मधेश आन्दोलन र गजेन्द्रनारायण सिंहसँग के को दुश्मनी ?

माघको दुई साता मधेशका लागि निकै महत्वपूर्ण दिन हो । माघ ५ गते मधेशमा बलिदानी दिवस मनाइन्छ भने माघ १० गते स्वर्गीय गजेन्द्रनारायण सिंहको पुण्यतिथी मनाइन्छ र माघ १५ गते दुर्गानन्द झाको स्मृति दिवस मनाइन्छ । मधेशको अधिकार, पहिचान र संघीयताका लागि यी तीनवटा दिनलाई महत्वपूर्ण दिनको रुपमा सम्झिन्छन् । २०६४ माघ ५ गते सिरहाको लहानमा मधेश आन्दोलनको क्रममा रमेश महतोको हत्या भएपछि आन्दोलन सशक्त रुपमा अगाडि बढेको थियो । रमेश महतोले बलिदानी दिएको दिनलाई मधेश केन्द्रीत दलले बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।

मधेश प्रदेश सरकारले पनि माघ ५ गतेको दिनलाई विशेष दिनको रुपमा मनाउँदै आएको छ । माघ ५ गते मधेश प्रदेशमा सार्वजनिक विदा दिने गरेको छ । मधेशको अधिकार र पहिचानका लागि बलिदानी दिएकाहरुलाई सम्झिने दिन हो । त्यसैले यसलाई विशेष दिनको रुपमा मनाउने गरेको छ । त्यस्तै, मधेशको पहिचान, मुद्दा र अधिकारको कुरा उठाउने व्यक्ति नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह हुनुहुन्छ । उहाँभन्दा अघि पनि मधेशको मुद्दाहरु उठेको थियो । तर जुन ढंगबाट गजेन्द्रनारायण सिंहले मधेशको मुद्दालाई स्थापित गर्नुभयो त्यसको आधारमा अहिले मधेश मुद्दा अगाडि बढेको छ । गजेन्द्रनारायण सिंहले २०४१ सालदेखि संस्थागत रुपमा उठाउँदै आएको मुद्दा अझै जिवित छ ।

मधेश केन्द्रीत दलहरुले कुनै न कुनै रुपमा त्यसलाई उठाई नै रहेका छन् । नागरिकताको कुरा होस्, या समानता र समावेशीको कुरा होस् या स्वायत्त मधेश एक प्रदेशको कुरा होस् अथवा भाषाको कुरा नै किन न होस् । यी सबै मुद्दा जस्ताको त्यस्तै छन् । त्यसको प्राप्तिका लागि अझै संघर्ष भइरहेको छ । ती महान व्यक्तिको सम्झानामा माघ १० गते विशेष दिनको रुपमा मनाउने गरिएको छ । त्यसैगरि, दुर्गानन्द झा गणतन्त्रका लागि लडेका व्यक्ति हुनुहुन्छ । २०१८ माघ ९ गते राजा महेन्द्र जनकपुर गएको बेला दुर्गानन्द झाले उहाँमाथि बम प्रहार गर्नुभएको थियो । उहाँको प्रहार पंचायति विरुद्धको प्रहार थियो ।

त्यो घटनापछि उहाँ भारतमा निर्वासित जीवन बिताउँदै आउनु भएको थियो तर उहाँका कारण अरुअरुलाई दुख दिएको थाह पाएर उहाँ आफै गिरफ्तारी दिनुभएको थियो । उहाँलाई राज्यले मृत्युदण्ड दिएको थियो । ब्राहमणलाई मृत्युदण्ड दिने प्रावधान नभएको कारण तत्कालिन सरकारले ऐन संशोधन गरेर उहाँलाई मृत्युदण्ड दिएको थियो । त्यही महान व्यक्तिलाई माघ १५ गते सम्झिने गरेको छ ।

मधेशमा यस्ता यस्ता महान पुरुष र गौरवपूर्ण क्षण हुँदाहुँदै पनि मधेश राजनीतिका केही शीर्ष नेताहरुले अनौठो गतिविधि देखाउनु भएको छ । खासगरि यो मधेश बलिदानी दिवस मधेश केन्द्रीत दल जो मधेश आन्दोलनको समयमा सहभागी थिए, ती दलहरुले मनाउने गरेका छन् । मधेश प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टीले गरेको कारण सरकारले गर्ने कार्यक्रममा नै त्यो दलका नेताहरुको सहभागी हुने गरेको छ ।

यसपटक जसपाबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले त्यति तामझामका साथ कार्यक्रम नगरेपनि सहिदमाथि मल्यार्पण गरी सम्झने काम गरेको छ । यसपटक लोसपाले बलिदानी दिवसको अवसरमा पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेको थियो । त्यहाँ पार्टीका अन्य नेता तथा कार्यकर्ताको उपस्थिति भएपनि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थित हुनु हुन्थेन ।

पार्टीले नै आयोजना गरेको कार्यक्रमलाई नेता महतोले बहिष्कार गर्नुभएको थियो । नेता महतोको मनमुटाव पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छ तर मधेश आन्दोलनसँग सम्बन्धित बलिदानी दिवसलाई बहिष्कार किन गर्नुभयो, त्यसले के बिगारेको थियो भनि उहाँमाथि प्रश्न उठेको छ । त्यस्तै, गजेन्द्रनारायण सिंहको पुण्यतिथीमा माघ १० गते पनि लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गर्नुभएको थियो ।

तर त्यो कार्यक्रम पनि नेता महतोले वहिष्कार गर्नुभएको थियो । नेता महतोले आफूलाई गजेन्द्रनारायण सिंहको अनुनायी मान्नु हुन्छ । तर उहाँकै कार्यक्रमलाई वहिष्कार गर्नुभयो । उहाँले आफ्नो सम्पर्क कार्यालय अनामनगरस्थित कार्की भवनमा छुट्टै कार्यक्रम गर्नुभएको थियो तर पार्टीले आयोजना गरेको कार्यक्रमलाई उहाँले वहिष्कार गर्नुभयो ।
(सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया