जनप्रतिनिधि शर्मिला रामको सामाजिक संघर्ष

नेपालको मधेश प्रदेश अन्तर्गत पर्ने सर्लाही जिल्ला ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक रूपमा निकै उर्वर भूमि मानिन्छ । यसै जिल्लाको बरहथवा नगरपालिका वडा नं. १० की निर्वाचित वडाअध्यक्ष शर्मिलादेवी राम वर्तमान समयमा नेपाली राजनीति र सामाजिक रूपान्तरणको क्षेत्रमा एउटा बलियो र आशालाग्दो नाम बन्न सफल हुनुभएको छ । हाल ३४ वर्ष पुग्नुभएका शर्मिलाको जन्म र हुर्काइ मधेशी समुदायको एक दलित समुदायको मध्यमवर्गीय परिवारमा भएको छ ।

मधेशी समाजमा दलित त्यसमा पनि महिलामाथि हुने उत्पीडन, सामाजिक असमानता र विभेद निकै चरम रूपमा रहेको परिवेशमा शर्मिलाको जन्म भएको थियो । यस्तो विषम परिस्थितिमा पनि उहाँले आफूलाई समाजको अग्रपंक्तिमा उभ्याउन सफल हुनुभएको छ । उहाँको जीवनको प्रारम्भिक कालखण्ड निकै उतारचढाव र संघर्षपूर्ण रह्यो, जसले उहाँलाई भोलिका दिनमा दृढ र साहसी नेतृत्वकर्ता बन्न जग बसाल्यो ।

बुबाको प्रेरणा
शर्मिलाको सामाजिक र राजनीतिक चेतनाको जरा उहाँको पारिवारिक पृष्ठभूमि र विशेषगरी उहाँका स्वर्गीय बुबा रामआश्रय रामसँग जोडिएको छ । बुबा रामआश्रय राम तत्कालीन नेकपा एमालेका स्थानीय प्रतिबद्ध कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ गाउँमा केवल एक राजनीतिक कर्मी मात्र नभएर दलित, उत्पीडित र भूमिहीन समुदायका प्रखर अगुवा नेतासमेत हुनुहुन्थ्यो । समाजमा वर्गीय तथा जातीय विभेदविरुद्ध आवाज उठाउने क्रममा उहाँले ठुलो योगदान पु¥याउनुभएको थियो ।

तर, शर्मिला मात्र ५ वर्षको कलिलो उमेरमा छँदा उहाँको परिवारमा एउटा अपूरणीय क्षति पुग्यो । जनकपुरमा आयोजित एक राजनीतिक आन्दोलन तथा विरोध प्रदर्शनमा सहभागी हुन जाने क्रममा बुबा रामआश्रय राम चढेको सवारी दुर्घटनामा प¥यो र उहाँको असामयिक निधन भयो । ५ वर्षकै उमेरमा बुबाको छत्रछायाँ गुमाउनु परेपछि शर्मिलाको बाल्यकालमा एउटा ठूलो रिक्तता छायो । तथापि, बुबाको मृत्यु पश्चात् पनि गाउँ–समाजमा उहाँले छाडेर जानुभएको सकारात्मक छाप, निष्ठा र योगदानको चर्चा सधैं भइरहन्थ्यो । परिवारकी कान्छी छोरी भएकी हुनाले शर्मिलालाई सबैले माया गर्थे । बुबाले समाज रूपान्तरणका लागि देखेका अधुरा सपनाहरूको कथा सुन्दै उहाँ हुर्कन थाल्नुभएको थियो । बुबाको सामाजिक र राजनीतिक विरासतलाई जीवित राख्नुपर्छ र उहाँको बाँकी रहेका कामहरू पूरा गर्नुपर्छ भन्ने सोच शर्मिलाको मनमा सानै उमेरदेखि गहिरोसँग गढ्यो ।

