–मिना सहनी
बैशाख १२ गते देशमा ठूलो विनाशकारी भूकम्प आएको बेला मेरो छोरीको अस्मीता लुटिरहेको थियो । बन्द कोठामा आफ्नो स्मीता जोगाउन मेरी छोरी चिच्याई रहेकी थिइन् तर त्यसको अवाज त्यसबेला कसैले सुनेनन् । सुनेको भएपनि अनसुनी जस्तो गरी गरेका होला । आज मेरो छोरी मसँग छैन ।
म लहानको गुरुकुल पाठशाला स्कूलमा गुजाराका लागि छोरीहरुलाई पाल्नका लागि काम गर्छु । त्यहाँ बस्ने विद्यार्थीहरुका लागि म खाना पकाउने गर्छु । बैशाख १२ गते शनिवार भएको कारण खाना पकाउने काम अलि ढिलो भयो । त्यतिबेला नै भूकम्प आयो । विद्यार्थीहरुमा भागा भाग भयो । शान्त भएपछि फर्केर आयौं । फर्केर आएपछि विद्यार्थीहरुले अन्टी खाना पकाउनु भन्यो । म खाना पकाउने तयारीमा लागे । आगो बाल्नै लागेका थिए कि एउटा केटा आएर अन्टी तपाईको छोरीले रगत उल्टी गरिरहेकी छिन् । एकदमै सञ्चो छैन भन्यो ।
म हत न पत मेरी छोरी काम गर्ने होटल पुगे । मेरी छोरी त्यहाँ थिएन । थाह पाए कि उनी अस्पतालमा छे रे । म कुदेर त्यहाँ गए । मेरी छोरी कालो रगत बोमेटिगं गरिरहेकी थिइन् तर त्यही होटलको साहु नथुनीले यो केटीले साग भात खाएकी छिन्, त्यही बोमेटिगं गरिरहेकी छिन् भनिरहेका थिए । तर डाक्टरले होइन, यसले कालो रगत बोमेटिगं गरिरहेकी छिन् । भित्र निकै असर गरेको रहेछ । यहाँ निको हुँदैन यसलाई धरान लैजानुस् भनि डाक्टरले भन्यो । होटल मालिक नथुनी लैजान तयार भए ।
मलाई मेरो छोरीमाथि निकै चिन्ता बढीरहेको थियो । म आफ्नो छोरीलाई पाल्न सक्थे । म पढाउन चाहन्थे । मैले काम गर्ने स्कूलमा नै राख्न चाहन्थे । १४ वर्षकी मेरी कलिलो छोरीलाई होटलमा काम गर्नुपर्छ भनि नथुनी पटक पटक मेरो कोठामा आउँथे । काकी तपाई आफ्नो छोरी मलाई दिनुस् म होटलमा काम गराउँछु । गाह्रो काम पनि छैन । तपाईको छोरीलाई म आफ्नै छोरी जस्तो राख्छु भनि पटक पटक आएर भन्थे । नथुनीको श्रीमती पनि पटक पटक आएर मेरो छोरीलाई लग्ने कुरा गरेका थिए म बाध्य भएर पठाएका थिए । तर के थाह उनीहरुले मेरो छोरीसँग यस्तो व्यवहार गर्ला भनेर ।
लहान अस्पतालबाट म आफ्नो छोरीलाई धरान त्यहाँ मात्र थाह पाए कि मेरी छोरीलाई बलात्कार भएको छ । मेरी छोरीसँग जवर्जस्ती गरेको कुरा मैले त्यहाँ मात्र थाह पाए । लहानमा मलाई त्यसबारेमा कुनै जानकारी दिएन । धरानमा डाक्टरले जाँचपाँच गर्दा थाह पाइएको थियो । त्यसपछि छोरीले पनि भनिन्, ‘आमा म होटलमा भाँडा माझिरहेको बेला विनोद अंकलले समातेर स्टोर रुममा लग्नुभयो । मलाई जवर्जस्ती गर्नुभयो । रेफ गर्नुभयो । म आफूलाई बचाउन धेरै प्रयास गरे तर उहाँले मान्नु भएन रेफ गरिसकेपछि म यो कुरा कतै बाहिर लगि दिउँला कि भनेर विनोद अंकलले आलमारीबाट हर्पिक निकालेर मलाई खुवाउने प्रयास गर्नुभयो । म मुख थुनेर बसे तैपनि जवर्जस्ती अलिकति मुखमा हाल दिनुभयो । म त्यही रोएर बसे । एकछिन पछि त मलाई बोमेटिगं हुन थाल्यो ।’
