Khadya Bibhag

पद्मशम्शेरसँग अधिकार माग्न जाँदा घर निकालामा परेकी मंगलादेवी

अधिकार मागेर होइन खोसेर लिनुपर्छ ,यो परिपाटी बसाल्न योगदान दिनुभएको मंगलादेवी सिंहलाई सम्झन चाहन्छौं । नेपाली क्रान्तिका यस्तो महिला जसले महिलाको लागि आफ्नो घरबार छाड्नुभयो, त्यही क्रान्तकारी महिला मंगलादेवीको मंसिर २५ गते उहाँको १०१ औं जन्मजयन्ती छ । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंह नेपाली महिला आन्दोलनकी एक अद्वितीय क्रान्तिकारी व्यक्तित्व हुनुहुन्छ । उहाँकै एजेण्डा र योगदानको प्रभावले धेरै महिलाहरु राजनीतिमा होमिन पाउनु भएको छ । मतदान गर्न पाउनु भएको छ, पढ्न पाउनु भएको छ, सार्वजनिक रुपमा हिडडुल गर्न पाउनु भएको छ । उहाँको जीवन केवल एक राजनीतिक नेतृको कथा होइन, उहाँ राणाशासन, पितृसत्ता र सामाजिक विभेदविरुद्धको साहसिक संघर्षको जीवित इतिहास पनि हो ।

वि.सं. १९८१ मंसिर २५ गतेमा काठमाडौंमा जन्मिनु भएका मंगलादेवी सिंहको जीवन सानै उमेरदेखि आँधी–हुरीसँग जुध्दै अघि बढ्यो । वि.सं. १९९७ असारमा उहाँले गणेशमान सिंहसँग विवाह गर्नुभयो । विवाहको चार महिना पनि बित्न नपाउँदै उहाँका पति ‘गाथगादी ताकेको र सल्तनत भाँड्ने अपराध’ को अभियोगमा राणाशासकद्वारा पक्राउ पर्नुभयो ।

राजनीतिमा मंगलादेवी
उहाँलाई अमानवीय यातना दिइयो र मृत्युदण्डको भय दिएर राख्यो । त्यो पीडा, मानसिक यातना र असहज परिस्थिति कुनै साधारण नेपाली महिलाले भोग्नुपर्ने अवस्था थिएन । यही पीडाले उहाँको चेतनामा क्रान्तिको बीउ रोप्यो । गणेशमान सिंह प्रजापरिषद् काण्डमा जन्मकैद भएपछि मंगलादेवी झन् सक्रिय रूपमा राणाशासनविरोधी आन्दोलनमा होमिनुभयो । उहाँले पतिको विद्रोहलाई आफ्नो जीवनको उद्देश्य बनाउनुभयो । उहाँले भोगेको निजी पीडा राजनीतिक संघर्षको ऊर्जा बन्यो ।


यही संघर्षको अनुभव उहाँले आफ्नो संस्मरणात्मक कृति ‘नारी संघर्षका पाइलाहरू’मा जीवन्त रूपमा उतार्नुभएको छ । जुन आज पनि नेपालको महिला आन्दोलनको ऐतिहासिक दस्तावेजका रूपमा स्थापित छ । मंगलादेवीको त्यो पुस्तालकलाई राजनीतिक गर्ने महिलाहरुले धार्मिक ग्रन्थ जस्तै मान्छन् ।

मंगलादेवीको व्यक्तित्वको अर्को मौलिक विशेषता भनेको अडानप्रतिको असाधारण दृढता थियो । उहाँले एकपटक ठानेको कुरा पूरा नगरी कहिल्यै विश्राम लिनुभएन । आत्मविश्वास, उच्च मनोबल र निर्भीकता उहाँको जीवनको अभिन्न अंश थियो । जहाँ अन्य महिलाहरू सामाजिक दबाब र त्रासमा मौन बस्थे, त्यहाँ मंगलादेवी निर्भीक रूपमा आफ्नो कुरा राख्नु हुन्थ्यो, सत्यका लागि जहिले उहाँ अवाज उठाउनु हुन्थ्यो । जीवनको अन्तिम घडीसम्म पनि उहाँको यो स्वभाव परिवर्तन भएन ।

