काठमाडौँ, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको आमहड्तालका क्रममा भएका प्रहरी ज्याजतीको विरोध इन्सेक केन्द्रका अध्यक्ष सुवोधराज प्याकुरेलले गरेको छ । उसले प्रदर्शन नियन्त्रणमा लिने अन्य उपायहरू हुँदाहुँदै प्रहरीले आन्दोलनकारीमाथि गोली प्रहार गरेको छ, भन्दै सरकारको घोर आलोचना समेत गरेको छ ।
इन्सेक केन्द्रका अध्यक्ष सुवोधराज प्याकुरेलले आज एक विज्ञप्ती जारी गरि सप्तरीको भारदह चोकमा भएको प्रहरी दमको विरोध गर्दै प्रदर्शन नियन्त्रणमा लिने अन्य उपायहरू हुँदाहुदैँ पनि गोली प्रहार गरिनु उपयुक्त नभएको बताएका छन् ।
विज्ञप्ति मार्फत मानवअधिकारका आधारभूत सिद्धान्तको परिपालनामा ध्यान दिन, घाइतेहरूको उपचार एवम् मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न यस्ता प्रकृतिका प्रदर्शनमा हुन सक्ने क्षति नियन्त्रणका लागि संयमता अपनाउन र यस घटनाको निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तीमा संविधाननिर्माणका क्रममा देखिएका मतभिन्नतालाई वार्ताबाट नै समाधान गर्न सरोकारवालाको ध्यानाकर्षण समेत गराइएको छ ।
भारदह चोकमा हिजो भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हँुँदा प्रहरीको गोली लागेर भारदह गाविस–१ का २८ वर्षीय राजीवकुमार राउतको मृत्यु हुनुका साथै ४३ वर्षीय देवनारायण विश्वास, ४० वर्षीय सुरेन्द्र मण्डल, २० वर्षीय गोपाल मण्डल, १७ वर्षीय सत्यनारायण राउत र १२ वर्षीय अपक साहसमेत गरी १४ जना घाइते भएका थिए ।



तपाईको प्रतिक्रिया