कसले मिल्न दिएनन् महन्थ र उपेन्द्रलाई ?

संघ तथा प्रदेशको चुनावको मिति घोषणा भएसँगै गठबन्धनको गतिविधि पनि तीब्र रुपमा अगाडी बढेको छ । एकातिर पाँच दलीय गठबन्धन छ भने अर्कोतिर नयाँ गठबन्धनका लागी प्रयासहरु भइरहेका छन् । त्यसमा अहिले चर्चाको विषय बनेको छ उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी । यी दुवै पार्टी मिल्नुपर्छ भनि मधेशबाट ठूलो दवाव छ तर कुन यस्तो शक्ति हो जसले यी दुवै दललाई मिल्न दिइरहेको छैन भनि प्रश्न पनि उठेको छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जसपा नेपाल बनेको थियो । तर एक वर्ष नबित्दै पार्टीभित्रको आन्तरिक विवादका कारण महन्थ ठाकुर त्यहाँबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बनाउनु भयो । केही नेता यताउति भएपनि पूर्व राजपाका नेताहरु महन्थ ठाकुरका साथमा जसपाबाट अलग हुनुभयो । उपेन्द्र यादव सङ्कटमा भएको बेला आफूहरुले साथ दिएको तर उहाँको संकट निराकरण भयो अनि उहाँले पार्टीबाट अलग हुने बाध्यात्मक अवस्था सृजना गरेको लोसपाका अध्यक्ष महन्थ ठाकुरको बुझाई छ ।

तर जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यो कुरा स्विकार गर्नुहुन्न । दुई पार्टीबीच एकताका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । त्यसका लागि पटक पटक चिठी आदान प्रदान पनि भएको हो । लामो समयको प्रयासपछि दुई पार्टीबीच एकता भएको अध्यक्ष उपेन्द्र यादवको बुझाई छ । लोसपाका नेताहरुको त्यो गलत दावी रहेको अध्यक्ष उपेन्द्र यादवको बुझाई छ ।

यति हुँदा हुँदै पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताका लागि पटक पटक प्रस्ताव गर्नुभयो । स्थानीय चुनाव सकिने वित्तिकै जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रुपमै एकताका लागि आह्वान गर्नुभयो । त्यति मात्र होइन, जनकपुरमा गएर पार्टीबाट पत्रकार सम्मेलनको आयोजना गरी एकताका लागि आह्वान गर्नुभयो । लोसपाका नेताहरुसँग छलफल गर्न आफ्ना पार्टीका नेताहरुलाई पनि लगाउनु भयो तैपनि लोसपाबाट कुनै ‘रेसपोन्स’ नआएको जसपाका नेताहरु बताउनु हुन्छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले एकताका लागि गर्नु भएको पछिल्लो प्रस्तावलाई पनि लोसपाका नेताहरुले अविश्वासको रुपमा लिनुभयो । जसपा पुनः विभाजन हुन लागेको छ, त्यही भएर आफ्नो पार्टी बचाउनका लागि उपेन्द्र यादवले लोसपालाई साथ लिन खोज्नु भएको ती नेताहरुको दावी थियो । लोसपाका नेताहरुले भनेको जस्तो जसपा विभाजन पनि भयो । तर पार्टी बचाउनकै लागि उपेन्द्र यादवले लोसपाको साथ खोजेको हो भनि जुन दावी थियो त्यो गलत सावित भयो । जसपाबाट डा.बाबुराम भट्टराई आफ्नो समूह लिएर निस्कनुभयो । त्यसले उपेन्द्र यादवको पार्टीलाई खासै असर गरेन । तैपनि उपेन्द्र यादवले लोसपालाई एकताका लागि आह्वान गरिरहनु भएको छ ।

तर लोसपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवसँग एकता गर्नुमा विश्वासको संकट रहेको बताउँदै आउनु भएका छ । उहाँसँग पहिला पनि एकता भएको हो, तर त्यो एकता किन भयो, फेरि किन विभाजन भयो यो कुराहरुको समिक्षा नभइकन पुनः एकताको कुनै औचित्य नरहने उहाँको बुझाई छ । उहाँले भन्नुभयो, ‘लोसपा एकता विरोधी होइन, एकताकै पक्षमा छ तर औचित्य त पुष्टि हुनुपर्यो नि, एकीकृत पार्टी किन विभाजन भयो । त्यसको समिक्षा नगरिकन पुनः एकता गरियो भने एक अर्कामाथि अविश्वास रही रहन्छ जसले पार्टीलाई दीर्घकालिन रुपमा अगाडी बढ्न दिँदैन ।’

यी दुई दलका नेताहरु आपसमा अस्तित्वको लडाई लडेपनि मधेशको चाहना जसपा–लोसपा बीच एकता वा गठबन्धन हुुनुपर्ने नै हो । जसपाका अध्यक्ष उपेन्द्र यादव काँग्रेस, माओवादी केन्द्रसँग मिलेर गठबन्धन बनाई सक्नु भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि त्यही गठबन्धनमा जानका लागि तयारी अवस्थामा हुनुहुन्छ ।