प्रजा पञ्चायतको सदस्यता
राणाशासनको कठोर समयमै उहाँले आफ्ना श्रीमानको सपना पूरा गर्न घरपरिवार छल्दै प्रजा पञ्चायतको सदस्यता ग्रहण गर्नुभएको थियो । प्रजा पञ्चायतको बैठकहरुमा परिवारबाट लुकिछिपी जानुहुन्थ्यो । विश्वेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा बसेको सो पञ्चायतका बैठकहरूमा उहाँले पाँचमध्ये चार बैठकमा नियमित उपस्थिति रहनुभयो । ती बैठकहरूमा राजनीतिक, सामाजिक थुप्रै विषयमा बहस भए, तर महिलाका मुद्दा एकपटक पनि प्रवेश पाएनन् । त्यसलाई निकै चित्त दुखेको थियो । अब आफै केही गर्नुपर्छ भनि उहाँ महिलालाई संगठित गर्न तिर लाग्नुभयो ।

मंगलादेवी सिंह महिला अधिकारमा एकोहोरो जडसूत्रवादी मान्यता विपरीत हुनुहुन्थ्यो । महिला अधिकार र स्वतन्त्रता पाउनु पर्छ भन्ने आवाज उठाउनुको अर्थ गृहस्थी भाँड्ने अवस्था निम्त्याउनु होइन भनि उहाँले भन्नुहुन्थ्यो । कर्तव्यसँगको अधिकार मात्र फलदायी हुन्छ, कर्तव्यविनाको अधिकार अराजकतावादी हुन्छ भनि उहाँको बुझाई थियो । उहाँले अधिकारले मानिसलाई शक्तिशाली बनाउँछ तर कर्तव्यले मानिसलाई महान् बनाउने गरेको बताउनु हुन्थ्यो ।

सामाजिक जागरण र राजनीतिक चेतनाको विकासमा मंगलादेवीले महत्वपूर्ण योगदान गर्नुभएको छ । लोकतान्त्रिक आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका छ । भोट हाल्ने अधिकार र स्कुल जान पाउने अधिकार उहाँकै देन हो । राजनीतिमा मात्र नभएर समाज परिवतर्वनका लागि पनि मंगलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको भनि धेरैले अहिले पनि स्मरण गरेका हुन्छन् ।

महिला संघ गठन
त्यसले गर्दा उहाँलाई मनमा निकै चोट लाग्यो । त्यसपछि उहाँ निष्कर्षमा पुग्नुभयो कि अब महिलाहरूले आफ्नै संस्था खोलेर आफ्नै अधिकारका लागि लड्नुपर्छ । यसै सोचको परिणामस्वरूप वि.सं. २००४ सालमा म्हेपीमा आयोजना गरिएको वनभोज कार्यक्रममा मंगलादेवीले महिला संघ खोल्ने प्रस्ताव राख्नुभयो । उहाँको प्रस्तावमा प्रेमलता कंसकार, श्रीमाया, नानु प्रधान, प्रमिता कर्माचार्य, हरिदेवी श्रेष्ठ, सरोजनी मानन्धर, गुलबदन ताम्राकार, भानुदेवी, हिरादेवी तुलाधर, मिठुदेवीलगायत २१ जना महिलाले ऐक्यबद्ध जनाउनु भएको थियो । यही भेला नेपालको इतिहासमा महिलाका मुद्दामा महिलाहरूले नै संगठित रूपमा आवाज उठाएको पहिलो ऐतिहासिक क्षण बन्यो ।

