–विजेता चौधरी
प्रियंका झा मैथिली रङ्गमञ्चकी एक यस्तो सशक्त र उदात्त कलाकार हुनुहुन्छ, जसले मधेशको जल्दोबल्दो मुद्दाहरूलाई हजारौं दर्शकसामु निर्धक्क पस्किनुहुन्छ । नाटक उहाँका लागि दर्शक र समाजसँग सिधा संवाद गर्ने माध्यम हो । दर्शकले नाटकबाट केही न केही ग्रहण गर्दै परिवर्तनको अनुभूति गराउने सक्ने क्षमता भएको प्रियंकाको अभिनयमा जीवन्तता पाइन्छ । १० वर्षको कलिलो उमेरदेखि रङ्गकर्ममा लाग्नुभएका प्रियंकाको यस क्षेत्रमा विशिष्ठ नाम र पहिचान छ ।
तर यो यात्रा उहाँका लागि त्यति सहज थिएन र छैन पनि होइन । उहाँको यात्राका अप्ठ्यारा बुझ्नु भन्दा पहिले मिथिला नाटकको इतिहासको बारेमा चर्चा गर्नु आवश्यक हुन्छ ।
मिथिला नाटकको इतिहास
कुनैबेला नाटकमा महिलालाई भूमिका खेलाउनु प्राय असम्भव नै थियो । यो मनोरञ्जनको एउटा यस्तो साधन हो, यस्तो कर्म हो, जहाँ महिलाहरूले नाटक हेर्नुपनि सिङ्गो समाजका लागि अपमान र लज्जाको विषय मानिन्थ्यो । यस्तोमा मैथिली नाटकमा मैथिल महिला रङ्गकर्मीको कल्पना गर्नु धेरै टाढाको कुरा थियो ।
महिलाको भूमिकामा सधैं पुरुष कलाकारले अभिनय गर्थे । अहिले पनि त्यो चलन कतै कतै कायमै छन् । यहाँसम्म कि ‘रामलीला’ मञ्चन हुँदा सीता र कैकेयीसम्मको भूमिकामा पुरुष कलाकार हुन्थे । यस्तो अवस्था मैथिली नाटकको मात्र नभएर प्राय सबैतिर त्यस्तै थियो । त्यो यस्तो समय थियो जति बेला महिलाहरूलाई घरबाट निस्किन बर्जित थियो ।

मैथिली नाट्य परम्परालाई लोक नाटकको स्तरबाट हेर्नुपर्छ । मिथिलाञ्चलमा मैथिली लोकनाट्य परम्परा ज्योतिरीश्वरभन्दा पहिले कायम भइसकेको थियो, जसको समय सन् १२९४–१३४८ मानिएको छ । यो परम्परालाई परिष्कार गर्दै विद्वानहरूले नाटक लेख्न थाले जुन किर्तनियाँ नाटकको नामले प्रसिद्ध छ ।
मध्यकालका कार्तिक नाच तथा विदापत महत्वपूर्ण रहेको छ । कार्तिक नाचको सुरुवात पाटनका राजा सिद्धिनरसिंह मल्लले गर्नुभएको थियो । जसको समय विसं १६७५ देखि १७७१ सम्म मानिएको छ । भन्नुको अर्थ मिथिलामा मैथिली नाटकको इतिहास शताब्दियौं पुरानो छ ।
भनिन्छ, मिथिलामा लोककलाकारको कमी थिएन । तिनीहरू विभिन्न अवसरमा नाचगान र नाटक प्रदर्शन गर्ने गर्थे । राजदरबारबाट सुरु भएको नाटकलाई बिस्तार गर्दै गाउँगाउँ पुर्याउने संवाहक यिनै लोककलाकारको थियो । सन् १८५३ मा मुम्बईमा स्थापित पारसी नाटक मण्डलीको प्रभाव पनि मिथिलामा देखापर्याे । यहाँका लोक कलाकारहरू देखासिखी नौटंकी गर्न थाले जसमा हिन्दी अथवा भोजपुरी नाटकले विशेष स्थान पाउथ्यो । बीसौं शताब्दीको अन्त्यमा यस्ता नौटंकीले बजार पायो ।