उहाँ भन्नुहुन्छ, “बुबाको राजनीतिक प्रेरणाले नै म समाज रूपान्तरणको मार्गमा लागेकी हुँ । बुबाको तीव्र चाहना थियो कि हाम्रो समाजमा कुनै पनि प्रकारको जातीय विभेद नरहोस्, विकास र समृद्धिको लहर आओस्, र कोही पनि भोको वा अशिक्षित बस्न नपरोस् । बुबाको त्यही अधुरो सपना पूरा गर्ने दृढ उद्देश्यले मैले राजनीति र समाजसेवाको बाटो रोजेँ, जसमा पछि मेरो घरपरिवारले पनि निकै जोडबल र सहयोग ग¥यो ।’’

शर्मिलाको माइती परिवार शैक्षिक र चेतनाका हिसाबले राम्रो मानिन्छ । उहाँका दाजु भुपेन्द्र विज्ञान विषयका शिक्षक हुनुहुन्छ, जसले समाजमा शिक्षाको महत्वलाई राम्रोसँग बुझ्नुभएको छ र शर्मिलालाई सधैं मार्गनिर्देशन गर्नुहुन्छ । त्यसैगरी, उहाँकी दिदी निर्मला मिथिला कलाको क्षेत्रमा सक्रिय हुनुहुन्छ, जसले मधेशको मौलिक संस्कृति र कलाको जगेर्नामा योगदान दिँदै आउनुभएको छ । यसरी एउटा वैचारिक, राजनीतिक र शैक्षिक रूपमा सचेत माइती परिवारमा हुर्केका कारण शर्मिलामा नेतृत्वको प्राथमिक गुणहरू बाल्यकालमै विकास भएका थिए ।

बाल्यविवाह जीवनको नयाँ मोड
मधेशी समाजमा लामो समयदेखि जड गाडेर बसेको बाल्यविवाहको कुप्रथाबाट शर्मिला पनि उम्कन सक्नुभएन । उहाँ मात्र १३ वर्षको कलिलो उमेरमा हुँदा, अर्थात् खेलकुद गर्ने र पढ्ने उमेरमा, उहाँको विवाह रामनरेश रामसँग भयो । सामान्यतया, मधेशको ग्रामीण परिवेशमा १३ वर्षको उमेरमा विवाह भएकी दलित बालिकाको जीवन घरको चौघेरा, भान्सा, कृषि कार्य र सन्तान उत्पादनमै सीमित हुने गर्दछ । धेरैजसो महिलाहरूको शिक्षा र भविष्यको सपना विवाहसँगै समाप्त हुने गर्दछ । तर, शर्मिलाको जीवनको कथा भने यहाँबाट फरक मोडतर्फ अघि बढ्यो ।


शर्मिलाका श्रीमान् रामनरेश राम एक शिक्षित र दूरदर्शी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले शर्मिलाको क्षमता, उहाँभित्र रहेको सामाजिक चेतना र पढ्ने इच्छालाई राम्रोसँग बुझ्नुभयो । विवाहपछि धेरैजसो परिवारले बुहारीलाई बाहिर निस्कन प्रतिबन्ध लगाउने समयमा रामनरेशले आफ्नी श्रीमतीलाई पढाइलाई निरन्तरता दिन पूर्ण रूपमा जोडबल र प्रोत्साहन गर्नुभयो । श्रीमान्को यही अतुलनीय सहयोग र उत्प्रेरणाका कारण शर्मिलाले विवाहपछिको पारिवारिक जिम्मेवारी सम्हाल्दै अध्ययनलाई अगाडि बढाउनुभयो ।

फलस्वरूप, उहाँले २०६५ सालमा सफलतापूर्वक एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । एउटा बालवधूका रूपमा भित्रिएकी छोरीले विवाहपछि एसएलसी उत्तीर्ण गर्नु त्यो समयको समाजका लागि एउटा उदाहरणीय र क्रान्तिकारी कदम थियो । शर्मिलाका श्रीमान् रामनरेश राम आफैं पनि निकै मिहिनेती हुनुहुन्छ । उहाँले निजामती सेवा (सरकारी जागिर) मा खरिदार पदबाट प्रवेश गरी आफ्नो कार्यक्षमता र योग्यता बढाउँदै हाल मलंगवा नगरपालिकामा शाखा अधिकृतको रूपमा जिम्मेवारीपूर्वक काम गरिरहनुभएको छ ।