त्यही भेलाले तत्कालीन श्री ३ पद्मशमशेर कहाँ महिलाका अधिकारका माग लिएर प्रतिनिधिमण्डल पठाउने निर्णय ग¥यो । महिलालाई पढ्ने अधिकार सुनिश्चित गर्नुपर्ने, नगरपालिकाको निर्वाचनमा महिलालाई पनि मताधिकार दिनुपर्ने माग उहाँहरूले अघि सार्नुभयो । वि.सं. २००४ साल साउन १६ गते भेडासिंहस्थित चिनियाँलालको घरमा बसेको बैठकले औपचारिक रूपमा नेपाल महिला संघ स्थापना गर्ने तथा मंगलादेवी सिंहलाई अध्यक्ष चयन गर्ने निर्णय ग¥यो । यसरी उहाँ आजीवन महिला संघको अध्यक्ष रहनुभयो ।

पद्मशम्शेरसँग फेस टु फेस
पद्मशमशेरको विशालनगर निवासमा महिलाहरूको प्रतिनिधिमण्डल पुगेको घटना नेपाली महिला आन्दोलनको सबैभन्दा साहसिक अध्याय हो । दरबारका ढोके, पाले, डिठ्ठा र अधिकृतहरूसँग “हामी अधिकार माग्न आएका हौं” भन्ने निर्भिक उत्तर दिँदै मंगलादेवी अन्य महिलाको साथमा दरबारमा पस्नुभएको थियो । आफ्नै बडाकाजी ससुराले यी यस्ता महिलाहरुले कता कता हिडेकी छस्, यिनीहरुको त इज्जत मान सम्मान छैन तेरो त छ नि ‘इज्जतमा बस’ भनेर सम्झाउँदा उहाँले निर्भिक रूपमा भन्नुभएको थियो, “सबैको इज्जत हुन्छ, यी महिलाहरू पनि सम्मानित छन्, हामी अधिकार माग्न आएका हौं ।” यो आवाज केवल स्वाभिमानको घोषणा मात्र थिएन, त्यो नेपाली महिलाको आत्मसम्मानको ऐतिहासिक उद्घोष थियो ।

पद्मशमशेरसँगको भेटमा कार्यकक्षमा त्यहाँ गएका सबै महिलालाई बस्न भनिएको थियो । तर उहाँहरुले आफू बस्न आएको होइन, अधिकार माग्न आएको हौैं भनि उभेर नै सबै कुरा भन्नुभएको थियो । पद्शम्शेरले सोध्नुभएको थियो, ‘के भन्न आयौ तिमीहरु ?’ मंगलादेवीले भन्नुभयो, ‘नगरपालिकाको चुनाव हुन लागेको छ । हामी महिलाहरुलाई पनि भोट दिने अधिकार दिइनुपर्छ भन्न आएका सरकार !’

फेरि पद्मशम्शेरले सोध्नुभयो, ‘चुनाव हुने भनेर कसले भन्यो ?’ ‘हामीले मानिसहरुबाट सुनेका हौँ, भनि मंगलादेवीहरुको जवाफ थियो । ‘महिलाहरुले भोट दिने अधिकार कहाँ छ ?’ पद्मशम्शेरको सवालमा मंगलादेवीले भन्नुभएको थियो, ‘सबैतिर नहोला । जहाँजहाँ अधिकार दिइएको छ, ती समाजहरुमा महिलाहरुको स्थिति राम्रो छ । जनता खुशी छन् ।’ ‘अरु केही छ ? भनि पद्मशम्शेरको जवाफमा मंगलादेवीहरु ‘महिलाहरुलाई पनि स्कूलमा पढ्न जाने व्यवस्था हुनु पर्दछ सरकार !’ माग राख्नुभएको थियो ।

पद्मशम्शेरको जिज्ञासा थियो, ‘स्कूल खोले पनि कस्ले पढ्छ ?’ ‘स्कूल मात्र खोलियोस् पढ्ने महिलाहरुको खाँचो हुँदैन । आफ्नो नामबाट खोलियोस् सरकार । सरकारको नाम रहने, हामीले पनि पढ्न पाउने, भनि जवाफ मंगलादेवीले दिनुभएको थियो । ‘ल अहिले जाओ । भोट दिने अधिकार पाउँछौ । स्कूलको कुरो पनि राम्रो छ । म विचार गर्छु ।’ भनेर पद्मशम्शेरले उहाँहरुलाई पठाउनु भएको थियो ।

