पुरै मधेश लागु औषधीको चङ्गुलमा फँस्दैछ । तराई मधेशका अधिकांश युवा लागु औषधको कुलतमा यसरी फसिसकेका छन् कि त्यसलाई बाहिर निकाल्न कहीँ कतैबाट प्रयास भइरहेको छैन । खास गरी तराई मधेशका नेपाल–भारत सीमा क्षेत्रमा यो अवस्था झन् भयावह छ । भारतको बिहारमा रक्सीमा बन्देज लगाइएको छ । त्यसले गर्दा नेपालबाट व्यापक मात्रामा रक्सी भारत तस्करी हुने गरेको छ ।
नेपालबाट रक्सी जान्छ भने भारतबाट गाँजा, चरेस, ब्राउन सुगर, अफिम, हिरोइनका साथै अरू लागु औषधी आउने गरेका छन् । सीमामा कसैले कसैलाई रोकटोक गरेको पाइँदैन । सीमामा खटिएका नेपाल–भारतका सुरक्षाकर्मीले व्यापारीहरूबाट रकम लिएर आउन जान दिइरहेका हुन्छन् ।
झन् ड्रगिसलाई देखेपछि प्रहरीहरू सामुनेमा आउने गरेका छैनन् । नेपालमा आएर रक्सी खाने र भारतमा गएर लागु औषधी सेवन गर्नेलाई कुनै रोकटोक छैन । यो कुलतमा १० वर्षको बच्चादेखि ३०–४० वर्षका युवा फसेका छन् । जसको घरका मुखिया अर्थात् बुवा विदेश गएका छन् उसका अधिकांश छोराछोरी त्यस्तो कुलतमा फसेको देखिएका छन् । विदेश नगएका बाउका छोराछोरी पनि त्यसमा लागेका छन् तर विदेश गएका बाउका छोराछोरीको सङ्ख्या बढी देखिएका छन् ।
बुबाले विदेशबाट रुपियाँ पठाएका हुन्छन् । छोराछोरीले त्यसलाई लागु औषधीमा खर्च गरेका हुन्छन् । छोराछोरीहरू आमा वा घरमा रहेका अन्यलाई टेरेका हुँदैनन् । छोराछोरीहरू कुनै न कुनै बाहानमा घरबाट निस्केका हुन्छन् र साथी भाइको सङ्गतमा परेर त्यस्ता कुलतमा लागेका हुन्छन् । तर त्यसलाई रोक्ने कोही हुँदैनन् । खासमा यसलाई नियन्त्रण गर्ने भूमिका स्थानीय सरकारले गर्नुपर्ने हो । जनचेतना फैलाउनुको साथै त्यसलाई रोक्ने विभिन्न उपाय अपनाउनु पर्ने हो ।
तर स्थानीय जनप्रतिनिधि पनि मूकदर्शक भएर बसेका छन् । प्रहरीले त्यसलाई नियन्त्रण गर्ने प्रयास गरेको देखिन्छ । विद्यालयहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको देखिन्छ तर त्यो औपचारिकताका लागि मात्र गरेको देखिन्छ । जुन गम्भीरताका साथ त्यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने हो त्यो देखिएको छैन ।
सङ्घ तथा प्रदेशका मन्त्रीहरू कुनै कार्यक्रममा जाँदा लागु औषधी नियन्त्रण गर्ने, विभिन्न कार्यक्रम सञ्चालन गर्ने जस्ता प्रतिवद्धताहरु जनाउँछन् तर कार्यान्वयनमा केही आएको देखिँदैन । आजसम्म लागु औषधको बारेमा कुनै कार्यक्रम गरेको देखिँदैन । लागु औषधकै कारण तराई मधेशमा हत्या हिंसा तथा दुर्घटनामा वृद्धि भएको छ । अरू प्रदेशभन्दा बढी मधेश प्रदेशमा हत्या, हिंसा तथा दुर्घटना हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ र ती अधिकांश हत्या हिंसा तथा दुर्घटनाहरू लागु औषधका कारणले हुने गरेको देखिन्छ ।
मधेश प्रदेशमा लागु औषध प्रयोगकर्ताको डरलाग्दो तथ्याङ्क छ । प्रहरीका अनुसार मधेश प्रदेशमा मात्र दैनिक औसतमा तीन जना लागू औषधसहित पक्राउ पर्ने गरेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा १ हजार ३०४ व्यक्ति लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । यो त पक्राउ पर्नेको आधिकारिक तथ्याङ्क हो । यसको आधारमा बुझ्न सकिन्छ कि मधेशमा लागु औषध प्रयोगकर्ताको सङ्ख्या कति छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आर्थिक वर्ष २०७९\०८० मा १०६ जनाको हत्या भएको छ । त्यसमध्ये अधिकांशको हत्या लागु औषधको कारण भएका छन् । त्यस्तै बलात्कारजस्ता जघन्य अपराधमा पनि लागु औषध प्रयोगकर्ताको संलग्नता देखिएको छ । हत्याका घटनाभन्दा धेरै चोरी, डाँका, महिला तथा घरेलु हिंसा जस्ता अपराधमा समेत लागू औषध सेवनकर्ताको संलग्नता ८० प्रतिशतभन्दा बढी देखिएको प्रहरी अधिकृतहरूले जनाएका छन् । उनीहरू लागु औषधी खरिदका लागि चोरी डकैती गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
तपाईको प्रतिक्रिया