त्यस स्थानमा सलहेश, लोरिक, गोपीचन, जयाविषहर जस्ता लोकनाटक प्रदर्शन हुन थाले । तर यति लामो नाट्य इतिहासमा महिला कलाकारको उपस्थिति भने नगन्य थियो ।
प्रियंका झाको उदय
२०४६ को जनआन्दोलन पश्चात बल्ल मैथिली नाटकको मञ्चमा महिला देखा पर्न थालिन्, त्यो पनि फट्टफुट्ट रूपमा । २०६० को दशकमा महिला रङ्गकर्मीको रूपमा दोस्रो पुस्ताको जर्बजस्त उपस्थिति भयो, जसको प्रमुख नामहरूमध्ये प्रियंका झा एक हुनुहुन्छ ।
उहाँ प्रियंका झासँग हामीले नाट्यकर्ममा लाग्ने प्रेरणा, चुनौति र फरलताबारे कुरा गरेका छौं । आफ्नो समयको एक विद्रोही कलाकार प्रियंकाले रचेको इतिहास आरिसलाग्दो छ । २०४५ मा उहाँको जन्म हुँदा कसैले कल्पना समेत गरेको थिएन होला कि प्रियंका मैथिली रङ्गमञ्चको एक प्रमुख अनुहार बन्नुहुनेछ । उहाँ जन्मिदासम्म महिला कलाकारले रगंमञ्च चढेकै थिएनन् भन्दा फरक पर्दैन । यद्यपि प्रकृतिको योजनालाई मान्ने हो भने एक रंगकर्मीको घरमा जन्म लिनुले पनि प्रियंकालाई रंगकर्मतर्फ डोर्याएको मान्न सकिन्छ ।
धनुषाको औरही गाउँपालिका, परबाहामा आमा देवतादेवी झा र बुवा रमेशरञ्जन झाको सन्तानको रूपमा प्रियंकाको जन्म भयो । उहाँका पिता रमेश रञ्जन एक वरिष्ठ रंगकर्मी हुनुहुन्छ । नाट्य लेखन र अभिनयमा रञ्जनले एक युग निर्माण गर्नुभएको छ भने छोरीलाई उहाँले आफ्नो विरासत सुम्पिनु भयो जसमा प्रियंकाले पनि आफ्नो अभिनयकलाले छोटो समयमै थुप्रै ‘तारा’ जोड्नुभएको छ ।

अभिनयमा आत्मविश्वास
स्नातकसम्मको अध्ययन गर्नुभएका प्रियंका जब रंगमञ्चमा चढ्नुहुन्छ, उहाँको अभिनयमा आत्मविश्वास र गति झल्किन्छ । उहाँको भंगिमाले सहजै मुग्धपार्छ दर्शकलाई । प्रियंका एक सशक्त र उदात्त रंगकर्मी हुनुहुन्छ जसको ‘बोल्ड’ भूमिकाले मिथिला–मधेशका अनेक जड्तालाई नाङ्गेझार पार्न काफी छ । २५ वटाभन्दा बढी नाटकका एक हजार भन्दा बढी शो गरिसक्नु भएका प्रियंकाको सबैभन्दा मन पर्ने नाटक भने ‘सखी’ हो ।
सो नाटक वरिष्ठ रङ्गकर्मी रमेश रञ्जन झाले लेख्नु भएको हो भने घिमिरे युवराजको निर्देशन रहेको छ । सखी, दश वर्षे सशस्त्र द्वन्द्वको विषयमाथि आधारित नाटक हो ।
यतिबेला प्रियंका नाटक प्रदर्शनको तयारीमा व्यस्त हुनुहुन्छ । जनकपुरस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)को नवनिर्मित नाट्यशालाको उद्घाटनको बेला प्रदर्शन हुने ‘छुतहा घैल’ नाटकको प्रर्दशनको तैयारीमा चलिरहेको उहाँ बताउनुहुन्छ ।
आफूले प्रदर्शन गर्ने नाटक र चरित्र चयनमा एकदमै संवेदनशील प्रियंकाका लागि नाटक के हो त भनि जिज्ञासमा उहाँले भन्नुभयो, “प्राणभन्दा प्रिय वस्तु, जसमा जीवन जीउन सकिन्छ ।” उहाँलाई मैथिली नाट्य क्षेत्रमा लाग्ने विचार बुवा रमेश रञ्जनकै प्रेरणा र घरायसी वातावरणले प्राप्त भएको पनि उहाँ बताउँनुहुन्छ । जीवनकै पहिलो नाट्य प्रस्तुति दिँदा प्रियंका १० वर्षका मात्र हुनुहुन्थ्यो ।
