयाँ पुल बनाउने सहमति गरेको छ । आमरण अनुसनको अन्त्य त भयो तर त्यहाँ पुल निर्माण हुन्छ भन्ने कुरामा कसैलाई विश्वास छैन ।
तराई मधेशका लागि त्यो पुल लाइफलाइन भए जस्तै ठूला प्रोजेक्ट भएको कारण त्यसमा धेरैको आँखा छ । राज्य पनि कमला पुल बनाउनमा सकारात्मक छैन । तर मधेशका जनताले अझै आशा मारेको छैन । पुलका लागि जस्तोसुकै संघर्ष गर्न तयार छ किनभने तराई मधेशको भविष्यसँग त्यो पुल जोडिएको छ । त्यो पुल बनेन भने हुलाकी सडकको कुनै अर्थ रहदैन । संघीय सरकारले त्यो पुलका लागि ध्यान नदिए पनि मधेश सरकारले पनि सबै काम छाडेर त्यो पुल बनाई दियो भने मधेश सरकारका लागि धेरै ठूलो उपलब्धी हुनेछ र मधेशका जनताले जयजयकार गर्नेछ ।

तपाईको प्रतिक्रिया