शर्मिला र रामनरेशका हाल दुई सन्तान छन्— १५ वर्षकी छोरी अनमिका र १३ वर्षका छोरा अनाम । उनीहरू दुवै जना स्थानीय विद्यालयमा अध्ययनरत छन् । शर्मिलाको परिवार एक संयुक्त परिवार हो । उहाँको घरमा सासू र देवरानी हुनुहुन्छ । शर्मिला सामाजिक काम र राजनीतिक दौडधूपमा व्यस्त रहँदा घरको सम्पूर्ण आन्तरिक भार, भान्सा र व्यावहारिक कामहरू सासू र देवरानीले सम्हालिदिनुहुन्छ । यही बलियो पारिवारिक जग र आपसी समझदारीका कारण शर्मिलालाई बाह्य क्षेत्रमा निस्केर निर्धक्कसँग काम गर्न र समाजको नेतृत्व गर्न सहज भएको छ ।

समाजसेवा र समाजिक संघर्ष
राजनीतिक पद प्राप्त गर्नु अघि नै शर्मिला एक स्थापित समाजसेवीको रूपमा गाउँमा परिचित भइसक्नुभएको थियो । वडाअध्यक्षको चुनाव जित्नुअघि उहाँ करिब ६ वर्षसम्म निरन्तर रूपमा ग्राउण्ड लेबलमा रहेर सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । उहाँले दलित बस्तीहरूमा चेतनामूलक अभियान चलाउने, महिलाहरूलाई अधिकारका बारेमा बुझाउने र गरिब तथा असहायहरूलाई व्यक्तिगत तवरबाट सहयोग गर्ने काम गर्दै आउनुभएको थियो ।

विशेषगरी सन् २०२० तिर विश्वभर फैलिएको र नेपालमा पनि ठूलो असर पारेको कोरोना भाइरस महामारी र त्यसपछि लकडाउनको समयमा शर्मिलाले देखाउनुभएको सक्रियता वडावासीका लागि अविस्मरणीय छ । महामारीको समयमा दैनिक ज्याला–मजदुरी गरेर खाने विपन्न दलित परिवारहरू भोकमरीको चपेटामा परेका थिए । सरकारी राहत पर्याप्त र समयमा पुग्न नसकेको अवस्थामा शर्मिला आफैं अघि सर्नुभयो । उहाँले विभिन्न मनकारी व्यक्ति, संघसंस्था र दाताहरूबाट राहत सामग्री संकलन गरिन् र विपन्न बस्तीहरूमा पुगेर निष्पक्ष रूपमा खाद्यान्न र स्वास्थ्य सामग्री वितरणको अभियान चलाउनुभयो ।

महामारीको त्यो डरलाग्दो समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी जनताको सेवामा खटिएका कारण उहाँ आम वडावासीको सुखदुःखको वास्तविक साथी बन्न सफल हुनुभयो । राजनीतिमा लाग्नुअघि नै समाजसेवाका माध्यमबाट उहाँले आम जनताका समस्याहरूलाई नजिकबाट नियाल्नुभएको र पहिचान गर्नुभएको थियो । उहाँले बुझ्नुभएको थियो कि केवल बाहिर बसेर गुनासो गर्नुभन्दा नीति निर्माण र राज्यको कार्यकारी तहमा पुगेर काम गर्दा समाजमा ठूलो र स्थायी रूपान्तरण ल्याउन सकिन्छ ।

चुनावमा ऐतिहासिक विजय
लामो समयको सामाजिक सेवापछि शर्मिलाले राजनीतिको मूलधारमा प्रवेश गर्ने निर्णय गर्नुभयो । स्थानीय तहको निर्वाचन २०७९ का लागि उहाँले बरहथवा नगरपालिका वडा नं. १० को वडाअध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभयो । तर, स्थापित र ठूला भनिएका राजनीतिक दलहरूबाट एउटा युवा दलित महिलालाई प्रमुख पदको टिकट पाउनु त्यति सहज थिएन ।

