सिरहा साउन ११ गते । लामो समयदेखि सिरहामा वर्षा नभएका कारण रोपाइँ भएको धानबालीमा डढेलो लाग्न थालेपछि किसान चिन्तित बनेका छन् ।
समयमा पर्याप्त वर्षा नभएको र सिँचाइको समेत उचित व्यवस्था नभएका कारण वैकल्पिक सिँचाइको प्रयोग गरी रोपाइँ गरेका धानको बालीमा समेत वर्षाको आभावमा डढेलो लाग्न थालेपछि किसान चिन्तित बनेका हुन् । जिल्लामा कतिपय किसानले खेतलाई गोडमेल गरेर तयार पारिसकेको अवस्थामा पनि वर्षा नभएपछि अधिकांश खेतीयोग्य जग्गा बाँझो छ ।
असारको अन्तिमतिर वर्षा भएपछि किसानले धमाधम धान रोपाइँ गरे पनि त्यसयता वर्षा रोकिएका कारण रोपाइँ भएको धानमा डढेलो लाग्न थालेको किसान बताउछन् । “पछि वर्षा हुन्छ कि भन्ने विश्वासका साथ महँगो मूल्य तिरेर सिँचाइ मोटरको प्रयोग गरी रोपाइँ गरियो,” तरेगना गोबिन्दपुरका सुरतलाल चौधरीले भन्नुभयो– “वर्षा नभएपछि धानको बाली घामले डढ्न लाग्दा पशुलाई त्यही बेर्ना काटेर आहारका रुपमा खुवाउन लागेको छु ।”
ऋण लिएर खरिद गरी धानको बीउ रोपेको तर पानी नपरेपछि ती बीउ त्यतिकै डढिरहेकाले काटेर चौपायलाई खुवाउन थालेको उहाँले बताउनुभयो । साउन महिनाको दोस्रो सातासम्ममा सप्तरीमा करिब २० प्रतिशतमात्र रोपाइँ हुँदा किसान चिन्तित छन् । जिल्लामा कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गा रहे पनि समयमा वर्षा नहँुदा ८० प्रतिशत खेतीयोग्य जग्गा बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत योगेन्द्र यादवले जानकारी दिनुभयो ।
त्यस्तै अन्नको भण्डार मानिएको मध्यतराईका बारा, पर्सा र रौतहटमा अहिलेसम्म धानको रोपाइँ हुन नसक्दा किसान चिन्तित छन् ।
यस क्षेत्रमा अहिलेसम्म मुस्किलले ४० प्रतिशत रोपाइँ हुन सकेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका अनुसार, धान उत्पादनका लागि उर्वर मानिएको बारा, पर्सा र रौतहट जिल्लामा झन्डै एक लाख ७५ हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ प्रतिशतमा सिँचाइ सुविधा पुगे पनि साउनको पहिलो साता बित्दासम्म मुस्किलले ४० प्रतिशत रोपाइँ हुन सकेको छ । वर्षायाममा वरिपरि खेत बाँझै देखिन्छ । केही दिनअघि जसोतसो रोपिएका धानबाली पनि पहेंलिएका छन् ।
वर्षा नभएका कारण लामो खडेरीले रोपाइँ गर्न नपाएपछि यस क्षेत्रका किसान टन्टलापुर घाममा पुर्पुरोमा हात लगाएर आकाशतिर हेरिरहेका छन्, किसान भन्छन्– “मुठ्ठी रोपेर मुरी उब्जाउनका लागि अहोरात्र खेतमा खट्ने अहिलेको बेलामा लामो खडेरीले रोपाइँ हुन नसक्दा हामी सबैभन्दा बढी मर्माहत भएका छौँ ।” बारामा ६२ हजार हेक्टर जग्गा धान खेतीयोग्य छ । तीमध्ये ३२ हजार हेक्टर जमिनमा अगहनी धान खेती हुन्छ । झन्डै ४५ प्रतिशतमा मात्र सिँचाइ सुविधा छ । बाँकी ५५ प्रतिशत जमिनमा आकाशे पानी परेपछिमात्रै खेती सुरु हुन्छ ।
“मङ्सिरे धानको गेडा लाग्ने सम्भावना पनि टर्न लागेको छ । जसोतसो जोगाएको बीउ पनि सुक्न लाग्यो । पानी पर्ला झैँ हुन्छ अनि आफैँ टर्छ”, बारा फत्तेपुरका किसान राजेश साहले भन्नुभयो– “धान रोप्ने याममा यति लामो खडेरी त जीवनमै भोग्नुपरेको थिएन ।” अधिकांश रोपाइँ पम्पसेटबाट भएको हो । गण्डक नहर सम्झौताअनुसार भारतले पूर्वी गण्डक नहरमा ८४० क्युसेक पानी दिनुपर्नेमा त्यसको आधामात्र दिने गरेको छ । सम्झौताअनुसार पानी नछोडिदिँदा मूल नहरमा पानीको कमीका साथै नेपालतर्फ नहरमा आउने पानी भारतीय किसानले बीचमै काटेर लगेकाले पनि यस्तो समस्या उत्पन्न भएको हो । सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी उपलब्ध गराउनका लागि भारतसँग पहल गर्न सरकारसँग यहाँका किसानको माग रहेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार, कुल एक हजार ३५३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लामा ५४ हजार ७७२ हेक्टर क्षेत्रफल कृषियोग्य छ । यसमध्ये ४६ हजार ७१० हेक्टर जमिनमा धान खेती हुने गर्छ । वर्षभर सिँचाइ सुविधा हुने करिब २२ हजार, अर्ध सिञ्चित अवस्था रहेको तीन हजार तथा १८ हजार हेक्टर क्षेत्रफलमा आकाशे पानीको भरमा धान खेती हुने गरेको छ ।
“पम्पिङ सेटले नहर, जलासय र भूमिगत सिँचाइको पानी तानेर जसोतसो रोपाइँ गरिँदैछ, अहिलेसम्म वर्षा नहुँदा किसान ज्यादै निरास देखिन्छन,” जिल्ला कृषि विकास कार्यालय पर्साका कृषि प्रसार अधिकृत मुन्नीलाल प्रसादले भन्नुभयो । धानबाली लगाएका खेतमा खडेरीका कारण धाँजा फाटेका छन् ।
रौतहटमा पनि अहिलेसम्म किसानले ३० प्रतिशत क्षेत्रफलमा मात्र धान रोप्न भ्याएका छन् । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत मोहन महतोले जिल्लामा ५८ हजार ४४० हेक्टर खेतीयोग्य जमिनमध्ये ३९ हजार ३०० हेक्टर जग्गामा धानखेती हुन्छ । त्यसमध्ये ६० प्रतिशतमा सिँचाइ सुविधा छ । सिँचाइको मुख्य स्रोत रहेको वाग्मती सिँचाइ आयोजनाले नहरमा साउन १ गतेबाट मात्र पानी छाडेकाले पनि रोपाइँमा ढिलाइ भएको हो ।
पम्पिङसेटवालालाई किसानले घन्टाको दुईदेखि अढाइ सय रुपैयाँ तिरेर खेतमा पानी लगाइरहेका छन् । प्रतिबिगाहा पानीका लागि किसानले झन्डै रु ४० देखि ५० हजारसम्म खर्चिरहेका छन् ।



तपाईको प्रतिक्रिया