Khadya Bibhag

नेपाल सद्भावना पार्टीले मात्र मधेशलाई विकल्प दिनसक्छ

–गोविन्द चौधरी
महाधिवेशन आयोज समितिका सहसंयोजक, नेपाल सद्भावना पार्टी
नेपाल सद्भावना पार्टीको महाधिवेशनको तयारी चलिरहेको छ । तर यसपटक पनि यो पार्टी विवादबाट मुक्त रहन सकेन । पार्टी स्थापना कालदेखि नै विवादको घेरामा रह्यो । जहिले पनि महाधिवेशनको समयमा पार्टीमा विवाद उत्पन्न हुने र विभाजन हुने गरेको देखिदै आएको छ । यसपटक पनि वीरगञ्ज र जनकपुर गरी दुई ठाउँमा महाधिवेशन हुँदैछ । वीरगञ्ज महाधिवेशनको नेतृत्वको रामचन्द्र कुशवाहाले गरिरहनु भएको छ भने जनकपुरको महाधिवेशन नेतृत्व रामकुमार महतोले गरिरहनु भएको छ । यो महाधिवेशनबाट पार्टी विभाजन हुन्छ भनि स्पष्ट छ । एकीकृत महाधिवेशन गराउन कोही पनि तयार हुनुहुन्न । नेपाल सद्भावना पार्टीमा सधै किन विवाद हुन्छ, किन दुई ठाउँमा महाधिवेशन, नेपाल सद्भावना पार्टी कसरी चल्छ लगायतका विषयमा नेपाल सद्भावना पार्टीका नेता एवं वीरगञ्जमा महाधिवेशन गराउन गठन गरिएको मुल आयोजक समितिका सहसंयोजक गोविन्द चौधरीसँग सहारा टाइम्सले गरेको छोटो कुराकानीको सम्पादीत अंशः
जिवित मात्र रहेको नेपाल सद्भावना पार्टीमा पुन विवाद उत्पन्न भएको छ पटक पटक यो पार्टीमा किन हुन्छ विवाद ?
–यो पार्टी एक जना क्रान्तिकारी नेता गजेन्द्रबाबुले जन्माउनु भएको पार्टी हो । यो क्रान्तिबाट जन्मेको पार्टी भएको हुनाले यसका सबै नेता तथा कार्यकर्ताहरु क्रान्तकारी नै छन् । सायद त्यही भएर यस्तो भइरहेको छ जस्तो मलाई लाग्छ । क्रान्तकारी पार्टी भएका हुनाले नै सबैको नजर र चासो यही पार्टीमाथि रहेको छ । पटक पटक विभाजन भएर समाप्त भइसकेको पार्टीमाथी पनि यतिका आकर्षण छ भने बुझ्नुस् राम्रोसँग व्यवस्थित तरिकाले चलायो भने कस्तो हुन्छ । तर पार्टी सधै विवादमा नै रहदैन जस्तो लाग्छ मलाई । नेपाल सद्भावना पार्टी एउटा पार्टी नभएर विचार हो । जो यो विचारसँग सहमत रहन्छन् त्यो मात्र यो पार्टीमा रही रहन्छन् जो सहमत रहदैन त्यो आफै साइड लाग्छन् । पार्टीमा एउटा नेता भएर मात्र काम गर्ने हो भने देशमा थुप्रै पार्टी छन् । ठूला ठूला पार्टी छन् । त्यहाँ गएर पनि राजनीति गर्न पाइन्छ तर नेपाल सद्भावना पार्टी एउटा यस्तो पार्टी हो जहाँ सिर्फ विचारको राजनीति हुन्छ । नैतिकता, इमान्दारीता, सिद्धान्तको राजनीति हुन्छ । गजेन्द्रबाबुले पनि सधै यही सिकाउनु हुन्थ्यो । तर पार्टीमा नेताहरु मात्र थिए, वैचारिक नेताहरु थिएनन् । नेताहरु सिर्फ आफ्नो राजनीति स्वार्थ मात्र हेर्छन् । त्यही स्वार्थका कारण अहिलेका पार्टीहरु लामो समय जान सकिरहेका छैनन् । जुन पार्टीमा विचार जिवित छ, नेताहरु वैचारिक राजनीतिमा विश्वास गर्छन् त्यो पार्टी अझै चलि नै रहेका छन् । कुनै नकुनै रुपमा जिवित नै छन् । नेपाल सद्भावना पार्टी पनि एउटै त्यस्तै पार्टी हो । गजेन्द्रबाबुको विचार र दर्शनबाट सिचिंत पार्टी हो । यो पार्टी त्यतिकै समाप्त हुँदैन । स्वार्थका राजनीति गर्ने हो यो पार्टीमा टिकेनन् । सबै छाडेर गए । यो पार्टी कुनै नकुनै रुपमा जिवित छ । अहिलेसम्म कुनै कारणले त जिवित होला नि । अब यस पार्टीमा नै सबै गोलबन्द हुन्छ र देशमा वैकल्पिक राजनीतिको नेतृत्व गर्छ ।
टुक्रा टुक्रा भइसकेका नेपाल सद्भावना पार्टीका नेताहरु पनि कोही कता कोही गइसकेको बेला यो वैकल्पिक राजनीतिको नेतृत्व यसले कसरी गर्छ ?