यसै क्रममा, निर्वाचनको ठीक दुई महिनाअघि मात्र शर्मिलाका देवर हरिनन्दन रामको पहलमा निर्वाचन आयोगमा ‘बहुजन एकता पार्टी’ दर्ता भयो । यो पार्टी एकदमै नयाँ, साधन–स्रोतविहीन र संगठन नभएको अवस्थामा थियो । शर्मिलाले सोही नवगठित बहुजन एकता पार्टीबाट वडाअध्यक्षको टिकट लिएर चुनाव लड्ने निर्णय गर्नुभयो । स्थापित र पुराना पार्टीका दिग्गज पुरुष नेताहरूसँग एउटा नयाँ र सानो पार्टीबाट चुनाव लड्नु निकै ठूलो चुनौती र जोखिमको कुरा थियो । तर, शर्मिलालाई आफ्नो नयाँ पार्टी वा साधन–स्रोत भन्दा पनि विगत ६ वर्षदेखि आफूले जनताको बीचमा बसेर गरेको निःस्वार्थ समाजसेवामाथि पूर्ण विश्वास थियो ।

उहाँलाई दृढ भरोसा थियो कि जनताले पार्टीको झण्डा भन्दा पनि सुखदुःखमा साथ दिने व्यक्ति र उहाँको विगतको कामको मूल्यांकन गर्नेछन् । चुनावको समयमा उहाँले भन्नुभएको थियो, “हाम्रो पार्टी नयाँ भए पनि समाजमा मैले लामो समयदेखि गरेको काम र बुबाको नामले गर्दा चुनाव जितिन्छ भन्नेमा म पूर्ण विश्वस्त थिएँ ।’’ नतिजा उहाँले सोचेजस्तै आयो । मतगणना हुँदा शर्मिलाले भारी मतका साथ वडाअध्यक्ष पदमा सानदार विजय हासिल गर्नुभयो । निर्वाचित शर्मिलाले ६०६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सत्यनारायण सिंहले ३३३ मत मात्र पाउनु भएको थियो । उहाँसँगै तत्कालिन माओवादीबाट प्रत्याशी रहनुभएका रामजतन महतोले ३३१ मत मात्र पाउनु भएको थियो ।

अझ ऐतिहासिक कुरा त के भयो भने शर्मिला मात्र एक्लै जित्नु भएन, उहाँको प्यानलमा रहेका सबै वडा सदस्यहरूले पनि क्लिन स्वीप गर्दै पूर्ण बहुमतका साथ विजय प्राप्त गरे । एउटा नयाँ र क्षेत्रीय पार्टीबाट पूरै प्यानल नै विजयी हुनु सर्लाही जिल्लाकै राजनीतिमा एउटा ठूलो राजनीतिक परिघटना थियो । यस विजयले प्रमाणित गरिदियो कि जनता निष्ठावान् नेतृत्वको पर्खाइमा हुन्छन् र राम्रो काम गर्नेलाई जात, लिंग वा पार्टीको घेराभन्दा माथि उठेर भोट दिन्छन् ।

विकासमा सक्रियता
निर्वाचित भइसकेपछि शर्मिलाले परम्परागत शासक जस्तो नभई एक सेवकको रूपमा काम सुरु गर्नुभयो । पहिलो आर्थिक वर्ष २०७९÷८० मा उहाँको वडाले नगरपालिकाबाट जम्मा ४४ लाख रुपियाँ बजेट प्राप्त गरेको थियो । यो बजेट एउटा वडाको समग्र विकासका लागि निकै न्यून थियो । तर, शर्मिलाले योजनाबद्ध र पारदर्शी ढंगले उक्त बजेटलाई शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार जस्ता प्राथमिक क्षेत्रमा विनियोजन गरेर खर्च गर्नुभयो ।