केही दिनपछि पद्मशम्शेरले आफ्नो जग्गामा डिल्लीबजारस्थित आफ्नो जग्गामा पद्मकन्या विद्यालय स्थापना गर्नुभयो । निर्वाचनमा महिलाले पनि मतदान गर्न पाउने भनि त्यही दिन पद्मशम्शेरबाट हुकुम भएको थियो । तर नगरपालिकाको चुनाव नै भएन । तत्काल त्यो हुकुम कार्यान्वयनमा आएन त्यसपछि पद्मशम्शेर प्रधानमन्त्रीबाट नै हट्नु भएको थियो । तर वि.सं. २००४ सालमै वैधानिक कानुन जारी भई महिलालाई मताधिकार प्रदान गरियो, जुन तत्कालीन समाजका लागि क्रान्तिकारी उपलब्धि थियो ।

घर निकाला
पद्मशम्शेरलाई भेटेर निस्केपछि मंगलादेवका ससुराबुवाले घर नजानु भनि आफ्ना ड्राभइरबाट खबर पठाउनुभएको थियो । उहाँका ससुर बा राणा दरबारमै कार्यरत हुनुहुन्थ्यो । पद्मशम्शेरलाई भेट्न जाँदा मंगलादेवीका ससुरा त्यही हुनुहुन्थ्यो । मंगलादेवीले महिलाको समूहले लिएर दरवारभित्र देखाएको शैली र ठाडो बोली उहाँलाई मन परेको थिएन । मंगलादेवीलाई त्यहीँ सोध्नुभएको थियो किन आउनु भएको भनि सोध्दा सिधै जवाफ दिनुभएको थियो, ‘अधिकार लिन आएकी ।’

यी सब कुराले उहाँको ससुरा बालाई चित्त बुझेको थिएन र घर नजान भनि खबर पठाउनु भएको थियो । त्यसपछि उहाँ आफ्नो माइती जानुभयो । माइतीमा गएर आफू घरबाट निकालिएको सबै कुरा त्यहाँ सुनाउनु भएको थियो । त्यही दिन मंगलादेवीका ससुरा बाले दुई जना नोकर पठाएर काठमाडौँमै रहेको किलागलमा बस्न भन्नुभएको थियो ।
त्यसपछि मंगलादेवी आफ्नो माइती छाडेर किलागलस्थित घरमा गएर बस्न थाल्नुभयो । त्यहाँ नजरबन्द जस्तै थियो । केही दिनपछि त्यो घरमा सासु आमा, बुढी सासुलगायतलाई त्यही पठाई दियो ।

उहाँहरुले पनि आफू घर निकाला पर्नुमा मंगलादेवीलाई दोष दिनुभएको थियो । सासुहरु आएपछि मंगलादेवीलाई झन हाइसन्चो भयो । उहाँ मज्जाले त्यहाँबाट निस्कन पाउनुभयो । बाहिर जाँदा मंगलादेवी सासुलाई भनेर जानुहुन्थ्यो तर केका लागि जानु हुन्थ्यो भन्नुहुन्थे । उहाँ प्रजा पञ्चायतमा लागि सक्नुभएको थियो । कहिले काही नेता तथा कार्यकर्ताहरु त्यही भेट्न जानुहुन्थ्यो ।

महिलालाई राजनीति चेतना
जुनबेला क्रुर निरकुंशताको जञ्जिर थियो त्यसलाई तोड्न मुलुकमा प्रजातन्त्रको आवश्यकता थियो, महिला दास, श्रम–शोषण र दमनभित्र थिए । उनीहरूलाई राजनीतिक चेतनासहितको मुक्ति र जागरण दिनुपर्ने थियो, यी दुवै काममा सफल मंगलादेवी सफल हुनुभएको हो । कम्युनिष्ट र कांग्रेस केही नभनि मंगलादेवी, साहाना प्रधान लगायत महिला सहभागी सो महिला संघले महिला सशक्तिकरण मात्र नभएर राजनीतिक सुत्रधारकै काम गर्नुभएको थियो ।

