प्रमोद यादव, वीरगंज २५, साउन । हिन्दु राष्ट्रको माग गर्दै हिन्दू राष्ट्र संघर्ष समितिले पाँच सूत्रीय माग राख्दै आव्हान गरेको बन्दले पर्सा, बारालगायतको जिल्ला बन्द हुदाँ त्याहाका जनजीवन प्रभावित बनेको छ ।
बन्दले वीरगन्ज, कलैया, जीतपुर, सिमरा, परवानीपुरलगायत क्षेत्रमा बिहानैदेखि बजार तथा पसल बन्द छन् भने सार्वजनिक यातायातका सवारी साधनहरु पनि ठप्प छ । बन्दका कारण मानिसहरुको आवातजावत कम भएकोले रिक्सा, टांगाहरु समेत न्यून संख्यामा चलेका छन् । वीरगन्जका विभिन्न चोकमा बन्दकर्ताहरुले वीरगन्जको घन्टाघर, नगवा, प्रतिमा चोक, छपकैया, मर्ली चोकलगायतका स्थानमा बिहानै देखी टायर बालेर प्रदर्शन समेत गरेका थिए । उनीहरुले सहरको भित्रि गल्लीहरुमा समेत माईकिङ गर्दै पसल व्यवसाय सञ्चालन नगर्ने भनेका थिए ।
बन्द आह्वानलाई अवज्ञा गरेको भन्दै बन्दकर्ताले वीरगन्जको रजतजयन्ती चोकमा दुई वटा मालबाहक ट्रकमा तोडफोडसमेत गरेका छन् । बन्दकर्ताले ना३ख ७५३८ र ना२ख ६४३० नम्बरका ट्रकको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गाईलाई राष्ट्रिय जनावर घोषित गरी गौ हत्या माथि प्रतिबन्ध लगाउनुपर्ने, धर्म परिवर्तनलाई प्रतिबन्ध लगाउनुपर्ने, छुवाछूत माथि रोक लगाउनुपर्ने, जातीय र क्षेत्रीय शोषणबाट मुक्त समाजको स्थापना गर्नुपर्ने, हिन्दू मठमन्दिरको पौराणिक चलअचल सम्पत्ति पुनः मठमन्दिरको नाममा कायम गरी मठमन्दिरको सञ्चालक समितिमा आस्थावान हिन्दूलाई मात्र नियुक्त गर्नुपर्नेलगायतको माग राखी बन्द आह्वान गरिएको हो ।



तपाईको प्रतिक्रिया