शर्मिलाको बुझाइमा दलित र विपन्न समुदायको गरिबी निवारण र सशक्तीकरणको एकमात्र अचूक हतियार ‘शिक्षा’ हो । त्यसैले उहाँले आफ्नो कार्यकालको सबैभन्दा ठूलो हिस्सा शिक्षाको सुधारमा केन्द्रित गर्नुभएको छ । वडामा रहेका किसनपुर र सीतापुर लगायतका विपन्न बस्तीहरूका बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान पाउँदैनथे वा विद्यालय समयपछि थप पढ्न पाउँदैनथे । यस समस्यालाई समाधान गर्न उहाँले ती बस्तीहरूमा विपन्न बालबालिकाहरूका लागि नियमित र निःशुल्क ट्युसन कक्षाहरू सञ्चालन गराउनुभएको छ । हाल यी ट्युसन कक्षाहरूमा करिब ३०० जना बालबालिकाहरूले नियमित रूपमा अध्ययन गरिरहेका छन् ।

अचम्मको र प्रशंसनीय कुरा के छ भने, यी ३०० बालबालिकालाई पढाउने शिक्षकहरूको पारिश्रमिक र शैक्षिक सामग्रीको खर्च वडाको सरकारी बजेटबाट बेहोरिँदैन । वडाअध्यक्ष शर्मिलाले आफूले राज्यबाट पाउने मासिक तलब र भत्तावापतको सम्पूर्ण रकम यी बालबालिकाको ट्युसन खर्च र शिक्षामा लगानी गर्नुभएको छ । आफ्नो व्यक्तिगत सुख–सुविधा त्यागेर जनताका छोराछोरीको भविष्य उज्यालो बनाउने उहाँको यो कार्य नेपालकै राजनीतिमा विरलै पाइने उदाहरण हो ।

यसका साथै, बालबालिकाहरूमा विद्यालय जाने रुचि र पढ्नप्रति जागरुकता बढोस् भन्ने उद्देश्यले उहाँले विपन्न परिवारका ८०० जना बालबालिकाहरूलाई किताब बोक्ने झोला र कापी–कलम जस्ता शैक्षिक सामग्रीहरू व्यक्तिगत तथा वडाको तर्फबाट वितरण गर्नुभएको छ । शिक्षा क्षेत्रमा सरकारी बजेटको अभाव हुँदा उहाँ कति पनि विचलित नभई आफ्नो खल्तीको पैसा खर्च गरेर भए पनि काम गरिरहनुहुन्छ ।

युवाहरूको वृत्ति–विकास र रोजगारीका लागि उहाँले महेन्द्र रत्न माध्यमिक विद्यालय सीतापुरमा विशेष पहल गर्नुभयो । सरकारी जागिरमा प्रवेश गर्न चाहने तर महँगो कोचिङ फी तिर्न नसक्ने स्थानीय जेहेन्दार युवाहरूका लागि उहाँले तीन महिने निःशुल्क लोकसेवा कोचिङ कक्षाहरू सञ्चालन गराउनुभयो । यसले वडाका विपन्न र मध्यमवर्गीय युवाहरूलाई राज्यको मूलधारमा पुग्न ठूलो मद्दत गरेको छ । उहाँ आउने वर्षदेखि वडाका केही छानिएका सामुदायिक (सरकारी) विद्यालयहरूमा आधारभूत तहदेखि नै अंग्रेजी माध्यमबाट पढाइ सुरु गराउने बृहत योजनामा काम गरिरहनुभएको छ । हाल आम मानिसमा सरकारी विद्यालयप्रतिको विश्वास घट्दै गएको र निजी बोर्डिङ स्कूलतर्फ आकर्षण बढेको सन्दर्भमा, सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिन सकेमा गरिबका छोराछोरीले पनि समान अवसर पाउने र सरकारी विद्यालयप्रतिको साख र गुणस्तर दुवै बढ्ने शर्मिलाको दह्रो विश्वास छ ।

कृषि र सिंचाइमा सुधार
बरहथवा वडा नं. १० का अधिकांश बासिन्दाहरू कृषि पेशामा आश्रित छन् । मधेशमा खेतीका लागि उर्वर जमिन भए तापनि समयमा वर्षा नहुँदा र सिंचाइको उचित व्यवस्था नहुँदा कृषकहरूले सधैं समस्या भोग्नुपरिरहेको थियो । यस समस्यालाई सम्बोधन गर्दै वडाअध्यक्ष शर्मिलाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुभयो । उहाँले सिंचाइको गम्भीर समस्या रहेका विभिन्न क्षेत्रका किसानहरूको खेतखेतमा पुगेर हालसम्म ३४ वटा स्यालो ट्युवेलहरू जडान गरिदिनुभएको छ । यस कार्यले गर्दा किसानहरू आकाशे पानीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् र हिउँदे तथा वर्षे बाली दुवै समयमा लगाउन पाएका छन्, जसले स्थानीय उत्पादन र किसानको आम्दानीमा वृद्धि गरेको छ ।

