काठमाडौं, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको थरुहट–मधेश आमहडतालका क्रममा आन्दोलनकारीहरुको प्रर्दशन गर्नेक्रममा ज्यान गुमाउने परिवारलाई नगद पचास लाख, शिक्षा र रोजगारीको व्यवस्था मिलाउने आज बसेको बैठकमा मधेशी मोर्चाले निर्णय गरेको छ ।
विजुलीवजार स्थित तराई–मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा बुधबार मधेशी मोर्चाको बसेको बैठकले आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रादेशिक सरकारले वहन गर्ने छ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ ।
धेरैवेर सम्म चलेको मोर्चाको वैठकले आन्दोलनका क्रममा घाइते आन्दोलनकारीहरुको रेखदेख र सम्पूर्ण उपचार खर्च बन्दोबस्त गर्ने उद्देश्यले मोर्चा आबद्ध दलहरुबाट नाम मागी एउटा केन्द्रीय उपचार समिति गठन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको नाममा खाता खोली उपचार कोष खडा गर्ने र सहयोगका लागि आह्वान गर्ने निर्णय समेत गरेको जनाइएको छ । धरान, विराटनगर, भैरहवा, नेपालगन्ज, जनकपुर, वीरगन्ज, धनगढी र काठमाडौंमा स्थानीय उपचार समिति बनाउने निर्णय मोर्चाले गरेको छ ।
आन्दोलनलाई शसक्त र प्रभावकारी बनाउन एउटा केन्द्रीय आन्दोलन परिचालन र संयोजन समिति बनाउने मोर्चाले निर्णय गरेको छ । संघियताको आन्दोलनलाई अझ शसक्त बनाउन समान अवधारणा बोकेका पार्टी, संगठन र संस्थाहरु जस्तै थारु, मुस्लिम, जनजाति, खस लगायतका संगठनहरुसँग सहकार्य गर्ने उद्देश्यले गठबन्धन बनाउने निर्णयसमेत आज वसेको मोर्चाको वैठकले गरेको छ ।



तपाईको प्रतिक्रिया