Khadya Bibhag

सप्तरीको अवस्था यस्तो छ

fale photo

सप्तरी, भदौ ३ गते । १६ बुँदे सम्झौता र सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको क्रममा आज पनि सप्तरीको जनजीवन प्रभावित बनेको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले आह्वान गरेको तराई मधेस बन्दको क्रममा आज पनि सप्तरीमा बन्दको निकै प्रभाव परेको छ ।

मोर्चाको बन्दले पूर्व–पश्चिम राजमार्गमा हजारौँ सवारीसाधन रोकी राखेका छन् भने राजमार्गका ठाउँठाउँमा बन्दकर्ता घुमिरहेका छन् ।

त्यस्तै, मोर्चाका कार्यकर्ताले सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न दिएका छैनन् भने राजमार्गअन्तर्गतको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा थुपारेर सडक अवरुद्ध पारेका छन् ।

साथै, जिल्लामा रहेका कलकारखाना, उद्योग, बजार, पसल, शिक्षण संस्थासमेत बन्द रहेका बताइएको छ । लामो समयसम्म भएको बन्दले विद्यार्थी पढाइबाट वञ्चित रहेको विद्यार्थी श्याम राजकले गुनासो गर्नुभयो ।

यसैगरी, लामो समयदेखिको बन्दले सप्तरी जिल्लाको जनजीवन प्रभावित हुनुका साथै जिल्लामा सवारीसाधन नचल्दा यहाँका जनतालाई कहीँ आउनजानमा समस्या हुने गरेको तरही–३ का कौशलकिशोर साहले गुनासो गर्नुभयो ।

गत मङ्गलबार सप्तरीको भारदहमा प्रहरीसँगको झडपमा परी स्थानीय ३५ वर्षीय राजीव राउतको मृत्यु भएपछि जिल्लामा बन्दबाट अझै प्रभाव परेको हो ।

मधेसी मोर्चा सप्तरीले आज पनि भारदहमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन् भने सो क्षेत्रको अवस्था आज पनि तनावग्रस्त नै रहेको बताइएको छ ।

यता प्रहरीले भने हिजोकोे तुलनामा भारदहमा आज केही शान्त देखिएको जनाएको छ । यस्तै, मोर्चाले राजविराजमा समेत प्रदर्शन गर्नुका साथै बजार, पसल, यातायात तथा शिक्षणसंस्था पूर्णरुपमा ठप्प पारेको छ ।

तपाईको प्रतिक्रिया