मधेशी समुदायमा महिलाहरूलाई घरेलु काममा मात्र सीमित राख्ने र बाहिर निस्कँदा अनुहार छोप्नुपर्ने ‘घुम्टो प्रथा’ अझै पनि एउटा सामाजिक बन्धनको रूपमा रहेको छ । शर्मिलाले यस कुप्रथा र लैंगिक असमानताका विरुद्ध कडा आवाज उठाउनुभएको छ । उहाँले समानता र महिला सशक्तीकरणका लागि मधेशी महिलाहरू आफूले लगाउने परम्परागत घुम्टोबाट बाहिर आउनुपर्छ र पुरुष सरह समाजमा उभिनुपर्छ भनेर विभिन्न सचेतनामूलक अभियानहरू चलाउनुभयो । उहाँ आफैं यसको प्रत्यक्ष उदाहरण बन्नुभएको छ । उहाँ घरको आर्थिक अवस्था कमजोर भएका कारण छोरीहरूलाई विद्यालय नपठाउने अभिभावकहरूका घर–घरमा पुगेर परामर्श दिने र छोरीलाई शिक्षा दिनुको महत्व बुझाउने काम पनि निरन्तर गरिरहनुहुन्छ ।

सामाजिक चुनौती
पदमा पुगेर काम गर्नु र बाहिर बसेर कुरा गर्नुमा धेरै फरक हुन्छ । अहिले वडाअध्यक्षको रूपमा काम गरिरहँदा शर्मिलका सामु चुनौतीका हिमालहरू उभिएका छन् । मधेशको सामाजिक संरचनामा अझै पनि सामन्ती सोच, पुरुषप्रधान मानसिकता र जातीय अहंकार निकै बलियो छ । एउटा दलित समुदायको, त्यसमा पनि युवा महिला वडाको सर्वोच्च पदमा पुगेर सबैलाई कमाण्ड गरेको कुरा समाजका केही संकीर्ण मानसिकता भएका उच्च जातिका भनिने मानिसहरू र अन्य राजनीतिक दलका पुरुष नेताहरूलाई पचिरहेको छैन ।

शर्मिलाले पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र भेदभाव रहित ढंगले वडाको विकासका कामहरू गर्दा पनि अन्य राजनीतिक दलका व्यक्तिहरूबाट विभिन्न चरणमा अवरोध सिर्जना गर्ने, काममा अड्चन हाल्ने र विकासका योजनाहरू रोक्न खोज्ने गरेको उहाँको तीतो गुनासो छ । महिला र दलित समुदायप्रति संकीर्ण दृष्टिकोण राख्नेहरूले उहाँले गरिरहेका सुधारका ऐतिहासिक कामहरूलाई सहन सकिरहेका छैनन् । उहाँ आफ्नो पीडा र अनुभव सुनाउँदै भन्नुहुन्छ, “म एक महिला हुँ, त्यसमा पनि दलित समुदायकी छोरी । यो समाजमा अझै पनि कतिपय मानिसहरूमा ‘तल्लो जातकी छोरीलाई हामीले किन नमस्कार गर्ने, उसको नेतृत्व किन स्वीकार गर्ने’ भन्ने खालको चरम संकीर्णता र जातीय अहंकार बाँकी नै छ ।’

