जसपा नेपालमा समाजवादी र राजपा जिवित्तै

तत्कलिन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको झण्डै ११ महिना भइसकेको छ तर सो पार्टीमा अझै ती दुई पार्टी जिवित रहेका छन् । दुवै पार्टीको केन्द्रीय समिति भङ्ग गरी जसपा नेपाल बनाएको छ तर जसपा नेपालको गतिविधिलाई ठप्प गरेर समाजवादी र राजपा नेपालको गतिविधिहरु छुट्टा छुट्टै रुपमा तिब्रता लिएको छ ।

 अहिले समाजवादी पार्टी र राजपा नेपालले आफ्ना पूर्व भातृ संगठनमार्फत कार्यक्रम गर्न लगाएर सो पार्टीका नेताहरु जिल्ला दौडाहामा रहेका छन् । 

जिल्लामा आआफ्नो बर्चस्व देखाउनका लागि नेताहरु भातृ संगठनबाट कार्यक्रम गर्न लगाएर शक्ति प्रदर्शन गरिरहेका छन् । सो पार्टीमा आन्तरिक विवादका कारण समायोजन प्रकृयाले अझै गति लिएको छैन तर पार्टीभित्रको गुट भेला, अन्तरक्रियालगायतका गतिविधिहरु तिब्रता लिएको छ ।

 जसपा नेपाल गठन गरेका तत्कालिन समाजवादी पार्टी र राजपा नेपालले समायोजनका लागि समय दिनुभन्दा बढी आआफ्नो गुट कसरी बलियो बनाउने, समायोजनामा आआफ्ना मान्छे कसरी पार्ने खेलमा नेताहरु लाग्नु भएको छ । तत्कालिन समाजवादी पार्टीका युवा संगठनले सातवटै प्रदेशमा आफ्नो अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । सो संगठनका इन्चार्ज एवं जसपा नेपालका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सातवटै प्रदेशमा कार्यक्रम सम्पन्न गरिसक्नु भएको छ । 

सो कार्यक्रममा तत्कालिन राजपा नेपालका नेताहरुको उपस्थिति हुँदैन्थ्यो । एक दुई ठाउँमा शरतसिंह भण्डारी उपस्थित भएपनि तत्कालिन राजपा नेपालका अरु कुनै पनि नेताहरु त्यसमा सहभागी हुनु भएको थिएन ।

 तत्कालिन राजपा नेपालका नेताहरुले पार्टी एकीकरण भइसकेको अवस्थामा यसरी पूर्व पार्टीका कुनै भातृसंगठनले छुट्टै कार्यक्रम गर्नु पार्टी हित विपरित रहेको कारण आफूहरु त्यसमा सहभागी नभएको बताउँदै आउनु भएको छ तर तत्कालिन समाजवादी पार्टी तर्फका युवा संगठनका इन्चार्ज योगेन्द्र राय यादवले आफूले कार्यक्रम गर्दा राजपा नेपालका अधिकाँश नेतालाई निमन्त्रणा गरेको तर उहाँहरु आफै सहभागी नभएको दावी गर्नुभयो । 

यता, त्यस्तै कार्यक्रम तत्कालिन राजपा नेपालबाट पनि शुरु भएका छ । राजपा नेपालका युवा संगठनका अध्यक्ष मुकेशकुमार झाले माघ १८ गते जनकपुरमा युवा भेला सम्पन्न गरेको छ भने तत्कालिन राजपा नेपालको इन्जिनियरिङ संगठनले पनि जनकपुरलगायत विभिन्न ठाउँमा कार्यक्रम गरेको छ । 

त्यस्तै राजपा नेपालका विद्यार्थी संगठनले जनकपुरमा एउटा कार्यक्रम सम्पन्न गरेको छ भने अर्को राष्ट्रिय भेला काठमाडौंमा गर्ने तयारी गरिरहेको छ । तत्कालिन राजपा नेपालका अध्यक्षमण्डलका सदस्य रही सकेका जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो देश दौडहामा निस्किनु भएको छ । झापादेखि उहाँले कार्यक्रमको शुरुवात गर्दै जनकपुरसम्म पुग्नुभएको छ । सबै ठाउँमा उहाँले गुटको भेला गर्दै प्रशिक्षण दिँदै हिड्नु भएको छ । 

उहाँले आयोजना गर्ने कार्यक्रममा कतैपनि पूर्व समाजवादी पार्टीका नेताहरु सहभागी हुनुभएको छैन । उहाँ अहिले प्रत्येक जिल्लामा आफ्नो समूहको भेला गर्दै हिडि रहनु भएको छ । पूर्व राजपा नेपालका युवा संगठनका अध्यक्ष मुकेश झाले समायोजनको तयारीका लागि आफू कार्यक्रमको आयोजना गरेको दावी गर्नुभयो । 

