जनकपुरधाम, साउन १० गते । बलपूर्वक संविधान ल्याउने दुत्साहस गरिए मुलुकमा नयाँ द्वन्द्व सिर्जना हुने चेतावनी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले दिएका छन् ।
जनकपुरमा मोर्चाद्वारा आज आयोजित प्रारम्भिक मस्यौदाको विरोधसभामा बोल्दै मोर्चाका नेताहरुले मधेसीको अधिकारलाई कुण्ठित पार्ने, अलोकतान्त्रिक पद्दतिलाई बढावा दिने र असंवैधानिक प्रावधानलाई महत्व दिने संविधानको प्रारम्भिक मस्यौदालाई मधेसी जनताले कहिल्यै स्वीकार नगर्ने चेतावनी दिएका छन् ।
प्रारम्भिक मस्यौदामा लैङ्गिक असमानता र विभेद्, नागरिकतासम्बन्धी विभेद्कारी व्यवस्था, नश्लवादी चिन्तन, विभेद्कारी भाषिक नीति, सर्वोच्च अदालतको आदेशको अबहेलना, विभेद्कारी प्रस्तावना, गैरसमावेशी चरित्र, एकल जातीय र एकात्मक न्याय प्रणाली, पहिचानको सङ्कट, सङ्घीयताको खोलभित्र एकात्मकताको प्रयोग, सुरक्षा निकायको असमावेशी संरचना, प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउनेजस्ता प्रावधान रहेकाले मस्यौदाले मुलुकलाई प्रतिगमनतर्फ धकेल्न सक्ने धारणा पनि नेताहरुले राखे ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रारम्भिक मस्यौदा अधुरो, अपूर्ण, असंवैधानिक र अन्तरिम संविधानले व्यवस्था गरेका महत्वपूर्ण अधिकारको कटौती र सङ्घीयता र पहिचानलाई धरापमा पारेका कारण मधेसी जनताले नयाँ संविधान २०७२ स्वीकार नगर्ने बताउनुभयो ।
मस्यौदामा समावेशी लोकतन्त्रलाई कुण्ठित र प्रदेशलाई अधिकारबिहीन बनाइएकाले मस्यौदा द्वन्द्वलाई समाप्त नगरी बिद्रोहको अवस्था सिर्जना गर्ने खालको भएको उहाँले बताउनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रारम्भिक मस्यौदा मधेसवादी दलसँग विभिन्न समयमा भएको सम्झौताको उलङ्घन तथा विपरीत, समानुपातिक समावेशीकरण, समावेशी लोकतन्त्र, स्वशासन र स्वायत्तता, पहिचानसहितको सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको बिपरीत रहेको छ, भन्नुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बन्दुकको बलले संविधान ल्याउने प्रयास गरिएमा मधेसी जनताले त्यसको प्रतिकार गर्ने बताउनुभयो ।
तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सेना र प्रहरीको आडमा संविधान घोषणा गरिएमा मुलुकमा जातीय द्वन्द्व उत्पन्न हुने बताउनुभयो ।
तराई–मधेस लोकतान्त्रिक पाटीका उपाध्यक्ष बृषेशचन्द्र लालले द्रुत गतिमा संविधान ल्याउने चलखेलले मुलुकमा नयाँ द्वन्द्व आउने सम्भावना देखाउनुभयो ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहको अध्यक्षतामा भएको सो सभामा पूर्वमन्त्री हरिनारायण यादव र सद्भावना पार्टीका लालकिशोर साहले कसैलाई राष्ट्रपति, कसैलाई प्रधानमन्त्री र कसैलाई मन्त्री बनाउने अश्वासनको पोकोका रुपमा मस्यौदा ल्याइएको टिप्पणी गर्नुभयो ।



तपाईको प्रतिक्रिया