काठमाडौ साउन १६ गते । विजयकुमार गच्छदार अध्यक्ष रहेका मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले आज आफ्नो सातौ वार्षिक उत्सव मनाइरहेका छन् । २०६६ साल साउनमा उपेन्द्र यादव नेतृत्व गरेको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट २८ जना सभासद् लिएर गच्छदार अलग भएका थिए । त्यसबेला रामेश्वर राय यादव, शरतसिह भण्डारी, जितेन्द्र देव, रामजनम चौधरी, उपेन्द्र झा, रत्नेश्वर गोइत, आखा चतुर्वेदी, नसिर सिद्धिकि, निमल वर्मा, आर सी यादवलगायतका नेताहरुले साथ दिएका थिए । त्यसमध्ये भण्डारी अलग भएर आफ्नै पार्टी गठन गरेका छन् भने रत्नेश्वर गोइत एमालेमा प्रवेश गरेका छन् । निमल वर्मा भण्डारीको पार्टीमा छिन् ।
स्रोतहरु भन्छन्, फोरम नेपाललाई भारतले फोड्न लगाएका थिए तर हालसम्म सो पुष्टि हुन सकेका छैन । फोरम नेपालका ५२ जनासभासद् थिए ।
सत्तामा जानकै लागि पार्टी विभाजन भएको कुरा पुष्टि भइसकेको छ । गच्छदारले माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउन चाहन्थे भने उपेन्द्र यादव एमाओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन चाहन्थे ।
तर जसको सरकार बनेपनि विजयकुमार गच्छदार आफै दलको तर्फबाट नेतृत्व गरेर सरकारमा जान चाहन्थे, त्यो कुरा उपेन्द्र यादवलाई स्वीकार थिएन । अन्ततः गच्छदारले पार्टी विभाजन गरेर भएपनि माधवकुमार नेपालको सरकारलाई समर्थन गरेर सरकारमा सहभागि भए । माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी भौतिक योजना तथा निर्माण मन्त्री भए ।
त्यसपछि बनेका झलनाथ खनालको सरकारमा उनी गएन । त्यो सरकारमा मधेशवादी दलको तर्फबाट एक्लै उपेन्द्र यादवको पार्टी सहभागि थियो । विजयकुमार गच्छदार, राजेन्द्र महतो, महन्थ ठाकुरको मधेशी मोर्चा थियो र उनीहरु झलनाथ खनालको सरकारमा गएनन् कारण थियो त्यो सरकारलाई भारतले रुचाएको थिएन । भारतको सहयोगविना झलनाथ खनालको सरकार बनेको थियो । त्यो सरकार धेरै दिनसम्म टिक्न सकेन र डा.बाबुराम भट्टराईको नेतृत्वमा अर्को सरकार बन्यो । त्यसमा उपेन्द्र यादवबाहेक सबै मधेशवादी दलका नेताहरु सहभागि भए । इतिहासमा सबभन्दा बढी मधेशवादी दल र सबभन्दा बढी मधेशी र राम्रा राम्रा मन्त्रालय पाएको पहिलो सरकार थियो । त्यसमा विजयकुमार गच्छदार गृह तथा उपप्रधानमन्त्री भएका थिए ।
रक्षा मन्त्री थिए शरतसिह भण्डारी । भण्डारीले नेपाली सेनामा मधेशी युवाको सहभागितालाई लिएर मन्त्री भएकै बेला दिएको अभिव्यक्तिले मन्त्री उनलाई मन्त्री पदबाट हट्नु पर्यो । र, त्यसबेला भण्डारीलाई मन्त्रीबाट हटाउन गच्छदारले पनि भूमिका खेलेका थिए । अन्ततः शरत सिह भण्डारीले पनि राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरेर गच्छदारको पार्टीबाट अलग भए ।
पहिलो सविधानसभा विघटन भएपछि खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गराउनका लागि विजयकुमार गच्छदारलगायत मधेशी मोर्चाका अन्य नेताहरुले भूमिका खेलेका थिए । दोस्रो सविधानसभाको चुनाव भयो । दोस्रो सविाधनसभा चुनावमा मधेशमा पहिलो पार्टीका रुपमा स्थापित भयो फोरम लोकतान्त्रिक । काँग्रेसको नेतृत्वमा गठन हुन लागेको सरकारमा पनि गच्छदार जान चाहन्थे त्यसको लागि उनले निकै प्रयास पनि गरे तर उनले चाहेको जस्तो मन्त्रालय नपाएपछि उनी ब्याक भएको हो । उनले उपप्रधानसहित कुनै एक राम्रो मन्त्रालयको माग गरेका थिए तर कोइरालाले दिन नमानेपछि उनी एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चामा सहभागि भएर सरकारको विरुद्धमा विभिन्न गतिविधि गर्न थाले ।
मोर्चाबाट ३० दलिय गठबन्धन निर्माण भयो । त्यसमा पनि उनी सहभागि थिए । सरकारको चर्चा नहुँदासम्म गठबन्धनको तर्फबाट हुने विभिन्न संघर्षमा निकै सक्रिय थिए तर जब संयुक्त सरकार निर्माण हुने कुरा आयो अनि उनी गठबन्धनमा निस्कृय भए । उल्टै आन्दोलनको विरुद्धमा अभिव्यक्तिहरु दिन थाले । अन्ततः १६ बुँदे सम्झौता गरेर काँग्रेस र एमाले खेमामा गए । अध्यक्ष गच्छदारले देशलाई निकास दिनका लागि खेलेको भूमिकाको प्रशंसा भएपनि मधेशमा त्यसको विरोध भइरहेका छन् । उनको पुतलासम्म जलाउने काम भयो । र, आज उनी आफ्नो पार्टीको सातौ वार्षिक उत्सव मनाई रहेका छन् ।
पार्टी गठन भएको सात वर्ष हुँदा पनि महाधिवेशन गराउन सकेका छैन । विधान अनुसार प्रत्येक पाँचवर्षमा महाधिवेशन गराउनु पर्ने हो तर हालसम्म भएको छैन तर यस बीचमा पटक पटक पदाधिकारीहरुमा हेरफेर भएको छ । कसैको बढुवा भएका छ भने कसैको घटुवा भएको छ । कोही निस्केका छन् भने कतिपय कतिपय नयाँ नेताहरु प्रवेश पनि गरेका छन् ।



तपाईको प्रतिक्रिया