मेरो छोरीको अवस्था झन झन खराब हुँदै गयो । डाक्टरले अप्रेशन गर्नुपर्छ भन्यो तर नथुनीले धेरै खर्च हुन्छ भनि अप्रेशन गराउन मानेन र बहाना बनाएर लहान फर्काएर ल्याए । डाक्टरले केही औषधीहरु पनि दिएका थिए । छोरी खाँदै थिए । तर बोमेटिगं रोकिएका थिएन । एक दिन नथुनीको श्रीमती मेरो घरमा आएर भनिन्, यसको उपचारमा धेरै खर्च भयो । केही दिन होटलमा काम गरि दिनुपर्छ भनि जवर्जस्ती मेरी छोरीलाई त्यो अवस्थामा पनि लगिन् । तर त्यहाँ काम गर्न नसकेर दुई चार दिनमै फर्केर आइन् ।
म चाहन्थे कि मेरो छोरी जसरी पनि सन्चो भइ जओस् । गरिब मान्छे, छोरीलाई बलात्कार भएको भन्दै कहाँ कहाँ जान्छे । मेरो कुरा कसले सुन्थ्यो । छोरीको सन्चो भयो भने म आफैसँग राख्नु भनि सोच बनाई सकेका थिए । होटलबाला नथुनीले मलाई १५ हजार रुपियाँ दिएर छोरीलाई उपचार गराउन पठायो । र, एउटा कागजमा औठाछाप पनि लगायो कि छोरीलाई उपचार गराउन १५ हजार रुपियाँ लिए अब नथुनीसँग कुनै लेनिदेनि छैन । यो कुरा म पछि थाह पाए । छोरीलाई लहानमा उपचार गराए । विराटजनगर उपचार गराए । अहँ निको हुने नामै लिएन । अनि त्यसपछि लहान अस्पतालका डाक्टरहरुले नै अधिकारकर्मीहरुलाई बोलाएर यो कुरा बाहिर ल्याएका थिए । विभिन्न संघ संस्थाका दिदी वहिनीहरु आएर यो घटनाको खोजतलास गर्न थाल्यो । त्यसपछि मलाई राहत भयो । म नथुनीसँग छोरीलाई उपचार गराएको कागजातहरु माग्दा पनि दिएन उल्टै मलाई गाली गरेर पठाएका थिए । प्रहरी पनि मेरो कुरा सुनेनन् । यहाँसम्म कि त्यहाँका स्थानीय नेताहरु पनि नथुनीसँग नै मिलेका थिए ।
ओरेक नेपालको सहयोगमा छोरीलाई लिएर काठमाडौ आए । वीर अस्पतालमा भर्ना गराए । १५ दिनसम्म भूईमै राखेर छोरीको उपचार गराए । बल्ल टाइम पाएर ट्रमा सेन्टरमा भर्ना गरे । त्यहाँ दुई चार दिनपछि अप्रेशन गर्ने काम भयो । अप्रेशनपछि मेरो छोरीमा सुधार देखियो । म खुशी भए । मेरी छोरी मसँग कुराकानी पनि गर्न थालिन् । खाना पनि खान थालिन । मेरो खुशीको सीमा थिएन । साउन ३ गते नै डाक्टरले डिस्चार्ज गर्ने भनियो । अनि ओरेकका साथीहरुले कागजातहरु मिलाउन एक दिन. समय लाग्छ । भोली लगौला नि भनेर एक दिन त्यही छाडियौं । त्यसको भोली पल्ट ४ गते छोरीलाई लैजानुपर्छ भनि तयारीमा लागे । तर अचानक मेरी छोरीको छाती दुख्यो र यो संसारबाट विदा लिइन् । बलात्कार गर्नेलाई कारवाही गराउने पक्षमा म थिइनन् । म त्यस्तो झमेलामा फँस्न चाहेका थिइनन् । तर अब न मेरो छोरी रह्यो न अरु केही । त्यसैले मेरो छोरीको जसले यस्तो गरेर ज्यान लियो त्यसले सजाय पाउनु पर्छ । र त्यसका लागि न्यायलय जाने तयारीमा छु ।
-मिनासँगको कुराकानीमा आधारीत_



तपाईको प्रतिक्रिया