–यो पार्टीमा निस्वार्थ भावले लाग्नु भएका कुनै पनि नेताहरु यताउती भएका छैनन् । निस्कृय भएर बसेका छन् । यसै पनि नेपाल सद्भावना पार्टीलाई माया गर्ने थुप्रै नेता तथा कार्यकर्ताहरु छन् । कतिपय यस्ता पनि नेताहरु छन् जो नेपाल सद्भावना पार्टी छाडेपछि कही नगएर चुपचाप घर बसेका छन् । पार्टी पुनः सक्रिय हुन्छ कि भनि प्रतिक्षामा छन् । यो पार्टी पुनः सक्रिय भएको छ भनेर पुराना नेता तथा कार्यकर्ताहरु यो पार्टीसँग जोडिन थालेका छन् । आशा गरौं यसले मधेशमा मात्र होइन देशमा एउटा विकल्प दिन्छ ।
विकल्प कसरी दिन्छ यो पार्टीले सक्रिय नहुँदै पार्टीमा विवाद देखिएको छ मंसिरमा दुई ठाउँमा महाधिवेशन हुन लागेको सुनिन्छ कुरा के हो ?
–मैले अघि पनि भनेका थिए कि हरेक पार्टीमा लोभी पापी, स्वार्थी नेताहरु हुन्छन् । त्यसलाई फिल्टर गर्न केही समय लाग्छ । साइड लगाउन केही समय लाग्छ । अहिले पनि नेपाल सद्भावना पार्टीमा यस्ता नेताहरु छन् जो यसको नाम भजाएर आफ्ना रोजीरोटी चलाइ रहेका छन् । यसको नाम बेचिरहेका छन् । जो विगतमा पनि भएको थियो । विगतमा पार्टीमा नाम बेच्नेहरु कहाँ छन् तपाई आफै देख्न सक्नु हुन्छ । अहिले पनि केही मान्छे पार्टीभित्र छन् जो नेपाल सद्भावना पार्टीको नाममा विजनेश गरिरहेका छन् । त्यस्तै त्यस्तै व्यक्तिका कारण नेपाल सद्भावना पार्टी बदनाम भएको र विवादमा परेको हो । तर अब विस्तारै यी सब ठिक हुन्छ । रामकुमार महतो जो नागरिक उन्मुक्ति पार्टीमा हुनुहुन्छ । उहाँले नेपाल सद्भावना पार्टीको महाधिवेशन जनकपुरमा गराउने हल्ला गरिरहनु भएको छ । पार्टीमा नै नरहेका व्यक्ति महाधिवेशन कसरी गराउनु हुन्छ त्यसको कानुनी उपचार हामी खोजी रहेका छौं ।
पछिल्लो समय नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो हुनुहुन्थ्यो नागरिक उन्मुक्ति पार्टीका नेता कसरी बन्नुभयो ?
