नवलपरासी, भदौ ४ गते । लुटेराको आक्रमणमा परी दुईजना युवती गम्भीर घाइते भएका छन्, भने लुटेराले सुनको गहना लुटेर फरार भएको छ ।
तनहुँको गजरकोट–७ घर भई नवलपरासीको कावासोती–३ डम्बरबहादुर चोकस्थित पदमबहादुर दाहालको घरमा डेरा गरी बस्ने दुई दिदीबहिनीलाई लुटेराले अचेत हुने गरी कुटपिट गरी सुनको गहना लुटेर लगेको प्रहरीले जनाएको छ ।
लुटेराले गएराति घरको मूलगेटको ताला फोडी २० वर्षकी रेश्मा कार्की (सिग्देल) र उनकी बहिनी वर्ष १६ की रुपा कार्की बस्ने कोठाको ढोका खोलेर दिदीबहिनीलाई हातपात गरी दिदीले लगाएको सिक्री लुटेर लुटेरा भागेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालले जानकारी दिनुभयो ।
लुटेराले सुनको सिक्री, बाला, झुम्का, नगद, लगाएका गहना लगेको आफन्त इन्द्र सिग्देलले जानकारी दिनुभयो । गम्भीर घाइते भएका दिदीबहिनीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
उनीहरुको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेको अवस्थाबारे प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले जानकारी लिनुभएको छ । वर्षायाम र चाडबाड सुरु हुँदैगर्दा यस्ता चोरीका घटना बढ्ने भएकाले प्रहरीले व्यापक खोजतलास र निगरानी बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो ।



तपाईको प्रतिक्रिया