६२ वर्षअघि आएको एउटा फिल्म, जसले भोजपुरी सिनेमालाई जन्म दियो त्यो हो, ‘गंगा मैया तोहे पियरी चढ़ैबो’ । २२ फेब्रुअरी १९६३—पटना स्थित वीणा सिनेमाघर बिहानैदेखि असाधारण भीडले भरिएको थियो । मानिसहरू टोल–गाउँबाट बैलगाडी, ठेला, ट्रयाक्टर चढेर सिनेमाघर पुगेका थिए । कतिपयले टिकट नपाइ सकेर रातभरै हल बाहिर बस्नुपरेको थियो । त्यो दिन उनीहरू कुनै बलिउडका सुपरस्टारको फिल्म हेर्न आएका थिएनन्, न कुनै ठूलै बजेटको फिल्म । उनीहरू भोजपुरी भाषामा बनेको पहिलो फिल्म ‘गंगा मैया तोहे पियरी चढ़ैबो’ हेर्न आएका थिए ।
भोजपुरी क्षेत्रका आम मानिसहरू आफ्नै भाषामा फिल्म हेर्ने सपना देखेको धेरै समय भइसकेको थियो । तर त्यो सपना साकार गर्ने व्यक्ति भए नजीर हुसैन । देशका पहिलो राष्ट्रपति डा. राजेन्द्रप्रसादले उनलाई भोजपुरी भाषामा फिल्म बनाउन हौसला दिएपछि नजीर हुसैनले कथावस्तु खोजे, कलाकार जुटाए र एउटा साहसिक कदम उठाएका थिए । नतीजा यो भयो कि भारतीय क्षेत्रीय सिनेमाको इतिहासमा एउटा नयाँ अध्याय खुल्यो ।
कथा वस्तु र संगित
कुन्दन कुमारद्वारा निर्देशित फिल्म आचार्य शिवपूजन सहायको शोर्ट स्टोरी ‘कहानी का प्लॉट’ मा आधारित थियो । विधवा पुनर्विवाहजस्तो संवेदनशील विषयलाई केन्द्रमा राखेर बनाइएको कथाले तत्कालीन समाजको कडापन र पितृसत्तात्मक संरचनालाई उघारिदियो । कुमकुम, आशिम कुमार र नजीर हुसैनले गरेको अभिनय यथार्थसँग नजिक थियो । तर फिल्मलाई अमर बनाउने शक्ति कथामा मात्र थिएन त्यसमा लता मंगेशकर र मोहम्मद रफीद्वारा गाइएका गीतहरू पनि थिए । भारत बिहार, यूपीका गलीगलीदेखि कोलकाता तथा नेपालको सीमावर्ती क्षेत्रमा पनि यसको गीत संगित गुञ्जियो ।
फिल्मले भारको विहारमा मात्र होइन, बंगालीहरुको बाहुल्य रहेको कोलकातामा पनि सिल्भर जुबिली मनायो । भोजपुरी भाषाको एउटा फिल्मका लागि यो आफूमा ऐतिहासिक उपलब्धि थियो । पहिलो भोजपुरी फिल्म अवार्ड समारोहमा फिल्मले बेस्ट फिल्म, बेस्ट एक्ट्रेस, बेस्ट सपोर्टिङ एक्टर, बेस्ट लिरिक्स, बेस्ट स्टोरीदेखि बेस्ट मेल प्लेब्याकसम्म लगभग सबै पुरस्कार जितेको थियो ।
ग्रामीण समाजको कथा
फिल्मले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको थियो, ‘किन समाज एक युवतीसँग यति कठोर हुन्छ जब उसको जिन्दगी परिस्थितिले विधवा बनाउँछ ?’ कथामा सुमित्राले भोगेको कठिनाइ, समाजको अवहेलना, र अन्ततः प्रेमले दिएको आश्रयले दर्शकको मन छुयो । फिल्मले मानिसहरूलाई आफ्नो समाजको कठोरता प्रतिबिम्बित गर्न बाध्य बनाएको थियो ।
आज भोजपुरी फिल्मी उद्योग व्यावसायिक प्रतिस्पर्धा, ग्ल्यामर र अश्लिलताको विवादमा फँसिरहेको बेला ‘गंगा मैया तोहे पियरी चढ़ैबो’ अझै पनि सामाजिक उद्देश्य, संस्कारलाई जिवित राखेको छ । यो फिल्म आधुनिक भोजपुरी सिनेमा भित्र एउटा ‘आत्मा’ जस्तै छ । जसले उद्योगलाई जन्म दियो, मार्गदर्शन ग¥यो र अब इतिहासको अभिन्न हिस्सा बनिसकेको छ ।


तपाईको प्रतिक्रिया