काठमाडौँ कात्तिक २४ गते । मधेश मामिलाका जानकार तुलानारायण साहले मधेश प्रदेशमा पछिल्ला दुई दिनदेखि भएका राजनीतिक घटनाक्रमलाई ‘दुर्भाग्यपूर्ण र सुनियोजित षड्यन्त्र’ को उपमा दिनुभएको छ ।
उहाँका अनुसार शनिबारको प्रदेशसभा बैठकदेखि आइतबार बर्दिबासमा भएको घटनासम्म सबै कार्य एकै योजना र सोच अन्तर्गत गरिएको स्पष्ट छ। उहाँले भन्नुभयो, “यी घटनाहरू केवल जनकपुर वा मधेश प्रदेशमा सिमित रहने प्रकृतिका छैनन् । ती कार्यहरूले नेपालको लोकतन्त्र, संघीयता, संसदीय प्रणाली र सामाजिक सद्भावमा गम्भीर र दीर्घकालीन प्रभाव पार्ने निश्चित छ ।”
ृविश्लेषक साहका भनाइमा शनिबार दुई जना प्रदेशसभा सदस्यले देखाएको ‘अस्वाभाविक र रहस्यपूर्ण हर्कत’ नै सोमवारको बर्दिबास नाटकको पूर्वभूमि बनेको हो । उहाँले यी दुबै घटनालाई एउटै स्रोत र दिमागबाट रचिएको दाबी गर्दै भन्नुभयो, “यो समग्र एपिसोड मधेसी राजनीति र सिमान्तकृत समुदायहरूलाई कमजोर बनाउने नियतले रचिएको राजनीतिक षड्यन्त्र हो ।”
विश्लेषक साहले मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीद्वारा एमाले संसदीय दलका नेता सरोज यादवलाई ‘षड्यन्त्रपूर्ण तरिकाले’ मुख्यमन्त्रीको रूपमा शपथ गराइएको भन्दै त्यसको कडा भर्त्सना गर्नुभएको छ । उहाँका अनुसार यस्तो कदमले मधेशको राजनीतिक वातावरण थप अस्थिर बनाउने जोखिम छ।
उहाँले भन्नुभयो, “संघीय सरकारले तत्काल प्रदेश प्रमुखलाई बर्खास्त गरी थप षड्यन्त्रको तानाबाना बुन्ने कार्य रोक्नुपर्छ। अन्यथा, मधेश मात्र होइन, समग्र देशले थप दुर्भाग्यपूर्ण अवस्थाको सामना गर्नुपर्नेछ।”
राजनीतिक प्रतिरोध र कानुनी संघर्ष सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले अदालतमाथिको अन्धविश्वासप्रति पनि चेतावनी दिनुभएको छ । उहाँ शब्दमा, “२०७५ सालमा सरकारले लोकसेवा आयोगमार्फत १० हजारभन्दा बढी सीटमा अन्याय गरेको बेला अदालतले सिमान्तकृत समुदायको पक्षमा होइन, सत्ताधारीको पक्षमा उभिएको थियो। त्यसैले केवल कानुनी उपचारमा भर पर्नु गलत हुनेछ।”
विश्लेषक साहले नागरिकता लगायतका मुद्दामा पनि अदालत र राज्यले बारम्बार सिमान्तकृत समुदायको पक्षमा अन्याय गरेको स्मरण गर्दै भन्नुभयो, “यो स्पष्ट रूपमा राजनीतिक षड्यन्त्र हो, र यसको राजनीतिक प्रतिरोध अपरिहार्य छ। कुरा साफसाफ छ।”
प्रदेश प्रमुख भण्डारीले आज बिहान बर्दिबासको एक होटलमा एमाले नेता सरोज यादवलाई मुख्यमन्त्रीको शपथ गराएपछि मधेश प्रदेशमा उत्पन्न राजनीतिक परिस्थितिका बारेमा तुलानारायण साहको यस्तो प्रतिक्रिया आएको हो।


तपाईको प्रतिक्रिया