वीरगन्ज,१९ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले संविधानको पहिलो मस्यौदामा वारे आम मधेशीलाई जानकारी गराउन आज मंगलवार देखि चेतना अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन मोर्चाले पर्सा क्षेत्र नम्बर १ को विन्दवासीनीमा कोणसभा गरेको छ । कोणसभालाई मोर्चाका पर्सा संयोजक एंव संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले मस्यौदा मधेश विरोधी रहेको बताउनु भयो । उहाँले मधेश विरोधी मस्यौदाका आधारमा बन्ने संविधानले मधेशीका हक अधिकार सम्बोधन गर्न नसक्ने भएकाले यसको डटेर विरोध गर्न आग्रह गर्नु भयो । चार ठुला दलले सत्ता स्वार्थका लागि हतार हतारमा फास्ट ट्रयाकका नाममा मधेशी संविधान जारी गर्ने षडयन्त्र गरिरहेको भन्दै अध्यक्ष यादवले अहिलेकै मस्यौदाका आधारमा संविधान बनाइए मधेशमा विद्रोहको आगो दन्किने चेतावनी दिनु भयो ।
कोणसभालाइ सम्बोधन गर्दै फोरम नेपालकी केन्द्रिय सदस्य एंव पूर्वराज्य मन्त्री करिमा बेगमले अहिलेकै मस्यौदाको आधारमा जबरजस्ती संविधान बनाइए मधेशी जनताले कदापी नस्वीकार्ने बताउनु भयो । तमलोपाका युवा नेता जनार्दन यादवले मधेश र मधेशीसंग राज्यले सदियों देखि विभेद गर्दै आएको बताउनु भयो । उहाँले अहिले पनि काँग्रेस र एमालेले मधेशको हितमा काम गर्न नसकेको बताउनु भयो ।
फोरम नेपालका क्षेत्रीय अध्यक्ष कामेश पण्डितको अध्यक्षतामा भएको कोणसभालाइ{ तमलोपा पर्साका अध्यक्ष रमतुल्लाह खाँ , तराइ मधेश सदभावना पार्टीका प्रेम कुशवाहा ,सदभावना पार्टीका अध्यक्ष इमदाद गद्धी , फोरम नेपालका जिल्ला सदस्य अजय सर्राफ, नेताहरु मन्जुर अन्सारी , हजारी साह , दिनेश साह , प्रभु साह लगायतकाले पनि सम्बोधन गरेका थिए । कोणसभाको सन्चालन फोरम नेपाल पर्साका प्रवक्ता सलाउदीन अहमदले गर्नु भएको थियो ।
सचेतना अभियान अन्तर्गत मोर्चाले भोलि साउन २० गते पर्साको निर्वाचन क्षेत्र नम्बर २ को बगही बजारको गाविस भवनमा , साउन २१ गते पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को झौवागुठी बजारमा , साउन २२ गते पर्साको निर्वाचन क्षेत्र नम्बर ४को महुवन बजारमा र साउन २३ गते पर्साको निर्वाचन क्षेत्र नम्बर ५को जानकीटोला चौकमा कोण सभा गर्ने निर्णय गरेको छ ।



तपाईको प्रतिक्रिया