–त्यही कुरा त म अघिदेखि भनिरहेको छु नि कि पार्टीमा आफ्नो व्यक्तिगत स्वार्थका लागि राजनीति गर्नेहरु भएका कारण यसको यो हालत भएको हो । सरिता गिरीहरु पार्टी छाडेर अरु अरु पार्टीमा गएपछि राजेन्द्र साहले यो पार्टीलाई निर्वाचन आयोगबाट जिवित गराउनु भएको थियो । पछि पार्टीको अध्यक्ष रामकुमार महतो बन्नुभयो । तर उहाँले पनि त्यसलाई चलाउन नसकेपछि नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्नुभयो । नागरिक उन्मुक्ति पार्टी सरकारमा थियो, रामकुमार शर्माले आफ्ना श्रीमतीलाई जागिर लगाउने भनेर रेशम चौधरीसँग एकताको हात बढाउनु भयो । रेशमको पार्टीमा रामकुमार महतो उपाध्यक्ष बन्नुभयो । तर रामकुमार महतोले नेपाल सद्भावना पार्टीलाई नागरिक उन्मुक्ति पार्टीमा नमिलाएर त्यो पार्टी पनि आफूसँग राखेर श्रीमतीलाई सो पार्टीको अध्यक्ष बनाउनुभयो । तर श्रीमती सरकारी जागिरमा भएको कारण पार्टीको नेतृत्व गर्न नपाउने भनि निर्वाचन आयोगले नै मान्यता दिएन ।
त्यसपछि त्यो पार्टी त्यतिकै लथालिगं भयो । रामकुमार महतो नागरिक उन्मुक्ति पार्टीमा सक्रिय रहनु भयो । उहाँको श्रीमती मालपोतमा जागिर खान थाल्नुभयो । त्यसपछि त्यो पार्टीमा रहेका केही नेताहरु सक्रिय भएर केही व्यक्तिहरुलाई जोड्ने काम गर्नुभयो । त्यही बेला रामचन्द्र कुशवाहा, म लगायत थुप्रै नेताहरु आए । पार्टी क्रियाशिल भयो । अब यसलाई राम्रोसँग चलाउनु पर्छ भनि पुराना पुराना नेताहरु जोडिन थाल्नुभयो । नेपाल सद्भावना पार्टीमा काम गरेका नेताहरु सम्पर्कमा आउन थाल्नुभयो । जब यो पार्टी सक्रिय भयो महाधिवेशनको मिति तय भयो । त्यसपछि रामकुमार महतो आफू पनि यही पार्टीमा रहेर काम गर्ने भनि भन्न थाल्नुभयो ।
उता नागरिक उन्मुक्ति पार्टी सरकारबाट हटेपछि रामकुमार महतोको श्रीमतीको जागिर पनि गयो । त्यसपछि नेपाल सद्भावना पार्टीप्रति उहाँ सबैको ध्यान गयो । त्यतिबेलासम्म हामीले रामचन्द्र कुशवाहालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएर मंसिर १ गतेदेखि वीरगञ्जमा महाधिवेशन गर्ने भनि तयारीमा जुट्यो । सो आयोजक समितिमा रामकुमार शर्मालाई पनि सहसंयोजक बनाइएको थियो । तर पछि उहाँले आफूलाई कार्यबाहक अध्यक्ष घोषणा गरी जनकपुरमा महाधिवेशन गर्ने भन्न थाल्नुभयो । हामीसँग पैसाको बार्गैनिङ गर्न थाल्नुभयो । महाधिवेशनको नाममा जनकपुरमा पैसा उठाउन थाल्नुभयो । हामीले प्रहरीमा त्यसको विरुद्धमा निवेदन पनि दिएका छौं । निर्वाचन आयोगले हामीलाई पत्र दिएर महाधिवेशन गर्न भनेको छ तर रामकुमार महतोले जनकपुरमा महाधिवेशन गर्ने भनि लागि रहनु भएको छ । अब तपाई नै भन्नुस् जो व्यक्ति नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष हुनुहुन्छ त्यो व्यक्ति अर्को पार्टीको कार्यबाहक अध्यक्ष छु भन्न पाइन्छ ? यस्तै यस्तै स्वार्थको, व्यपारको राजनीति गरेको कारण मधेशको हालत यस्तो भएको हो, पार्टीहरुको हालत यस्तो भएको हो ।
अब के हुन्छ महाधिवेशन हुुन्छ त ?
–हुन्छ, महाधिवेशन हुन्छ । हामी आधिकारीक हौं । निर्वाचन आयोगले हामीलाई महाधिवेशन गराउन आधिकार दिएको छ । हामी त्यसको तयारीमा छौं । तोकिएको समयमा महाधिवेशन हुन्छ । रामकुमार महतोको लागि हामी कानुनी उपचारको खोजीमा छौं । उहाँ बद्री मण्डलसम्म पनि पुग्नुभएको छ । बद्री मण्डलले पनि चासो लिन थाल्नुभएको छ । देशमा राजवादीहरु सक्रिय हुन थालेपछि आफूलाई फ्रन्टमा देखाउन नेपाल सद्भावना पार्टीमा सक्रिय हुन खोज्नुभएको जस्तो छ । तर हेरौं हामी आफ्नो तयारीमा लागेका छौं ।
त्यसो भए महाधिवेशनबाट पार्टी पुनः विभाजन हुन्छ होइन ?