मंगलादेवी लगायतकै संघर्षको प्रतिफल स्वरूरूप २०१० सालमा पहिलो पटक महिलाले चुनाव लडेको र भोट हाल्न पाएका थिए । यदि उहाँहरुले त्यो थिति नबसालेको भए नेपालको राजनीतिमा महिलाको उपस्थिति हुने थिएन । त्यतिबेला महिलाहरूको एउटै आवाज भएपनि उनीहरुको जनसंख्या र राजनीतिक चेतना निकै कम थियो । तर महिलाहरू बिच राम्रो एकता थियो । महिला संघ सबैको साझा थलो थियो । को काँग्रेस, को कम्युनिष्ट केही छुट्याएको थिएन । त्यतिबेला सबै दल तथा समूहका महिलाहरु एक साथ लडि रहेका थिए ।

तर अहिले महिला मुद्दामा महिला नै एकजुट हुन नसकेको गुनासो भइरहेको छ । २००७ सालपछि राजनीतिक चेतना बढ्दै जाँदा महिलाहरुको बिचमा राजनीति खेल भयो । विभिन्न राजनीतिक दलमा महिलालाई बाँड्ने काम भयो । यसरी दलगत रुपमा छुट्टिँदा महिला राजनीतिक दलका कठपुतली भएको गुनासो भइरहेको छ । महिलालाई जति अधिकार दिइन्छ त्यति लिने, नभए चुपचाप बस्ने । महिलामाथि दमन हुँदा पनि दलले जे भन्छन् त्यही एजेण्डा बोक्ने, जसले महिलाको आवाज ओझेल प¥यो र अधिकार सेलाएको महिलाकै बिचमा गुनासो भइरहेको छ ।

पार्टीका अध्यक्ष तथा नेतृत्वको आसेपासे भएर केही पद तथा अधिकार पाए पनि असलमा महिलाको अधिकार प्राप्त हुन सकेको छैन । जहाँ पनि जुन क्षेत्रमा पनि महिलामाथि हिंसा भइरहेकै छन्, तर त्यसको विरुद्धमा सशक्त र एकीकृत आवाज उठ्ने कोही देखिएको छैन । अहिले कोही पनि मंगलादेवी सिंह हुन चाहेका छैनन् ।

अहिलेका सबै राजनीतिक दलले महिलाका सवाललाई राष्ट्रिय सवाल बनाउन नसकेको महिलाहरुले नै गुनासो गरिरहेका छन् । महिलाको सवालका लागि एउटै मोर्चामा मंगलादेवी सिंह जसरी कोही उभिन चाहेका छैनन् । महिलाका सवाल ओझेलमा पर्यो । महिलाको एजेण्डा राजनीतिक दलका एजेण्डामा मात्र सिमित रहेको छ । काँग्रेसकै नेतृहरु भन्नुहुन्छ, ‘राजनीतिमा महिला सशक्तिकरण भन्ने मंगलादेवीको सपना अधुरै छ ।’

जेल जीवन
वि.सं. २००७ सालको फागुन ७ गते प्रजातन्त्र स्थापना हुँदा त्यसमा महिला संघ र मंगलादेवी सिंहको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको नेपाली राजनीति इतिहासमा पाइन्छ । प्रजातन्त्र आएपछि वि.सं. २००८ साल साउन २७ गते काठमाडौंको भूगोलपार्कमा महिलाहरूको बृहत भेला आयोजना गरी महिला संघलाई औपचारिक वैधानिकता दिइयो । त्यसपछि पनि उहाँको संघर्ष रोकिएको थिएन । वि.सं. २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि उहाँले विरोध गर्दा पक्राउ परी पाँच वर्ष जेल जीवन बिताउनुभयो । वि.सं. २०२५ सालपछि आठ वर्ष उहाँ प्रवासमा जीवन पनि बिताउनुभयो ।


