महोत्तरी, साउन १० गते । विगत १५ दिनदेखि बन्द रहेको महोत्तरी जिल्लाको मालपोत र नापी कार्यालय आजदेखि सञ्चालन भएको छ ।
असार २५ गते राति मालपोत महोत्तरीबाट केही मोठ र स्रेस्ताहरु सेवाकेन्द्र बर्दिवास लगिएको विरोधमा उद्योग वाणिज्य सङ्घ जलेश्वरको अगुवाइमा असार २६ गतेदेखि मालपोत र नापी कार्यालयमा गरिएको तालाबन्दी शनिबार सहमतिपछि खोलिएको छ भने आजदेखि दुवै कार्यालय सञ्चालनमा आएका छन् ।
असार २६ गते शनिबारदेखि नै मालपोत र नापी कार्यालय महोत्तरीमा तालाबन्दी गरी, नापी कार्यालय अगाडि २४ घन्टे धर्ना दिँदै र साउन ५ गतेदेखि जलेश्वरमा तीनदिने आमहडताललगायतका कार्यक्रमका साथ आन्दोलनमा उत्रेका उद्योग वाणिज्य सङ्घ जलेश्वर र जिल्ला प्रशासन कार्यालय महोत्तरीबीच शनिबार भएको सम्झौतापछि ताल्चा खोलिएको छ भने आज बिहानैदेखि दुवै कार्यालय सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताउनुभयो ।
विगत १५ दिनदेखि बन्द रहेको महोत्तरीको मालपोत र नापी कार्यालयमा कामको चाङ लागेको छ भने आज बिहानैदेखि सेवाग्राहीको घुइँचो लागेको ती कार्यालयहरुले जनाएको छ ।



तपाईको प्रतिक्रिया