काठमाडाँै, साउन २० गते । जनकपुर बमकाण्डका आरोपी पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले आज थुनामुक्त गर्न अस्वीकार गरेको छ । सो बम कण्डका आरोपी साह हाल सिरहा कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।
धनुषा जिल्ला अदालतले थुनामा राख्न दिएको आदेशविरुद्ध साहले बमकाण्डमा आफ्नो संलग्नता नरहेको दावीसहित जनकपुर पुनरावेदन अदालतमा निवेदन दिएका थिए । तर, जनकपुर पुनरावेदन अदालतले धनुषा जिल्ला अदालतको आदेशलाई सदर गर्दै साहको निवेदन मागदावीअनुसार छाड्न इन्कार गरेको थियो । त्यसपछि साहले २०७१ माघ ४ गते पुनः सर्वाेच्च अदालतमा निवेदन दिएका थिए । साहको निवेदन परेको सात महिनापछि सर्वाेच्च अदालतमा सुनुवाइ हुँदा प्रमाण नपुगेको भन्दै धनुषा जिल्ला अदालत र जनकपुर पुनरावेदन अदालतकै आदेशलाई सदर गरेको जनाएको छ ।
मिथिला राज्यको मागसहित मिथिला राज्य संघर्ष समितिले जनकपुरको रमानन्द चौकमा धर्ना दिइरहेका सर्वसाधारणलाई लक्षित गरी तीन वर्षअघि २०६९ वैशाख १८ गते बम विस्फोट भएको थियो । त्यसमा पाँच जनाको ज्यान गएको थियो । सो बमकाण्डमा संलग्नता रहेको अभियोगमा साह, जनतान्त्रिक तराई मुक्ति मोर्चासम्बद्ध विद्यार्थी संगठन लिबरेसन फ्रन्टका संयोजक मुकेश चौधरी तथा स्थानीय वासिन्दा जयप्रकाश चौधरी र सुरेशकुमार कर्णसहित छ जनाविरुद्ध ज्यान मुद्दा चलाइएको थियो । ती सबै अरोपीलाई धनुषा जिल्ला अदालतले पुर्पक्षको सिलसिलामा थुनामा राख्ने आदेश दिएको थियो ।



तपाईको प्रतिक्रिया