Khadya Bibhag

थारु र मधेशीको यस्तो छ वार्ताको शर्त

काठमाडौ, ७ भदौ । तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले सरकारले औपचारिक पत्र पठाएर वार्ताका लागि आव्हान गरे आफूहरु सधै वार्ताको लागि तयार रहेको बताएका छन् ।
अहिले अपिल जारी गरेर प्रधानमन्त्रीले क–कसलाई वार्ताको लागि बोलाएको स्पष्ट नभएको बताउँदै उनले औपचारिक रुपमा पत्र नआए आफूहरु वार्तामा नबस्ने बताए । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै नेता यादवले  प्रधानमन्त्रीले आव्हान गर्नु सकारात्मक भएपनि स्पष्ट नरहेको बताए । नेता यादवले आफूहरु बार्ताको लागि तयार भए पनि नयाँ कुनै प्रस्ताव नभएको भन्दै विगतमा भएको आठ बुँदेसहमति र अन्तरिम संविधानमा रहेका विषयलाई कार्यान्यन गरे आफूहरुलाई मान्य हुने स्पष्ट पारे । उनले पहिले कोरिएको ६ र अहिलेको ७ प्रदेशको सीमांकन आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने समेत स्पष्ट पारे ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा.शिवजी यादवले वार्ताको लागि आव्हान गर्नु सकारात्मक भए पनि के को लागि वार्ता गर्ने भनि प्रश्न गर्दै ईमान्दार भएर पुराना सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे आफूहरु वार्तामा आउन तयार रहेको बताए ।
यद्यपि उनले पहिला भएको सहमति कार्यान्वयन नगरी अर्को वार्ताको कुरा जनता झुक्याउने रणनीति मात्रै हुने भएकोले त्यस्तो वार्ता भने स्वीकार्य नहुने स्पष्ट पारे ।
मधेसी जनअधिकार फोरम नेपाल ( लोकतान्त्रिक) का महामन्त्री रामजनम चौधरीले विगतमा भएका सहमतिमध्ये यति कार्यान्वयन गर्छौ र बाँकी विषयमा छलफल गरौ भनेर प्रस्ताव आए मात्र वार्तामा जाने स्पष्ट पार्दै विगतमा भएका लिखित सम्झौता कार्यान्वयन गरी गरिने वार्ताको आव्हानको औचित्य नभएको बताए ।
उनले १६ बुँदे सम्झौतामा सहमति भएको आठ प्रदेशलाई नमानेकोले अहिले समस्या आएको दावी गर्दै कर्णाल र सुर्खेतको समस्या समाधान गरेर मेचि महाकालीको समस्या समाधान नगर्ने हो भने मुलुकमा गृहयूद्ध हुने चेतावनी दिए ।
चौधरीले थारु, मधेसी, मुस्लिम र दलितलाई बेवास्ता गरेर संविधान लागु हुन नसक्ने भएकोले गणितीय हिसावले मात्रैबाट मात्रै चल्न खोजे मुलुकमा ठूलो दुर्घटना हुने दावी गरे ।
थारु बाहुल्य रहेको कैलाली र कञ्चनपुर सुदुरपश्चिममा राखेर समस्याको समाधान नहुने दावी गर्दै भने– शेरबहादुर देउवा र भीम रावलले मात्रै भनेर हुँदैन । उनीहरु यो देशको दुर्योधन र दुसासन हुन खोज्दैछन । दुर्योधन र दुसासन चरित्र छाडेर देशकालागि सोच्नु पर्छ । तीन पटक प्रधानमन्त्री भएको मान्छेले जिल्ला र अञ्चल बोक्नु हुँदैन । मलाई उहाँको मन्त्रीमण्डलमा मन्त्री बनेकोमा अहिले पनि पश्चाताप लागिरहेको छ । गृहयूद्ध भयो भने शेरबहादुर देउवा, भीम रावल र रिपोर्टर्स क्लब नेपालले पनि थेग्न सक्दैन ।
थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरीले विगतमा भएका सहमति कार्यान्वयन नभएकोले त्यसै वार्ताको आव्हान गर्दैमा वार्ता हुन नसक्ने स्पष्ट पार्दै पुराना सहमतिलाई छाडेर आफूहरुलाई बार्ताको लागि आव्हान गरेर उल्लु बनाउन खोजेको भनि प्रश्न गरे ।
उनले अहिलेको आन्दोलनमा पक्राउ गरि विभिन्न मुद्दा लगाईएकाको मुद्दा खारेजी, धनजनको क्षतिपूर्ति, पुराना सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धतासहित औपचारिक पत्र आए वार्तामा बस्ने स्पष्ट पारे  ।
राजनीतिक आन्दोलन सत्ता प्राप्ति पछि टुङगिने भए पनि आफूहरुको आन्दोलन सामाजिक भएकोले यो माग पुरा नभएसम्म नटुङगिने स्पष्ट पार्दै उनले आफूहरुको आन्दोलनमा भिजिलान्ते प्रयोग गरेर सदभाव खल्बल्याउने कोशिस भईरहेको तर्फ सचेत गराए ।
चौधरीले थारु कमजोर भए तराई कमजोर हुने भन्दै आफूहरुको आन्दोलन राष्ट्रियतासँग गासिएको दावी गरे ।
उनले कैलाली कञ्चनपुर, झापा, सुनसरी र मोरङ छाड्नु भन्दा मर्न तयाररहेको स्पष्ट पार्दै आफूहरु समथलमात्र नभई पहाड पनि जोडिनु पर्ने र जति प्रदेश भए पनि मान्ने पक्षमा रहेको बताए ।

तपाईको प्रतिक्रिया