केही राजनीतिक दलका स्थानीय नेताहरूले सोझासाझा मानिसहरूलाई आफूविरुद्ध उक्साउने र भ्रम फैलाउने काम गरेको बताउँदै उहाँले खासगरी, जसरी जनताको मन जितेर दिनरात काम गरिरहेको यसले गर्दा उनीहरूको राजनीतिक पसल बन्द हुने र भोलिका दिनमा आफ्नो राजनीतिक भविष्य चौपट हुन्छ कि भन्ने डर र चिन्ता उनीहरूमा देखिएको दावी गर्नुभयो । त्यही डाह र ईष्र्याका कारण उनीहरू वडाका राम्रा कामहरूमा पनि अनावश्यक रूपमा अड्चन हाल्ने गर्ने गरेको गुनासो शर्मिलाको रहेको छ ।

तर, यस्ता कुनै पनि राजनीतिक षड्यन्त्र, सामाजिक अवरोध र जातीय विभेदले शर्मिलाको कदमलाई रोक्न सकेको छैन । उहाँ यी सबै चुनौतीहरूलाई आफ्नो राजनीतिक र सामाजिक सेवाको माध्यमबाटै चिर्न र परास्त गर्न सकिन्छ भन्ने कुरामा दृढ हुनुहुन्छ । उहाँ जति धेरै अवरोध आउँछ, त्यति नै बढी दृढताका साथ काममा लागिरहनुहुन्छ । उहाँको यही निडर स्वभावले गर्दा विरोधीहरू पनि उहाँसँग सिधा टकराउन डराउँछन् ।

स्वास्थ्य समस्या
शर्मिलाकुमारी राम बाहिरबाट जति बलियो देखिनुहुन्छ, उहाँको शारीरिक स्वास्थ्य भने सधैं अनुकूल रहँदैन । उहाँ विगत केही वर्षदेखि ‘थाइराइड’ रोगबाट पीडित हुनुहुन्छ । थाइराइडका कारण उहाँको स्वास्थ्यमा बेलाबेलामा उतारचढाव आइरहन्छ, अत्यधिक थकाइ लाग्ने र शारीरिक कमजोरी हुने जस्ता समस्याहरू देखिइरहन्छन् । तर, उहाँले आफ्नो व्यक्तिगत शारीरिक पीडालाई कहिल्यै पनि जनताको काममा बाधा बन्न दिनुभएको छैन । जब उहाँको स्वास्थ्यमा बढी समस्या देखिन्छ, उहाँले वडाको काम नरोकियोस् भन्नका लागि निकै परिपक्व र संस्थागत निर्णय लिनुहुन्छ । उहाँले आफू बिरामी परेको समयमा वडाका अन्य सदस्यहरूलाई कार्यवाहक वडाअध्यक्षको पूर्ण जिम्मेवारी सुम्पेर आफू केही दिन आराम गर्नुहुन्छ ।

यसले एकातिर उहाँको स्वास्थ्यलाई आवश्यक आराम मिल्छ भने अर्कोतिर वडाका अन्य जनप्रतिनिधिहरूको कार्यक्षमता बढ्ने र उनीहरूमा नेतृत्व विकास हुने अवसर मिल्दछ । उहाँको यो कार्यशैलीले वडाभित्र सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्धतिको राम्रो अभ्यास भएको देखाउँछ ।

वडाअध्यक्षको रूपमा काम गर्नका लागि शर्मिलाको आत्मबल र उत्साह आज पनि उत्तिकै उच्च छ । यसको मुख्य कारण उहाँलाई आफ्नो घरपरिवारबाट मिल्ने विना सर्तको सहयोग र आम वडावासी जनताले दिने अपार माया र सद्भाव नै हो । समाजसेवाको लामो अनुभवका कारण उहाँले वडाका समस्याहरूलाई बुँदागत रूपमा पहिचान गर्नुभएको छ र त्यसलाई समाधान गर्न क्रमिक रूपमा अघि बढिरहनुभएको छ । उहाँले आफ्नो बाँकी रहेको कार्यकालका लागि एउटा स्पष्ट रोडम्याप तयार गर्नुभएको छ । उहाँको लक्ष्य छ कि आगामी तीन वर्षभित्र वडा नं. १० भित्र रहेका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक र भौतिक पूर्वाधारका न्यूनतम र आधारभूत समस्याहरूलाई पूर्ण रूपमा हल गर्ने ।

