–डा.जेपी यादव
–केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी नेपाल
त्यतिकै पनि राजनीतिमा पढेलेखेका मान्छे धेरै कम छन् । पढे लेखेका तथा जानेबुझेकाले राजनीतिक दलमा हतपत ठाउँ पाएका हुँदैनन् । विद्यार्थी जीवनबाट राजनीति सुरु गर्नुभएका डा.जेपी यादवको अवस्था पनि त्यस्तै छ । भारतबाट पीएचडी गर्नुभएको जेपी यादव जसपा नेपालको राजनीतिमा ओझेलमा देखिनु भएको छ, पार्टीमा उहाँको सक्रियता देखिएको छैन । राजनीतिक गर्दा गर्दै पढाई पनि सकाउनुभयो । उहाँ अँग्रेजी भाषामा पीएचडी गरे पनि पोल्टिक्समा त्यसको छाप छोड्न सक्नुभएको छैन । उहाँ पीएचडी होल्डर भएपनि उहाँको उद्देश्य राजनीति नै गर्नु हो । जनता समाजवादी पार्टी नेपालमा सक्रिय हुनुहुन्छ तर पार्टीमा उचित ठाउँ नपाएको गुनासो उहाँको छ । किन यस्तो ? सहारा टाइम्सले जसपा नेपालका केन्द्रीय सदस्य डा.जेपी यादवसँग गरिएको कुराकानीको सम्पादीत अंशः
तपाईंले आफ्नो फेसबुकको नाममा डाक्टर जोड्नुभएको छ । यो कुन डाक्टर हो ?
–मेरो नामसँग रहेको यो डाक्टर मेरो पीएचडी डाक्टर हो, मेडिकल डाक्टर होइन । मैले इङ्लिस सब्जेक्टमा पीएचडी गरेको हो । मेरो टपिकको नाम थियो– “इङ्लिश ल्याङ्ग्वेज टिचिङ इन मल्टिलिङ्गुअल कन्टेक्स्ट अफ नेपाल’’ । त्यसको मेन सार के हो भने इङ्लिस लर्निङमा दुइटा पाटो हुँदो रहेछ । एउटा रोल अफ मदर टङ लर्निङ । इङ्लिसमा के हुन्छ भने उसको इन्टरफेरेन्स हो कि अर्को के हुन्छ सपोर्टिभ रोल हो । मेरो के थियो भने इङ्लिस ल्याङ्ग्वेज लर्निङमा मदर टङ, मातृभाषाको उसको डिस्टर्बेन्स होइन कि सपोर्टिभ रोल हुन्छ । उसको भूमिका चाहिँ इङ्लिस सिकाइमा चाहिँ प्रभावकारी हुन्छ भन्ने टपिक थियो ।
कहाँबाट गर्नुभयो पीएचडी?
–मैले भारत आन्ध्र युनिभर्सिटी, विशाखापटनमबाट गरेको हुँ ।
तपाईं पीएचडी इङ्लिसमा गर्नुभएको छ, र पोलिटिक्सतिर जानुभयो । यो तारतम्य मिलेन जस्तो लाग्यो । यो तपाईंको कसरी…?
–रिसर्च भन्ने कुरा एउटा इनोभेसन हो । रिसर्चको मिनिङ नै हो कि सर्च न्यु थिङ अगेन एन्ड अगेन । नयाँ कुरा जहाँ पनि गर्न सकिन्छ । मेरो रिसर्च भाषासम्बन्धी हो र भाषामा मैले मातृभाषाको संरक्षणमा जोड दिएको छु । मातृभाषाको संरक्षण भएन भने धेरै ल्याङ्ग्वेजहरूको अवस्था संकटमा पर्नेछ । त्यहाँ कल्चरको कुरा पनि छ । त्यो बेला मैले अनुसन्धान गर्दा म आफ्नो रिसर्चमा, मधेस प्रदेशलाई मैले टार्गेट ग्रुप बनाए । त्यस्तो किन गरे भने मधेस प्रदेश हरेक हिसाबले सुगम ठाउँ हो, तर त्यहाँ शिक्षाको अवस्था खस्किएको देखियो । त्यही भएर अध्ययन गरेर राजनीतिमार्फत शिक्षामा केही गरौं भनि मेरो सोच हो ।
तपाईंले पीएचडी गर्नुभयो तर रोज्नुभयो पोलिटिक्स किन ?
