काडमाडौँ २५ गते साउन । संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय सम्पर्क कार्यालय वालकुमारीमा बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले चार दलीय सहमतिमा जारी गरिएको राज्य पुनर्संरचना अन्तर्गत प्रदेश सीमांकनको खाका आसन्दर्भिक, गैरन्यायोचित र विभेदकारी रहेको भन्दै सरकारविरुद्व आन्दोलनरत थारु समुदायले उठाएको माग र सबै विरोधका कार्यक्रमप्रति पूर्ण समर्थन र ऐक्यबद्वता जाहेर गर्ने निर्णय गरेको छ । शताब्दियौंदेखि शोषित, पीडित र अन्यायमा परेका मधेशी, आदिवासी जनजाति, थारुको मागलाई बेवास्ता गर्दै चार राजनीतिकले दलले एकलौटी रुपमा ल्याएको सीमांकनको खाकाविरुद्व सडकमा उत्रिएका थारु समुदायमाथि प्रहरी दमन बन्द गर्न र उनीहरुको उचित माग तत्काल सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारसँग जोडदार माग गर्दछ । अखण्ड सुदूरपश्चिमको नाममा थारु समुदायलाई फेरी पनि कमैया, दास बनाइराख्ने र उनीहरुलाई स्रोतसाधनबाट बञ्चित गर्न सरकारले षड्यन्त्रमूलक ढंगले देशको सीमांकन गरेकोले पहिचान, समावेशीकरण र प्रादेशिक स्वायत्तताका लागि जारी आन्दोलनलाई उत्कर्षमा पु¥याउन थारु समुदायलाई मोर्चाले समर्थनसहित खुला आह्वान गर्दछ । हालको सीमांकन नेपालको अन्तरिम संविधान २०६३, ऐतिहासिक जनान्दोलन, जनयुद्ध, मधेश जनविद्रोह र आदिवासी जनजाति आन्दोलनको प्रतिकूल हुनुका साथै समानुपातिक समावेशीता, पहिचान र प्रादेशिक स्वायत्ततासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको मूलमर्म र भावना विपरीत रहेको मोर्चाको ठहर छ ।



तपाईको प्रतिक्रिया