त्यही भएर जसपाका राजनीतिक समिति सदस्य एवं मधेश प्रदेशका प्रदेशसभा सदस्य सुरेश मण्डलले आफ्नो फेसबुकमा लेख्नु भएको छ, ‘जसपा र लोसपा नेतृत्वको अदुरदर्शिताको कारण ‘मधेश प्रदेश’ रुपी शिशुलाई ‘अनाथ आश्रम’ मा राख्नुपर्ने अवस्था आउदैछ । हाम्रा मसिहाहरु आफूमा मिल्न लजाउँछन् तर काँग्रेस र एमालेको पछुवा बन्नमा गर्व महसुस गर्छन् ।’ दुवै दलका नेताहरु गठबन्धनका लागि काँग्रेस, माओवादी, एमालेसँग पटक पटक वार्ता गर्छन् तर आफ्नो छुट्टै गठबन्धन बनाउनका लागि छलफल पनि गर्न उचित ठान्दैन । दुवै दलका एक दुईजना शीर्ष नेताबाहेक तल्लो तहसम्मका सबै कार्यकर्ता तथा नेताहरु जसपा–लोसपाबीच एकता वा गठबन्धन होस् भनि चाहेका छन् तर यसलाई बाह्य शक्ति केन्द्रले मिल्न दिएको छैन ।

पहिलो कुरा, काँग्रेस, एमाले र माओवादी केन्द्रले नै जसपा–लोसपाबीच एकता वा गठबन्धन नहोस् भनि चाहेका छन् । यी दुवै दल मिले भने मधेशमा अरु दल कमजोर हुन्छ भनि बुझाई ती ठूला दलहरुको रहेको छ । जसपा–लोसपा नमिल्दा मधेशमा काँग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै दललाई फाइदा छ । त्यसमा सबभन्दा बढी फाइदा काँग्रेस र एमालेलाई हुने देखिएको छ । विगतमा जबजब मधेशी दल बलियो भयो काँग्रेस कमजोर भयो, जबजब मधेशी दल कमजोर भयो, काँग्रेस बलियो भएको देखिन्छ । त्यही भएर यी दुवै दल कुनै पनि हालतमा मिल्नु हुँदैन भनि सबै शक्ति लगाएका छन् । बरु यी दुवै दललाई आआफ्नै साथमा राख्ने, आफ्नोबाट अलिअलि भागबण्डा मिलाई दिने तर मिल्न नदिने रणनीतिमा छन् ।

स्थानीय तहमा मिल्न नदिएको कारण काँग्रेस र एमालेले मधेशमा सबभन्दा बढी फाइदा लिएका हुन् । र, संघ र प्रदेशमा पनि यी दुवै दललाई अलग अलग राखेर गठबन्धनमा केही सीट दिएर अल्झाई राख्ने तथा मधेशमा ठूलो शक्ति बन्ने दाउ ती दुवै दलका रहेको छ । जसपा–लोसपा मिल्न सकेन भने चुनावपछि मधेश प्रदेशमा पनि यी दुवै दलमध्ये कुनैले सरकार बनाउन सक्दैन । सातवटै प्रदेशका सरकार काँग्रेस, माओवादी र एमालेको हातमा जान्छ । जसपा–लोेसपा मिलेर चुनाव लडे भने मधेश प्रदेशमा सरकार बनाउने सम्भावना प्रवल रहने धेरैको बुझाई छ ।

अर्को कुरा, जसपा–लोसपालाई मिल्न नदिनुमा भारतको पनि हात रहेको धेरैको बुझाई छ । भारत जसपाप्रति कडा छ । भारतको नजरमा जसपा चीन निकट हो, चीनले भनेको मात्र मान्ने गरेको विश्लेषण भारतको छ । त्यही भएर जसपा जति कमजोर हुन्छ त्यति नै राम्रो भारतको विश्लेषण छ । जसपाको गतिविधिले नेपालमा भारतलाई नोक्सान भइरहेको एकथरीको विश्लेषण छ । यो जति शक्तिशाली हुन्छ, भारतलाई त्यति नै नोक्सान हुन्छ बुझेर नै जसपा–लोसपाको मिलन हुन नदिएको लोसपाकै कतिपय नेताहरु बताउँनु हुन्छ ।

तत्कालिन समाजवादी पार्टी र राजपाबीच एकता गराउनेमा भारतको ठूलो सहयोग थियो । भारतको सद्भावका कारण एकता सम्भव भएको थियो । त्यसपछिका दिनहरुमा जसपासँग भारतको सम्बन्ध बिग्रिदै गयो । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीको आन्तरिक बैठकहरुमा पनि जसपा विभाजनमा भारतको हात रहेको कुरा ब्रिफिङ गर्दै आउनु भएको छ, जुन कुराबाट भारत अनभिज्ञ छैन । भारतप्रति जसपाको यस्तो सोचाइ रहेको छ भने लोसपासँग किन मिल्न दिने भनि यी दुई पार्टीबीच एकतामा समस्या देखिएका राजनीतिक विश्लेषकहरुको दावी छ । भारतको विश्वासिलो दलमध्येको एक लोसपा पनि हो । भारतले दिएको सल्लाह सुझाव लोसपाले मान्छ ।

तपाईको प्रतिक्रिया