–म त पोलिटिक्स पीएचडी गरेपछि गरेको होइन । म स्कुले जीवनदेखि पोल्टिक्स गरिरहेका थिए । म गजेन्द्रनारायण सिंहबाट प्रेरित भएको मान्छे हुँ । तपाईलाई भन्नु मैले पहिलो भोट नेपाल सद्भावना पार्टीको पञ्जा छापमा नै हालेको हुँ । जुन बेला म स्कुल पढ्थेँ, त्यो बेला गजेन्द्रनारायण सिंह र सद्भावनाको नेताहरूबाट विभेदको कुराहरू आउँथ्यो । मधेस मुभमेन्ट २०६३–६४ हुनुभन्दा अगाडि हामी मधेसवादी कित्तामा आइसकेका थियौं ।
मधेसको सेन्टिमेन्टमाथि राज्यबाट विभेद भइरहेको छ, त्यो कुराबाट हामी स्कुले जीवनबाटै अभिप्रेरित भइसकेका थियौँ र अहिले आउँदाखेरि अध्ययनको हिसाबले, अनुभवको हिसाबले, राज्य संयन्त्रको विश्लेषणको हिसाबले हामीमा निखार आयो कि यो–यो ठाउँमा विभेद भइराखेको हो । तर विभेद भएको हो, नेपालमा मधेसी दोस्रो, द्वैध दर्जा होइन, तेस्रो दर्जाको नागरिकसरहको व्यवहार गरिएको छ । हामी सानो हुँदाखेरि त्यो बेला नै कुरा सुनिन्थ्यो कि मधेसीलाई तीन प्रकारको नागरिकता दिइन्छ– वंशज, अंगीकृत र जन्मसिद्ध । मैले १० क्लासमा पुग्नुभन्दा अगाडि मलाई यो नागरिकताको विभेद भन्ने कुरा थाहा थियो र स्कुले जीवनमा हामी पढ्दा त्यो बेला हामीहरू एउटा क्याम्पेन गथ्र्यौँ र नागरिकताको बारेमा कुरा उठाउने दल नेपाल सद्भावना पार्टीलाई जिताउन अभियान चलाउथ्यौं । त्यतिबेला हाम्रोबाट सद्भाना पार्टीलाई सबभन्दा बढी मत परेको थियो ।
तपाईं स्कुलै जीवनदेखि राजनीति सुरुवात गर्नुभयो भन्नुभयो, तर तपाईं जुन पढाई पढ्नुभयो त्यो पोल्टिक्सका लागि हो पोल्टिक्स पढाइको लागि हो ?
–मेरो सानैदेखिको चाहना के थियो भने राजनीतिक गर्ने हो भने पढे लेखेको हुनुपर्छ । जुन राजनीतिक दल तथा नेताले समाजलाई डोर्याउने काम गर्छन् त्यही नेताले अध्ययन गरेका हुँदैन भने समाजलाई अगाडि बढाउन सक्दैनन् । मैले जोसँग कुरा गर्दा वा कुनै कार्यक्रममा जाँदा त्यहाँ कुरा उठेका हुन्छन् कि राजनीति गर्ने मान्छेहरू पढेलेखेका हुँदैन । त्यसले हामी जस्ता नेतालाई आत्मग्लानी भइरहेका हुन्छन् । त्यसपछि मैले सोचे कि राजनीतिसँगै पढाईलाई पनि निरन्तरता दिनुपर्ने भनि सोच बनाए र मैले पिएचडी सकाए ।
मेरो मनमा थियो, कम्तीमा एउटा पाटो दह्रो बनाउनुप¥यो कि मान्छेले भनोस् कि फलानो नेता पढे लेखेका छन् है, चाहे त्यो ब्युरोक्र्याटमा होस् या जनतामा होस् या नेतृत्व पंक्तिमा होस् । तर दुर्भाग्य के छ भने दलहरुमा पढे लेखेको मान्छेको कमी छ । जो पढे लेखेका छन् उसलाई पार्टीभित्र छिर्न दिएको छैन । धेरै ठाउँमा मैले आफ्नै कानले सुनेको छ, कि पढेर कही राजनीति हुन्छ र ? मैले आफ्नो लागि पढेको होइन । मैले त मधेसको लागि, देशको लागि, आफ्नो अधिकारको लागि ढुङ्गा र त्यो टायर, मसाल बाल्दाबाल्दै पीएचडीलाई निरन्तरता दिएर सकाए ।
२०७० मा पनि चुनाव लड्छु भनेर तयारीमा लागे । त्यतिबेला जुन पार्टीमा म थिए त्यो पार्टीका हर्ताकर्तासँग लडाइ नै भएको थियो । तर म टिकटलाई नै प्रधान मानेर बसिनन् ।
नेपालको समग्र राजनीतिमा पढेलेखेका, शिक्षित नेताहरूको स्थान कस्तो पाउनुभएको छ ?
–होइन, मैले सुरुमै भनेँ, मधेसकेन्द्रित दलमा मात्र होइन, समग्र नेपालको पोलिटिक्समा पढे लेखेका नेता वा व्यक्तिसँग नेतृत्व डराउँछन् । भोलि ओभरटेक गर्ला कि भनेर उहाँहरू डराउनु हुन्छ । पढे लेखेका व्यक्ति पार्टीमा भयो भने अहिले जसरी पार्टी टुटफुटको क्रममा छ, पढेलेखेको मान्छे जिम्मेवार ठाउँमा पुगेको भए, त्यो पनि रोकिन्थ्यो । पढेलेखेको मान्छे एउटा स्टेप चाल्दा उसले हरेक डिफरेन्ट एंगलबाट सोच्छ । यो मैले गर्नु राम्रो हो कि होइन ? देशको हितमा हो कि होइन ? समुदायको हितमा हो कि होइन ? मधेसको हितमा छ कि छैन ? यी कुराहरूको पहिला विश्लेषण गर्छन् अनि मात्र कुनै कदम चाल्छ । तर गलत मान्छेहरू ठाउँमा पुग्नेबित्तिकै उनीहरूले पदकै लागि, सांसद, मन्त्रीकै लागि पद छाडेर हिड्ने गरेको देख्न सकिन्छ । आर्थिक लाभको हिसाबले अलि त्योभन्दा बढी भयो भने विचलन हुने तर पढेलेखेकोमा त्यो देखिदैन ।
तपाईं अहिले जसपा नेपालमा हुनुहुन्छ । तपाईंका पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैँ विद्वान हुनुहुन्छ । तपाईं जतिका पढेलेखेका व्यक्तिले जसपा नेपालमा कस्तो स्थान पाउनुभएको छ ?
–होइन, म अब अलि पछाडिबाट प्रसङ्ग जोड्छु । जस्तो कि राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीको एकीकरण एकीकरण गराउनेमा मेजर पात्र नभए पनि सहायक पात्रको रूपमा म पनि थिए । त्यो बेलाको एकताको उद्देश्य के थियो भने यो देशमा उपेक्षित र उत्पीडनमा परेको समुदायलाई मलधारमा ल्याउनु । मधेसी, जनजातिका छोरा यो देशको प्रधानमन्त्री बनोस् भने उद्देश्यले हामीले एकता गरेका थियौं । त्यो बेला हामीलाई पनि लागेको थियो कि होइन, एउटा वैकल्पिक शक्ति बनाउनुपर्छ ।
तर जुन उद्देश्यले म पोल्टिक्समा लागें, त्याग र समर्पण गरेँ, त्यो कतै देखिएन । त्यो नदेखिनुमा एउटै कारण छ, भ्रष्टाचारी, पदलोलुपताको हातमा देशको राजनीति पुगेको छ । पढेलेखेको मान्छे गणेश परिक्रमा त गर्दैनन् । पढेलेखेको मान्छेमा एउटा सबैभन्दा खराबी भनौँ या सबैभन्दा प्लस पोइन्ट भनौँ, ऊ स्वाभिमान बेच्न सक्दैन । किन ? उसको विद्वताले त्यहाँ रोकिराखेको हुन्छ । मैले गलत गरेँ भने मेरो विद्वतामाथि प्रश्न उठ्छ । त्यसकारण एउटा जसपा नेपालमा होइन, मधेसकेन्द्रित सबै दलमा यस्तो देखिन्छ । पढेलेखेको मान्छेलाई झन भयभीत बनाएर राखिएको हुन्छ ।
तपाईंबाट उपेन्द्र यादव भयभीत हुनुहुन्छ त ?