आफ्नो पहिलो नाटक बारेको अनुभव साझा गर्दै उहाँ सुनाउँनुहुन्छ, “वरिष्ठ नाटककार महेन्द्र मलंगिया लिखित तथा निर्देशित नाटक ‘ओ खाली मुँह देखै छै’ मा मैले सर्वप्रथम अभिनय गरेकी थिए । यो नाटक २०५५ सालमा मिनापद्वारा प्रस्तुत गरिएको थियो । मेरो उमेर त्यतिबेला १० वर्षको थियो । यो नाटक तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय नाटक महोत्सवमा प्रस्तुत गरिएको थियो ।’
त्यतिबेला उहाँका लागि यी सबै घटनाहरू सपना जस्तै थियो । हुनत प्रियंकाको घरमा विभिन्न नाटक तथा रंगमञ्चको चर्चा हुन्थ्यो । घरमा नाटक र रंगमञ्चको कुरा सुन्दा उहाँको मनमा कौतहलता उत्पन्न हुन्थ्यो । तर उहाँले प्रत्यक्ष आफ्नै आँखाले प्रज्ञाको रङ्गमञ्च हेर्नु र त्यहाँ नाटक गर्नु उहाँको लागि जीवनकोरोमाञ्चक स्मृतिमध्ये एक हो ।

त्यो नाटक मिथिलाको दहेजप्रथाबाट पीडित एउटा परिवारको कथा थियो, जसमा पीडित परिवारको दुरावस्थालाई देखाइएको थियो । मिथिलामा जतिबेला दाइजो लिने अवस्था चरममा थियो । त्यतिबेला यो नाटक प्रर्दशनमा आएको थियो । स्वभाविक रूपमा यसको प्रभाव व्यापक पर्ने नै भयो । यो कुराको अनुभूति प्रियंकाले अनुभूति गर्नुहुन्छ । मधेश दहेज प्रथाले जक्रिएको छ । त्यस विषयमा आफूले नाटक खेलेको थियो त्यसको निकै चर्चा भएको थियो । तर त्यतिबेला आफूले चर्चाको महत्व थाह नभएको बताउँदै प्रियंका भन्नुहुन्छ, ‘‘अहिले बल्ल त्यसको महत्व थाह पाएको छु ।’’
सोही नाटकको क्रममा पहिलो पटक रंगमञ्चका नेपालका वरिष्ठ कलाकार नीर शाहसँग उहाँको भेट भएको थियो । त्यतिबेला नीर शाह प्रज्ञा प्रतिष्ठान नाट्य विभागको प्रमुख हुनुहुन्थ्यो । प्रियंका भन्नुहुन्छ, ‘मेरो बुवाको पनि गुरु महेन्द्र मलंगिया, उहाँलाई म बाबा अर्थात हजुरबुबा सम्वोधन गर्छु, उहाँसँगै मेरो अधिंकाश समय बित्थ्यो । नाटकको विषयमा उहाँले दिनुभएको प्रतिक्रिया त्यति नबुझे पनि सुन्ने र बुझ्ने प्रयत्न गर्थेँ, यसरी मेरो नाट्ययात्राको अरम्भ भएको हो ।”
बुवा नै पहिलो गुरु
उहाँ नाटक क्षेत्रको पहिलो गुरु आफ्नो बुवालाई नै मान्नुहुन्छ । सुरुमा उहाँ कतै कुनै औपचारिक शिक्षा ग्रहण नगरेपछि घरायसी वतावरण तथा बुवाको संगतले नाटक क्षेत्रमा प्रवेश गरेको उहाँ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “अभिनयको क्षेत्रमा औपचारिक शिक्षा दिने त्यस्तो संस्था थिएन त्यतिबेला र अहिले पनि छैन । समान्य रूपमा भन्दा अनौपचारिक सिकाई नै सिकाइको माध्यम हो ।’’ अनौपचारिक शिक्षा आफ्नो बुवा रमेश रञ्जन झा र उहाँका पनि गुरु महेन्द्र मलंगियाबाट लिनु भएको छ । उहाँको यो यात्रामा मिथिला नाट्यकला परिषद् (मिनाप)का अग्रज कलाकारहरुको ठुलो सहयोग रहेको छ । पछि मात्रै गुरुकुल, शिल्पी, मण्डला थिएटरसँग प्रशिक्षण र वर्कशपहरूबाट उहाँले ज्ञान लिनुभएको छ । केही विदेशी नाट्यकर्मीसँगको सहकार्यमा पनि उहाँले अभिनयको बारेमा अनौपचारिक ज्ञान प्राप्त गर्नुभएको छ ।
नाटक लेखन
युवा रङ्गकर्मी प्रियंकालाई नाट्क लेखनमा पनि उत्तिकै रुचि छ । उहाँले ‘कथा नइँ भेटल’ शीर्षकको मौलिक नाटक लेख्नुभएको छ । प्रसिद्ध कथाकार–साहित्यकार डा.राजेन्द्र विमलको कथा ‘झिमनी’को नाट्य रुपान्तरण गरी उहाँले आफ्नै निर्देशनमा मञ्चन समेत गर्नुभएको छ भने यतिबेला नेपाली र मैथिली आधुनिक साहित्यका पिता डा.धीरेन्द्रका कथा ‘हिचुकैत बहैत सेती’को नाट्य रुपान्तरण कार्य पनि गर्नुभएको छ । मैथिली नाटक लेखनमा आएको सुस्ततालाई हेर्ने हो भने रङ्गकर्मी प्रियंकाका यी कार्यलाई उपलब्धीमूलक मान्न सकिन्छ ।
दहेजप्रथा
तपाईंले गर्नुभएको एकल नाटक ‘कथा नइँ भेटल’ बारे मैथिल–मधेशी समाजबाट कस्तो प्रक्रिया पाउनुभयो भनि प्रश्नमा उहाँले प्रतिक्रिया राम्रै पाएको र अहिले पनि पाइरहेको बताउनुभयो । सो नाटकको मञ्चन अझै पनि भइरहेको छ । हालै मात्र उहाँको गाउँ परबाहामा हजारौं दर्शकको बिच नाटक प्रर्दशन भएको थियो । स्वयं कलाकार, लेखक वा निर्देशकले पाउने प्रतिक्रियामा औपचारिक शब्दहरू हुन्छन् । तर वस्तुतः आलोचक, समालोचक वा समीक्षकले दर्शकको मनोभावलाई राम्ररी बुझेर लेख्न सक्थे, जसको नितान्त अभाव रहेको उहाँको अनुभव छ ।
‘कथा नइँ भेटल’ वास्तवमा मिथिलाको एउटी यस्तो बालिकाको कथा हो । जसमा उनको वालविवाह हुन्छ । विवाह पछि दाइजोको लागि उत्पीडन सुरु हुन्छ । उत्पीडन विस्तारै हिंसामा परिणत हुँदै जान्छ र अन्त्यमा बालिकालाई आगो लगाएर जलाएर मारिन्छ । बालपन र बालमनका एउटा सानी बालिका कसरी दाइजोजस्तो सामाजिक विकृतिको शिकार हुन्छे र मृत्युवरण गर्छे । प्रियंका भन्नुहुन्छ, ‘‘वास्तवमा यस्तो नाटकको व्यापक प्रदर्शनको खाँचो छ मधेशमा । यो त्रासदी अवस्था हो । जसको प्रभावमा पूरा दक्षिण एशियाली समाज छ । हिंसाको विभिन्न रूपको भयावहता फरक फरक होला तर नारी जन्मदेखिको उत्पीडनको क्रुररूपको केही चित्रहरू यस नाटकमा ल्याउन खोजिएको हो । जो वास्तवमा हाम्रो समाजको यथार्थ हो ।”
विषयको निर्धारण