वि.सं. २०४२ सालको सत्याग्रहदेखि २०४६ सालको जनआन्दोलनसम्म उहाँ निरन्तर सडकमा रहिनुभयो । प्रजातन्त्र पुनःस्थापना भइसक्दा पनि महिलाको सम्पत्तिमा समान हक नपाएको भन्दै उहाँले आवाज उठाइरनुभयो । वि.सं. २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भए पनि राजनीतिक यात्राबाट कहिल्यै हार्नुभएन ।
मंगलादेवी सिंहले नेपाली कांग्रेसमा आबध्द भएर कांग्रेसले चलाएका सबै आन्दोलनहरूमा सक्रिय रहिनु भयो । २००७ सालको सशस्त्र क्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालका जनआन्दोलनहरूमा उहाँ सक्रिय रहनु भयो । मंगलादेवीले पछि परेका महिलालाई अघि बढाउन आरक्षणको व्यवस्था हुनुपर्छ भनेर निरन्तर पार्टीभित्र पनि संघर्ष गरिरहनु भयो ।

सोहीअनुसार अहिले नेपाली कांग्रेसको विधान र मुलुकको संविधानमा समेत यसको व्यवस्था भएको छ । सम्पत्तिमा महिला अधिकारको विषय मंगलादेवीले अर्को अघि बढाएको विषय थियो । त्यसैगरी आमाको नामबाट नागरिकता पाउनु पर्छ भन्ने पनि उहाँको माग थियो । उहाँले महिलालाई उसको अधिकार तथा कानुनको बारेमा जानकारी दिन ठाउँ ठाउँमा प्रशिक्षण कार्यक्रम चलाउनु हुन्थ्यो । त्यति मात्र होइन, महिलाको स्वास्थ्यका लागि ठाउँ ठाउँमा स्वास्थ्य शिविर चलाउनु हुन्थ्यो भने शिक्षाका लागि प्रौढकक्षा सञ्चालन गर्ने काम पनि उहाँले गर्नुभयो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सधैँ अग्रभागमा रहेर लड्नु भएको मंगलादेवी सिंह २०४६ सालको आन्दोलन सफल भएपछि महिला अधिकारका लागि अझ धेरै काम गर्न सकिन्छ भन्ने सोच बनाउनु भएको थियो । २०४७ सालमा संविधान बनेपछि २०४८ सालमा देशभर चुनाव हुने भयो । तर उहाँ चुनाव हार्नुभयो । चुनाव जितेपछि संसदमा गएर कानुनी रुपमा महिलाका लागि धेरै गर्न सकिन्छ भनि सोच उहाँले बनाउनुभएको थियो तर उहाँ चुनाव हार्नुभयो र महिलाका लागि नीतिगत तहमा केही गर्न उहाँले सक्नुभएन । चुनाव हारेपनि उहाँ राजनीति रुपमा हार्नुभएको थिएन । महिलाको अधिकारका लागि अभियानहरु चलाइ रहनुभयो ।

मंगलादेवीको निधन
अन्ततः नेपाली महिला आन्दोलनकी यो अग्रदूत योद्धा मंगलादेवी सिंहको वि.सं. २०५३ साल भदौ १० गते निधन भयो । तर उहाँको देहावसानसँगै उहाँको विचार, साहस र संघर्ष समाप्त भएको छैन । आज नेपालमा महिलाले भोट हाल्न पाउने अधिकार, पढ्न पाउने स्वतन्त्रता, संगठित हुने अवसर र राजनीतिक नेतृत्वमा पुग्ने बाटो जुनसुकै रूपमा खुलेको छ, त्यसको ऐतिहासिक आधारशिला मंगलादेवी सिंहकै साहसिक कदमहरूले बनाएको हो । मंगलादेवी सिंह केवल गणेशमान सिंहकी पत्नीका रूपमा मात्र होइन, नेपाली महिला आन्दोलनकी अग्रज क्रान्तिकारी नेतृ, निर्भीक योध्दा र इतिहास रच्ने असाधारण नारीका रूपमा सधैं स्मरणीय रहनुहुन्छ ।
(विभिन्न सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

तपाईको प्रतिक्रिया