Khadya Bibhag

सिरहामा बलात्कार पछि एसिड खुवाई युवती हत्या

सिरहा १९ गते, साउन । सिरहामा एउटा नौलो किसिमको घटना घटेको छ । एउटी युवतीलाई बलात्कारपछि ‘एसिड’ खुवाएर अपराधीले आफ्नै नियन्त्रणमा ३७ दिनसम्म विताएकी एक किशोरीको यही साउन १६ गते आइतबार मृत्यु भएको महिला पुनःस्थापना केन्द्र (ओरेक)ले जनाएको छ ।

सिरहाको लहानस्थित ‘राकेश होटल एन्ड लज लहान’मा भाँडा माझ्ने काम गर्दै आएकी किशोरीलाई वैशाख १२ गते बलात्कारपछि शौचालय सफा गर्न प्रयोग गरिने ‘हार्पिक’ खुवाइएको बताइएको छ ।
ओरेकले गरेको पत्रकार सम्मेलनमा सिरहास्थित महिला मानवअधिकार रक्षक सञ्जालका संयोजक रेणु कर्णले भन्नुभयो, “हामीले त्यो घटना थाहा पाउनेबित्तिकै प्रहरीमा बलात्कार, बन्धक र ज्यान मार्ने उद्योगसहितको उजुरी दर्ता गराउन खोज्दा प्रहरीले लिन मानेन् । बलात्कारको उजुरी गर्ने म्याद सकिइसकेको र बन्धकका लागि प्रमाण नपुगेको भन्दै ज्यान मार्ने उद्योगको मात्र उजुरी लेखेर ल्याउनू भनेपछि त्यसै गर्यौ  ।”
उक्त होटलका मालिक नथुनी साहलाई समेत किटान गरेर उजुरी दिइएको भए पनि प्रहरीले उजुरी लिन नमानेको उहाँले आरोप लगाउनुभयो । “त्यहाँ उपचार नहुने देखेपछि हामीले उनलाई काठमाडाँै ल्यायौँ, वीर अस्पतालमा असार १५ गतेदेखि उपचार सुरु भयो, तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताए, हामीसँग पैसा नहुँदा व्यक्तिगत रुपमा उठाएर उपचार थाल्यौँ, शल्यक्रियापछि उनको अवस्थामा सुधार आउँदै थियो तर साउन १६ गते मृत्यु भयो”, उहाँले भन्नुभयो ।
उनको उपचारमा संलग्न चिकित्सकले हर्पिकमा प्रयोग हुने एसिडले बिस्तारै फोक्सो, कलेजलगायतमा सङ्क्रमण गरेको शल्यक्रियापछि ठोस खानेकुरा खुवाएका कारण उनको मृत्यु भएको बताएको ओरेकले जनाएको छ । लहानबाट पीडितको बयानका लागि प्रहरी आएको भए पनि बयान लिनुअघि नै किशोरीको मृत्यु भएकाले बयान लिन समेत नसकिएको ओरेकका कार्यक्रम संयोजक प्रतिमा शर्माले बताउनुभयो ।  अभियुक्त विनोद बस्नेत अहिले प्रहरी नियन्त्रण छन् । उनीविरुद्वको मुद्दा फिर्ता लिन स्थानीय राजनीतिकर्मीले आफूलाई निकै प्रलोभन तथा दबाब दिने गरेको सञ्जालका संयोजक कर्णले पत्रकारलाई बताउनुभयो । स्रोतः अनलाइन

तपाईको प्रतिक्रिया