जसपा नेपालमा समायोजनको प्रकृया शुरु भएको छ । समायोजनमा तत्कालिन राजपा नेपालका युवा संगठनबाट युवाहरुलाई कसरी कहाँ समायोजन गराउने त्यसको विषयमा छलफलका लागि प्रदेश २ स्तरीय भेला राखिएको उहाँले दावी गर्नुभयो । यो गुटको भेला होइन, जसपा युवा संगठनकै तर्फबाट कार्यक्रम राखिएको छ तर त्यसमा तत्कालिन समाजवादी पार्टीका कुनै पनि नेतालाई नबोलाएको उहाँले बताउनुभयो । 

यसखालका भोला तथा सम्मेलन जिल्ला तथा गाउँहरुमा पनि भइरहेका छन् । समायोजनको काम पनि अगाडि बढेको छ तर आन्तरिक विवादका कारण कतै पनि कुरा मिलेको छैन । अधिकाँश ठाउँमा विवाद नै देखिएको छ । यसरी विवाद देखिएपछि जसपा नेपालबाट सर्कुलर गरेको छ कि समायोजन सहमतिमा गर्ने जहाँ सहमति हुनसक्दैन त्यहाँ निर्वाचनलाई आधार मान्ने ।

राजपा एक्लिदै

माघ १९ गते समायोजनका लागि पठाएको सर्कुलर अनुसार जिल्ला, पालिका तथा वडा तहमा समायोजन गर्दा सहमतिको आधारमा गर्ने र सहमतिका आधारमा हुन नसक्ने ठाउँमा पालिका तथा वडाका लागि स्थानीय तहको चुनाव र जिल्ला कमिटीका लागि प्रतिनिधिासभामा प्रत्यक्ष र समानुपातिमा पाएको मतलाई आधार मान्ने उल्लेख छ । 

यसरी जिल्लामा प्रतिनिधिसभाको चुनावमा प्राप्त मतको आधारमा समायोजन गर्ने हो भने राजपा नेपालले ७७ जिल्लामध्ये ७ वटा जिल्लामा मात्र नेतृत्व पाउने देखिएको छ । राजपा नेपालले स्थानीय तहको चुनाव प्रदेश २ मा मात्र लडेको थियो भने प्रतिनिसभा चुनावमा देशैभरि भाग लिएको थियो । 

राजपा नेपाल ७७ जिल्लामध्ये सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, नवलपरासी (पश्चिम), कैलाली र कञ्जनपुर मात्र पाउने भएको छ । पूर्व राजपा नेपालले सप्तरी जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी ८५ हजार ६९ मत ल्याएको थिया भने पूर्व समाजवादी पार्टी र नयाँ शक्ति मिलेर ८० हजार ७३१ मत मात्र ल्याएको थियो । त्यही भएर त्यो जिल्लामा राजपा नेपालले नेतृत्व पाउने भएको छ । 

त्यस्तै महोत्तरीमा पूर्व राजपा नेपालले एकलाख १७ हजार ७६८ मत ल्याएको थियो भने समाजवादले ७० हजार ७२ मत मात्र ल्याएको थियो । सर्लाहीमा राजपा नेपालले एकलाख ५१ हजार ९४८ र समाजवादी पार्टीले ३१ हजार ७४१, रौतहटमा राजपा नेपालले ८५ हजार १४ र समाजवादी पार्टी ४२ हजार ६९२, नवलपरासीमा (पश्चिम) मा राजपा नेपालले ३१ हजार ४३४ र समाजवादी पार्टीले पाँच हजार २३७ मत ल्याएको थियो । 

त्यस्तै, कैलालीमा राजपा नेपालले ५५ हजार ४०६ र समाजवादी पार्टीले १२ हजार ४९४ मत ल्याएको थियो भने कन्चनपुरमा राजपा नेपालले दुईहजार ३७९ र समाजवादी पार्टी एकहजार २६३ मत ल्याएको थियो । त्यही भएर राजपा नेपालले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, नवलपरासी (पश्चिम), कैलाली र कञ्जनपुरमा मात्र नेतृत्व पाउने भएको छ । अरु बाँकी ७७ वटा जिल्लामा समाजवादी पार्टीले नेतृत्व पाउने निश्चित भएको छ । 

पालिका, वडा स्तरीय (पूर्व राजपा र पूर्व समाजवादी) समितीहरु बीच आपसी सहमति गरी सोही बमोजिम ती समितिहरुलाई समायोजन गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । 

