
१६ बुँदे सम्झौतापछि आएको मस्यौदाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध मधेशवादी दल असार २६ गतेदेखि आन्दोलनमा छन् । जिल्ला जिल्ला जिल्लामा भएको मोर्चाको बैठक तथा कालोपट्टी बाँध्ने काम भयो । यी दुईटा कार्यमा कुनै ठाउँमा मधेशी मोर्चाका नेतृत्वकर्ता सहभागि भएको छैन । काठमाडौमा बसेर निर्देशन दिने काम मात्र गर्यो । यहाँसम्म कि काठमाडौमा पनि उनीहरु कुनै ठाउँमा कालो झण्डा गाड्न गएनन् ।
![]() |
| भैरहवामा भएका विरोधसभा |
साउन ४ र ५ गते सुझाव संकलनको विरोधमा भएको आन्दोलनमा कार्यकर्ताहरु प्रहरीबाट कुटाइ खाइ रहँदा यी नेताहरु काठमाडौमा आराम गरिरहेका थिए । असार २९ गते राजधानीमा जनप्रर्दशनमा यी चारै नेता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर, सद्भावना पार्टीका राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव उपस्थित हुने कुरा थियो । उपस्थित पनि भए तर जुलसँगै निस्केका महन्थ ठाकुर बीचैबाट गायब भए । बानेश्वरको कोणसभासम्म आएका उपेन्द्र, राजेन्द्र र महेन्द्रले आफै नबोलेर आआफ्ना सहअध्यक्षहरुलाई बोल्न दिएर अर्कै नाटक देखाए । साउन ८ गतेदेखि मधेशका प्रमुख चार शहरमा भएको विरोधसभामा पनि चारै अध्यक्ष एउटै मञ्चमा देखिएन जनकपुरबाहेक ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निर्णयमै उल्लेख छ कि मधेशका चार ठाउँमा हुने विरोधसभामा चारैजना अध्यक्ष उपस्थित हुने र जनतालाई सम्बोधन गर्ने । तर यी नेताहरु आआफ्ना इगोका कारण जनकपुरबाहेक अरु तीन ठाउँमा उपस्थित हुन सकेन । जनकपुरमा पनि उपस्थित हुनुको कारण त्यहाँका युवाहरु संगठित भएर आन्दोलन गरिरहेका छन् र उनीहरुले विरोध गर्ला वा कार्यक्रममा हुटिगं गर्ला भने डरले त्यहाँ चारैजना अध्यक्ष सहभागि भए तर अरु ठाउँमा भएन । मधेश राजनीतिकका एक विश्लेषकले भने, यतिका भइसक्दा पनि मधेशवादी दलका नेताहरु एक अर्कालाई स्वीकार गरिरहेका छैन । आठ दलका मधेशी मोर्चा चार दलमा सिमित भएका छन् तैपनि यी चारै अध्यक्षमा मेलजोल छैन । एक ठाउँमा उभिएर एउटा आवाज दिन सकिरहेका छैन ।
![]() |
| विराटनगरमा भएको विरोधसभा |
वीरगञ्जको कार्यक्रम तयारी गरेका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवका कारण त्यहाँ तीनटै अध्यक्ष सहभागि भएन । यसले गर्दा महेन्द्र यादव निकै दुखि पनि भए । अन्तिम समयसम्म यी तीन अध्यक्ष (राजेन्द्र, महन्थ र उपेन्द्र) को बाटो पर्खेर बसे तर उनीहरु त्यहाँ गएनन् । जानु नै थिएन भने यी नेताहरुले महेन्द्र यादवलाई फोन गरेर भनेको भए पनि हुन्थ्यो तर अहं त्यस्तो गरेनन् । महेन्द्रले हराएका कारण राजेन्द्र गएनन् ।
महेन्द्र महन्थको पार्टीबाट निस्केको कारण महन्थ त्यहाँ गएनन् । उपेन्द्र यादवले त महेन्द्र यादवलाई कुनै भ्यालु नै दिँदैन । संयोग पनि कस्तो महेन्द्र यादव वीरगञ्जमा यी नेताहरुलाई पर्खेर बसिरहँदा राजेन्द्र र महन्थ एमाओवादीका अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका थिए जो मधेशी मोर्चाका एजेण्डैमा थिएन । उपेन्द्र यादव भैरहवामा छुट्टै पत्रकार सम्मेलन गरेर मस्यौदाको विरोध गरिहेका थिए ।
![]() |
| जनकपुरमा भएको विरोधसभा कार्यक्रम |