उहाँ भन्नुहुन्छ, “मैले सुरु गरेका योजनाहरू र जनतासँग गरेका बाचाहरू यसै कार्यकालमा पूरा गर्ने मेरो पहिलो प्राथमिकता हो ।’’ तर, यदि विविध प्राविधिक कारण, बजेटको अभाव वा विपक्षीहरूको अवरोधका कारण आफ्ना योजनाहरू यस अवधिमा पूर्ण रूपमा समाधान गर्न सकिएन भने उहाँ मैदान छोडेर भाग्ने पक्षमा हुनुहुन्न । उहाँले आफ्नो भविष्यको राजनीतिक योजना पनि स्पष्ट पार्नुभएको छ । यदि कामहरू अधुरा रहेमा उहाँ आगामी स्थानीय तहको निर्वाचनमा पुनः वडाअध्यक्ष पदमै उम्मेदवारी दोहो¥याउने र अपूरा कामहरूलाई पूर्णता दिने सोचमा हुनुहुन्छ । पद परिवर्तन गर्नुभन्दा पनि आफ्नो क्षेत्रको विकासलाई तार्किक निष्कर्षमा पु¥याउनु उहाँको मुख्य ध्येय हो ।

र, अन्त्यमा
शर्मिलाको समग्र जीवन यात्रालाई नियाल्दा उहाँ आधुनिक नेपाली समाज, विशेषगरी मधेशी दलित महिलाहरूको रूपान्तरणको एउटा बलियो र जीवन्त प्रतीक हुनुहुन्छ । १३ वर्षको उमेरमा बालविवाह भएकी एउटी बालिकाले सामाजिक बन्धन, जातीय विभेद र लैंगिक असमानताको हिमाललाई नाघेर आज एउटा सिंगो वडाको शासकीय नेतृत्व सम्हाल्नु सामान्य कुरा होइन । उहाँका लागि “घर–व्यवहार एउटा बाध्यता हो भने समाजसेवा आत्मिक रहर ।’’ उहाँले आफ्नो रहरको काममा जुन लगनशीलता, इमानदारिता र निष्ठा देखाउनुभएको छ, त्यसले उहाँलाई अन्य परम्परागत नेताहरूभन्दा धेरै माथि उठाएको छ ।

आफ्नो निजी तलब भत्ता काटेर ३०० विपन्न बालबालिकालाई पढाउनु र ८०० विद्यार्थीलाई शैक्षिक सामग्री बाँड्नुले उहाँको मानवता र सेवाभावको उचाई झल्काउँछ ।

उहाँको कामबाट उहाँ आफैं भन्दा पनि वडाका आम नागरिकहरू बढी सन्तुष्ट र खुसी छन् । स्थानीय पुनिता यादवले भन्नुभएका यी शब्दहरूले शर्मिलाको लोकप्रियतालाई पुष्टि गर्दछ, ‘हामीले जतिबेला खोज्दा पनि हाम्रो काममा उहाँ तयार रहनुहुन्छ । चाहिएको बेलामा हामीसँगै भइदिनु नै हाम्रा लागि सबैभन्दा ठूलो खुसीको कुरा हो, अरू हामीलाई के नै चाहिन्छ र !’

विभिन्न राष्ट्रिय तथा स्थानीय संघसंस्थाहरूबाट समाज रूपान्तरणमा पु¥याएको योगदानबापत थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएकी शर्मिलाका लागि ती भौतिक प्रमाणपत्र र मेडलहरू भन्दा पनि जनताको अनुहारमा देखिने खुसी र उनीहरूले दिने माया नै सर्वेसर्वा र सबैभन्दा ठूलो सम्पत्ति हो । शर्मिलाको यो संघर्षमय र प्रेरणादायी जीवनीले केवल सर्लाहीका महिलाहरूलाई मात्र होइन, बरु देशैभरिका उत्पीडित, दलित र महिलाहरूलाई राज्यको नेतृत्व तहमा पुग्न र समाज परिवर्तनको संवाहक बन्न ऊर्जा र मार्गदर्शन प्रदान गर्दछ ।

तपाईको प्रतिक्रिया