Khadya Bibhag

माओवाद र मधेशवाद समाप्त !

नेपालको पछिल्लो राजनीतिक इतिहासलाई बुझ्न माओवादी जनयुद्ध र मधेश आन्दोलन दुई मुख्य स्तम्भ हुन् । नेपालमा संघीयता र गणतन्त्र स्थापनामा मधेशवादी आन्दोलन र माओवादी जुनयुाद्धको योगदान गरेको छ । यी आन्दोलनहरूले मुलुकको संरचना मात्र बदलेनन्, नेपाली समाजको चेतना, अधिकारबोध र राज्य नागरिक सम्बन्धको परिभाषा नै फेरिदिए । माओवादी आन्दोलन बिना गणतन्त्र सम्भव थिएन, मधेश आन्दोलन बिना संघीयता स्थापित हुने थिएन ।
यो तथ्य आज पनि देशको राजनीतिक विकासक्रम अध्ययन गर्ने क्रममा बारम्बार पुष्टि भइरहन्छ । तर इतिहासले बनाएका यी दुई शक्तिशाली धारहरू आज विघटनको मोडमा पुगेका छन् । विचार बाँचिरहे पनि तिनका राजनीतिक वाहकहरू कमजोर र निष्प्रभ बन्दै गएका छन् । यही विरोधाभासले आजको नेपालको राजनीति झनै जटिल र दिशाहीन देखिन थालेको छ ।
दश वर्षे जनयुद्ध माओवादी पार्टीको उर्जा र बल थियो । १७ हजारभन्दा बढी मानिसको ज्यान जाने त्यो रक्तरञ्जित युद्धले प्रचण्ड, बाबुराम भट्टराई, जनार्दन शर्मा लगायत नेताहरूलाई राष्ट्रिय राजनीतिमा स्थापित गरायो । माओवादी शक्तिको उदय केवल सशस्त्र संघर्षका कारण मात्र थिएन; त्यो विद्रोहले समाजका गहिरा वर्गीय असमानता र राज्यका संरचनागत कमजोरीलाई उजागर गरिदियो । जनयुद्धको परिणामस्वरूप संविधान निर्माण, गणतन्त्र, समानुपातिक समावेशीता, संघीयताको आधार तयार भयो । माओवादी विचारधारा त्यसबेला परिवर्तनको मुख्य धारा थियो ।
तर विडम्बना के छ भने, आज माओवादी राजनीतिक संगठन आफ्नो वैचारिक जन्मशक्ति नै गुमाएको छ । आन्दोलनको उर्जा नेतृत्वभित्रै बिखण्डनका कारण क्षय भयो । प्रचण्ड, बाबुराम, जनार्दनजस्ता नेताहरू आ–आफ्नै बाटो लागे, नयाँ दल खोले, पुराना नाम त्यागे । एकताका क्रममा एक भएका दलहरू फेरि छुट्टिँदै गए । माओवादी नाम त बाँचिरहेको छ, तर विचारको धार लोप हुँदै गएको छ । जनयुद्धले जन्माएको राजनीतिक चेतना संगठनात्मक रूपमा टिक्न नसक्दा माओवादी आज इतिहासको शक्तिशाली शक्ति होइन, विगतको एउटा अध्यायझैं मात्र बन्न पुगेको छ ।
ठ्याक्कै यस्तै कथा मधेशवादी दलहरूको पनि छ । मधेश आन्दोलनले देशको शक्ति उन्मुख केन्द्रवादलाई चुनौती दियो । मधेशी नागरिकको पहिचान, समानता र अधिकारका सवाललाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो । मधेश आन्दोलन नभएको भए संघीयता, समावेशी संरचना र गणतन्त्रको रूपरेखा आजको जस्तो बन्न सम्भव थिएन । मधेशी नेताहरू एकपछि अर्को पटक सत्ता–संघर्षमा उक्लिए; उपप्रधानमन्त्री, मन्त्रीदेखि मुख्यमन्त्रीसम्मका महत्वपूर्ण तहमा पुगे । ती उपलब्धिहरू आन्दोलनको शक्ति र जनताबाट आएको दबाबकै परिणाम थिए ।
तर नेतृत्वगतरूपमा हेर्दा मधेश राजनीति पनि माओवादीझैँ बिखण्डन, वैमनस्य र व्यक्तिगत महत्वाकांक्षाको जालोमा फस्यो । उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायत सबैले ‘‘मधेश’’ नामबाट टाढिने निर्णय लिनुभयो । आन्दोलनको जगमा उभिएका दलहरू नाम परिवर्तन र पदव्यवहारको राजनीतिमा सीमित बन्न थाले । मधेश आन्दोलनको ऐतिहासिक महत्व अझै बाँचिरहे पनि त्यसलाई अवधारणात्मक रूपमा जोगाउने राजनीतिक संरचना कमजोर भयो ।
दुवै आन्दोलनले मुलुकलाई ऐतिहासिक रूपान्तरण दिएका छन् । तर आन्दोलनले बनाएको विचार र मूल्यलाई निरन्तरता दिनुपर्ने नेतृत्व आज उदासीन छ । माओवादी र मधेशवादी दलहरूको विघटनले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ, के नेपालमा आन्दोलनहरू केवल राजनीतिक सीढी मात्र हुन्, जसबाट नेतृत्व सत्ता सम्हालेपछि विचारलाई किनारामा फालिदिन्छ ? यदि यस प्रश्नको उत्तर ‘हो’ मा झुक्छ भने नेपालको परिवर्तनकारी आन्दोलनहरू दीर्घकालीन संस्थागत शक्ति बन्न कहिल्यै सक्दैनन् ।
विचार कहिल्यै समाप्त हुँदैन । माओवाद अझै पनि वर्गीय न्यायको दर्शन हो । मधेशवाद अझै पनि पहिचान र समान अधिकारको राजनीतिक आग्रह हो । तर विचारलाई संस्थागत बनाउने संगठन र प्रतिबद्ध नेतृत्व कमजोर हुँदा विचारका विस्तार र प्रभाव दुवै घट्दै जान्छन् । आज आवश्यकता छ, दुवै आन्दोलनले जन्माएको मूल्य र चेतनालाई नयाँ पुस्तासम्म पु¥याउने, तिनको पुनर्पाठ गर्ने, र नयाँ राजनीतिक संस्कृतिमा एकीकृत गर्ने ।
माओवाद र मधेशवाद समाप्त हुँदैछ भन्ने भावना आज धेरैलाई सताइरहेको छ । तर विचारहरू समाप्त हुँदैनन्, केवल नेतृत्व र संगठनहरू कमजोर हुन्छन् । त्यसैले यो क्षण निराशाको मात्र होइन, पुनर्संरचनाको समय पनि हो । यदि इतिहासले दिएको अवसरलाई सही रूपमा उपयोग गरियो भने यी आन्दोलनहरूले निर्माण गरेको परिवर्तन भविष्यमा अझै सुदृढ र जनमुखी बन्न सक्छ । नत्र भने, नेपालले कमाएको इतिहास आफैँ बिर्सँदै जाने दुर्भाग्यपूर्ण चक्र दोहोरिन सक्छ ।

तपाईको प्रतिक्रिया