–मैले उपेन्द्रजीलाई वा अरु अन्य कुनै व्यक्तिलाई इंगित गर्न चाहन्न । समग्र मधेस… हुन त नेपालभरिकै पार्टीमा त्यो अवस्था छ । चाहे एमाले होस्, चाहे कांग्रेस होस्, चाहे माओवादी होस् । तर त्यसको प्रभाव मधेसकेन्द्रित दलमा बढी देखिन्छ ।
पढे लेखेकोबाट किन तर्सिन्छन् नेताहरु ?
–पढेलेखेको मान्छेले एक त तर्क–बितर्क गर्छन् । यो राम्रो हो, त्यो नराम्रो हो । तर नेतृत्वहरूले के बढी मन पराउँछन् भने मैले जे भन्छु त्यसमा एसमा एस भन्दियोस् । लोकतान्त्रिक विधि र प्रक्रियाको बारेमा जब हामी कुरा गर्छौँ, त्यहाँ आन्तरिक लोकतन्त्र हुनुपर्छ । आन्तरिक लोकतन्त्र बिना न त समाजवाद हुन सक्छ, न त हामी समानुपातिक समावेशीको परिकल्पना गर्न सक्छौँ र हाम्रो जुन मेन मुद्दा हो संघीयता, त्यसको परिकल्पनाको लागि जुनसुकै पार्टी होस्, परिवार होस्, संस्था होस्, त्यहाँ आन्तरिक लोकतन्त्र चाहिन्छ ।
तपाईंको जसपा नेपालमा आन्तरिक लोकतन्त्र कतिको छ ?
–हाम्रो पार्टीमा पार्टीका अध्यक्ष नै संघर्षबाट आउनुभएको छ । अनि उहाँको अध्ययन पनि छ । एउटा ठूलो मधेस मुभमेन्ट नि हाँक्नुभयो । उहाँको जति अध्ययन छ, यत्रो ठूलो आन्दोलन हाँक्नुभयो, त्यसमा त्यहाँ अलिकति उहाँ फ्लेक्जिबल बन्नुभयो भने मलाई लाग्छ प्रधानमन्त्री बन्ने लाइनमा उपेन्द्र यादवकै नाम आउँथ्यो । तर कहीं न कहीं उहाँ चुक्नुभएको छ ।
तपाईं भन्नुभयो कि म विद्यार्थी कालदेखि राजनीतिमा छु । अहिलेसम्म हेर्दा यो लामो अवधि हो तर मधेशको राजनीतिमा तपाई कतै देखिनु भएको छैन, ओझेलमा पर्नुभएको छ किन त्यस्तो ?
–पढेलेखेको संख्या कम छन् । पढेलेखेको संख्या कम हुने बित्तिकै र घेराबन्दी बढी हुँदो रहेछ र यहाँ के हुँदो रहेछ भनेपछि एक–अर्कालाई मधेसको राजनीतिमा भनौँ, एक–अर्कालाई प्रमोट गर्नेभन्दा एक–अर्कालाई सिध्याउने खेल बढी हुन्छ । त्यसकारण पार्टी टुटफुटको मारमा पनि आएको अवस्था छ । एक–अर्कालाई राम्रो गर्नेलाई अलि प्रोत्साहित गर्ने, त्यो वातावरण पनि छैन ।
आन्तरिक लोकतन्त्र बिना न त समाजवाद हुन सक्छ, न त हामी समानुपातिक समावेशीको परिकल्पना गर्न सक्छौँ र हाम्रो जुन मेन मुद्दा हो संघीयता, त्यसको परिकल्पनाको लागि जुनसुकै पार्टी होस्, परिवार होस्, संस्था होस्,


तपाईको प्रतिक्रिया