प्रियंकाको अनुभवमा नाटकको विषय निर्धारण वा वर्गिकरण गर्नु हुँदैन । समाजिक, सांस्कृतिक र राजनीतिक जटिलताका अनेकौ रुप यहाँ विद्यमान रहेका छन् । यहाँ जेण्डर समस्यादेखि, समाजिक, जातीय र धार्मिक विभेद, राज्यद्वारा गरिएका विभेद जसमाथि पर्याप्त नाटक लेखन र मञ्चनको आवश्यकता छ । खासगरि मधेशी समाजमा कथावस्तुके अभाव नरहेको बताउँदै प्रियंकाले भन्नुभयो, ‘‘हरेक घटनाक्रम तथा समयक्रमले एउटा कथा भनिरहेको हुन्छ, त्यसलाई टिप्न सक्नुपर्छ, त्यो क्षमता भएको रंगकर्मी र नाटककर्मीको आवश्यकता त यहाँ ।’’
वास्तवमा नाट्य प्रस्तुतिले समाजलाई प्रभाव पारिरहेको हुन्छ । तर यतिबेलाका अधिकांश नाटक कि उत्सव–महोत्सवसँग जोडिएका कि दातृ निकायद्वारा प्रप्त सडक नाटकहरू प्रदर्शन भइरहेका छन् । प्रियंका बताउनुहुन्छ, “सकारात्मक वा नाकारात्मक प्रभाव भन्ने हुँदैन । नाटकलाई जादूको छडी पनि मान्नु हुँदैन, यसको प्रभावको मापन पनि गर्न सकिंदैन । तर समग्रमा कलाका जति पनि विधाहरू छन् त्यसमा नाटक सबभन्दा बढी प्रभावकारी रहेको छ ।’’ नाटकमा दर्शकसँग सीधा संवाद गर्न सक्ने क्षमता हुन्छ । स्वभाविक रूपमा दर्शक, नाटकबाट प्रभाव ग्रहण गर्दै परिवर्तनको प्रक्रियामा रहिरहन्छ ।
मिथिलामा नाटकको अवस्था
मिथिला नाटकको अवस्थाप्रति चिन्तित हुनुहुन्छ प्रियंका झा । उहाँ भन्नुहुन्छ, “मिथिला नाटको अवस्था अपेक्षाकृत संतोषजनक छैन तर पनि पहिलेभन्दा केही सुधारिएको चाहिँ पक्कै हो । नाटक प्रर्दशन हुनुलाई उपलब्धीपूर्ण मान्नु पर्छ, तर संसारमा नाटकमा भइरहेको परिवर्तनलाई आत्मसात गर्नु नसक्नु कमजोरी हो ।’’ मैथिली थिएटर यस सन्दर्भमा अलि पछाडि नै रहेको बताउदै उहाँले नाटककर्मीको जिविकोपार्जनको समस्या भइरहेको बताउनुभयो । मिथिला नाट्यकर्मीको लागि जिविकोपार्जनको पनि समस्या छ, भन्दै उहाँले अवस्था हेर्दा निकट भविष्यमा पनि सुधार होला जस्तो आफूलाई नलागेको बताउनुभयो ।
सिनेकर्मीको पहिचान
रङ्गकर्मी प्रियंका झा नाटकसम्म मात्र सिमित नरही नेपाली चलचित्रमा पनि आफ्नो अभिनयको सुन्दर प्रदर्शन गरिसक्नुभएको छ । मैथिली सर्ट फिल्म हुँदै नेपाली चलचित्रसम्मको आफ्नो सिनेयात्रा बारे बताउँदै उहाँ सुनाउनुहुन्छ, “सुरु–सुरुमा मैथिली भाषाकै फिल्म गरेँ, त्यसपछि नेपाली भाषाका पनि केही फिल्म गर्ने अवसर जुर्याे । केही सर्ट फिल्महरू र त्यसपछि फिचर फिल्महरूमा पनि अभिनय गर्ने अवसर पाए ।’ अनुभवका धेरै पाटाहरू हुन्छन् भन्दै उहाँले हरेक पाटालाई साकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । आफै अझै पनि सिकाइकै प्रकृयामा रहेको बताउँदै उहाँले नेपाली चलचित्रमा आफूले व्यावसायिक रूपमा खासै काम गर्न नसकेको हो तर केही फिल्म गरेर आफ्नो अनुभवलाई विस्तार गर्न अवसर पाएको बताउनुभयो ।



तपाईको प्रतिक्रिया