तर आपसी सहमतिमा आधारमा समायोजन हुन नसकेमा पछिल्लो स्थानीय तहको निर्वाचनमा पूर्व राजपा र पूर्व समाजवादी पार्टीले भाग लिएको स्थानमा पालिका, वडामा प्राप्त गरेको मत परिणामको आधारमा जुन पूर्व पार्टीले बढी मत प्राप्त गरेको छ, त्यसले नै पालिका, वाडा समितिको अध्यक्ष पद प्राप्त गर्ने र अन्य पदहरु आपसी सहमतिमा बाँडफाँड गर्ने सर्कुलरमा उल्लेख गरिएको छ । 

पछिल्लो स्थानीय चुनवामा एउटा मात्र पक्षले भाग लिएको स्थानमा आपसी सहमतिको आधारमा समायोजन सम्बन्धी निर्देशिका २०७७ अनुसार समायोजन गर्ने भनिएको छ । 

त्यस्तै, प्रत्येक जिल्लामा (पूर्व राजपा र पूर्व समाजवादी) का जिल्ला स्तरीय समितिका तर्फबाट समान सँख्यामा पदाधिकारीहरु बसी एक आपसमा सहमति एवं समझदारीका आधारमा समायोजन गरी जिल्ला समिति गठन गरिने सर्कुलरमा उल्लेख गरिएको छ । 

तर त्यसमा सहमति हुन सकेन भने प्रत्येक जिल्लाहरुमा पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा तत्कालिन राजपा र समाजवादी पार्टीले सम्बन्धित जिल्लाबाट प्राप्त गरेको प्रत्यक्ष र समानुपातिक मतलाई जोडेर प्राप्त हुने मत सँख्यामा बढी मत प्राप्त गरेको पूर्व पार्टीले अध्यक्ष पद पाउने सर्कुलरमा उल्लेख गरिएको छ ।

 अन्य पदहरु आपसी सहमतिमा बाँडफाँड गर्ने भनिएको छ ।तर जसपा नेपाल कार्यकारिणी सदस्य (पूर्व राजपा) का एक नेताले भन्नुभयो, यो सर्कुलर नै गलत छ, यसको बारेमा हामीले पार्टीमा कुरा उठाउँछौ, पार्टी एकीकरण गर्ने बेला सबै कुरा सहमतिमा गर्ने कुरा थियो अब चुनावको मतलाई आधार बनाइएको छ यो ठूलो धोका हो ।’ राजपा नेपाल जहाँ चुनाव लडेको छैन, त्यहाँ उसको संगठन छैन भने होइन, त्यहाँ त उसको संगठन छ त्यसलाई कसरी मिलाउने हो त्यसको पनि मापदण्ड बन्नुपर्ने हो नि भन्दै उहाँले यो तरिकाले यो पार्टी धेरै दिनसम्म टिक्न नसक्ने बताउनुभयो । 

राजपाको नेतालाई तान्दै उपेन्द्र यादव

जसपा नेपालमा दुई समूह प्रष्ट रुपमा पार्टीमा देखिन थालेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपा नेपालका नेताहरुलाई आफ्नोतिर तान्ने रणनीति बनाउनु भएको छ । राजपातिर रहेका नेताहरुलाई आफूतिर तानेर सो दललाई नै कमजोर गरिदिए पछि गुटगत गतिविधि गर्न सक्दैन भनि बुझाई उपेन्द्र यादवको रहेको छ । तत्कालिन राजपा नेपालका अध्यक्षमण्डलमा छजना सदस्य थिए । ती छजना सदस्यहरु पनि अहिले एक ठाउँमा छैनन् । छजना सदस्यमध्ये महेन्द्र राय यादव र शरतसिंह भण्डारी अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागि सक्नु भएको छ भने राजकिशोर यादव असन्तुष्ट भएर घर बस्नु भएको छ । 

पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव र शरतसिंह भण्डारीले उपेन्द्र यादव पक्षबाट आयोजित कार्यक्रममा समेत उनले भाग लिन थालेका छन् । यी दुई नेताले पूर्वराजपा नेपालको भातृ संगठनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पनि छाड्नु भएको छ । 

राजपा नेपालको कहाँ कहाँ संगठन छ, दुई पार्टीबीच समायोजन हुँदा आफ्नो पार्टीका नेता तथा कार्यकता त्यसमा कसरी समायोजन गराउन सकिन्छ ती सबै कुरा छाडेर उनीहरु उपेन्द्र यादवको साथमा गएर उल्टै राजपा नेपालको विरोधमा लागेको पूर्व राजपा नेपालका नेताहरुको आरोप छ । जसपा नेपालका नेता महेन्द्र राय यादव सुनसरी पुगेर राजपा नेपाल सांगठनिक रुपमा निकै कमजोर रहेको र देशभरि उसको संगठन नरहेको अभिव्यक्ति दिएपछि सो पार्टीका युवाहरुले उहाँको विरुद्धमा विज्ञप्ति जारी गरी कारवाहीको माग समेत गरेको छ । 

तपाईको प्रतिक्रिया