–मेरो विचारमा विभाजन हुँदैन होला । किनभने देशमा कानुनी राज्य छ । कानुनले पनि यी सब कुराको व्यख्या गर्ला सायद । हामीलाई त्यसमाथि भरोसा छ । हामीले पार्टी विभाजन हुन दिदैनौं । अरु कसैले अर्को पार्टी खोलेर केही गर्छन् भने त्यसमा हाम्रो भनाइ केही छैन तर हाम्रो साइडबाट नेपाल सद्भावना पार्टीको केही हुँदैन ।
तपाईहरु नै जनकपुरमा महाधिवेशन किन गर्नुहुन्न वीरगञ्जकै लागि किन जिद्द गर्नुभएको हो ?
–होइन, रामकुमार महतोले जनकपुरमा नै महाधिवेशन गरौं भन्दा हामी पनि तयार भएका थियौं । तर त्यहाँको व्यवस्थापनाको जिम्मेवारी हामीले नै लिन्छौं तपाईलाई दिनौं भनेका थियौ तर उहाँले मान्नु भएन । ‘मलाई पैसा दिनुस् जनकपुरमा म महाधिवेशन गराउछु भनि उहाँ भन्नुहुन्छ । यस्तो कही हुन्छ उहाँलाई पैसा दिएर व्यवस्थापनको सबै जिम्मेवारी दिएर महाधिवेशन गराउँदा कस्तो महाधिवेशन हुन्छ आफै विचार गर्नुस् । उहाँका विगतको क्रियाकलाप हेर्दा उहाँमाथि हामीलाई विश्वास छैन । उहाँको हातमा दिएर महाधिवेशन गराउन सकिदैन । बरु हामी वीरगञ्जमै महाधिवेशन गर्छौ । जो मान्छे कहिले अनिल झासँग पार्टी बेच्ने बार्गेनिङ गर्छन् भने कहिले राजेन्द्र महतोसँग । त्यो मान्छेमाथि कसरी विश्वास गर्ने ? आफू नागरिक उन्मुक्ति पार्टीमा जाने र श्रीमतीलाई अध्यक्ष बनाई दिने व्यक्तिमाथि कसरी विश्वास गर्ने तपाई नै भन्नुस् । श्रीमतीलाई एउटा जागिर खुवाउनका लागि पार्टी नै अरुलाई सुम्पि दिने व्यक्ति भोली गएर अरु के बाँकी राख्ला र । अहिले पनि उहाँले हामीलाई पटक पटक भन्नुभएको छ कि यति ऋण छ, त्यति ऋण छ, यो पार्टी हातबाट गयो भने बर्बाद हुन्छु, पैसा चाहियो भन्नुहुन्छ । त्यही भएर हामीलाई उहाँमाथि विश्वास छैन । यदि उहाँ वीरगञ्जको महाधिवेशनमा सहभागी हुनुहुन्छ भने हामी स्वागत गर्छौ । महाधिवेशनबाट उहाँ पार्टीको अध्यक्षमा पनि उम्मेदावरी दिन सक्नुहुन्छ वा अरु कुनै पनि पदमा उम्मेवारी दिन सक्नुहुन्छ । तर त्यसअघि कुनै कम्परमाइज हुँदैन ।
यो हालतमा पनि तपाईले नेपाल सद्भावना पार्टी चलाउछु भनि आँट कसरी गर्नुभएको छ ?
–मैले अघि पनि भनेका थिए कि अहिले पनि इमान्दार नेता तथा कार्यकर्ताहरु विकल्पको खोजीमा छन् । नेपाल सद्भावना पार्टीका पुराना नेता तथा कार्यकर्ताहरु अझै पर्खेर बसेका छन् । धेरैले यही पार्टीलाई पुनर्गंठन गरेर चलाउनुपर्छ भनेका छन् । मधेशमा धेरै पार्टी छन् तर ती पार्टीबाट थुप्रै नेताहरु विरक्तिएका छन् । ती सबै नेपाल सद्भावना पार्टीमा आउन चाहन्छन् । पूर्वी मधेशमा थुप्रै पार्टी क्रियाशिल छन् तर पश्चिममा त्यसको अभाव छ । पश्चिम मधेशमा नेपाल सद्भावना पार्टीमाथि आकर्षण बढेको छ । पार्टीको पुराना लिगेसी अझै बाँकी छ । त्यही भएर विश्वास छ कि यो पार्टी चल्छ ।

तपाईको प्रतिक्रिया