भैरहवाको विरोधसभाको आयोजनाको व्यवस्थापन राजेन्द्र महतोको पार्टीले गरेको थियो । त्यसमा उपेन्द्र र राजेन्द्र मात्र सहभागि भए । महेन्द्र यादव त्यो दिन बारामा आफ्ना कार्यकर्तासँग कुरा गरेर बसेका थिए भने महन्थ ठाकुर काठमाडौमा बसेर काँग्रेस, एमाले र एमाओवादीको नस थामी रहेका थिए । जनकपुरमा चारैजना अध्यक्ष सहभागि भएपनि बिराटनगरमा फेरि उपेन्द्र र राजेन्द्र मात्र सहभागि भए । विराटनगरमा विरोधसभा भइरहँदा तमलोपाका उपाध्यक्ष ह्दयश त्रिपाठी नवलपरासीमा छुट्टै विरोधसभाका आयोजना गरेका थिए जो मधेशी मोर्चाको निर्णय थिएन ।
![]() |
| वीरगञ्जमा भएको विरोधसभा कार्यक्रम |
कसले के भने विरोधसभामा
जनकपुरमा भएको कार्यक्रममा यी चारजनै नेताको उपस्थिति थियो । सो कार्यक्रममा यी नेताहरुले त्यहाँका बौद्धिक तप्का र क्रान्तिकारीहरुको जमात रहेको ऐतिहासिक नगरीको रुपमा खुबै प्रंशसा गरे । साउन ४ र ५ गते राय सुझाव संकलन कार्यक्रमको क्रममा भएको झडप र डटेर यहाँका बौद्धिक तप्का र युवा जमातले राज्यको हरेक निकायसंग सामना गरेकोमा प्रशंसा खुबै गरे ।
उनीहरुले कुनैपनि हालतमा यही अवस्थामा यो मस्यौदालाई स्वीकार गर्न सकिदैन भन्दै यसका लागि आन्दोलन गर्न मधेशी युवाहरुलाई तयार रहन आग्रह गरे । मधेशका लागि यो धोका हो, मधेशलाई अब दोस्रो दर्जाको मात्र होइन नेपाली नै होइन भनि गैरनागरिकको दर्जा प्रदान गरिरहेका छन् । मधेशीहरु अब यो देशमा नबसुन भनि प्रावधान ल्याउन लागेको भन्दै ती नेताहरुले पटक पटक आन्दोलनको चेतावनी दिदै ४ र ५ गते भएको आन्दोलनमा युवाहरुले देखाएको कार्यको सह्राना गरेका थिए ।
विरोधसभामा उनीहरुले यस्तो भाषण दिइ रहँदा कार्यक्रममा सहभागिहरुले भन्दै थिए यिनीहरुको भाषण मात्रै हो गर्ने चाहि केही होइन । सद्भावना पार्टीका अध्यक्ष महतोले उल्टै मधेशी जनतामाथि रिस पोख्दै भने, हामीलाई मत नदिएर अन्य दललाई बहुमत दिएको कारण आज यस्तो अवस्था भएको हो । तपमोलपाका अध्यक्ष महन्थ ठाकुरले संघीयता, सिमांकन नागरिकताको विवादीत विषय सहितका अन्य मुद्दाहरु रहित फास्ट ट्रयाक नामक संविधान जारी हुन लागेको र जनताको अधिकार विरोधी संविधान आउने हुनाले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
खसवादीहरुको झुण्ड भएको दल कांग्रेस, एमाले, एमाओवादी सहितका दलहरु संविधान निर्माणका लागि नभई सत्ता र सरकारको पदीय बाँडफाँडका लागि उनीहरुले कथित संविधान जारी गर्न मात्र १६ बुदेँ सहमती गरेको आरोप लगाए ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको प्रारम्भिक मस्यौदा मुठी भर सम्भ्रान्त वर्गको स्वार्थसिद्ध गर्नका लागि यस मस्यौदालाई संविधानको रुपमा जारी गर्नका लागि विभिन्न नाटक र प्रपञ्चहरु भई रहेको बताए । यस संविधानको मस्यौदालाई लोकतन्त्र विरोधीको रुपमा चित्रण समेत गर्दै उनले भने, यस मस्यौदामा नागरिकको स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रता विरोधी रहेकाले यो मस्यौदा लोकतन्त्र विरोधी रहेको छ । कार्यक्रमको अध्यक्षता सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस–एमाले पार्टी जन्मजात मधेश विरोधी रहेकाले उनीहरुले संघीय, सिमांकन र नागरिकताको विवाद सहितका एजेण्डाहरुमा एमाओवादीले बेईमानी गरेको आफूहरु प्रचण्डको पिछा गर्नु भुल भएको स्वीकार गरे ।
त्यस्तै तराई मधेश सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव संघीयता सहितको संविधान मधेशी जनजाती, आदीवासी, महिला, दलित र पिछडा वर्ग सहितकाहरुलाई चाहिएको हुनाले संघीयता सहितको संविधान मधेशी जनतालाई आवश्यक रहेको बताए । सोको लागि उनले अब विना विद्रोहको मधेशको मुक्ति सम्भव नरहेको पनि चेतावनी दिए ।






तपाईको प्रतिक्रिया