Khadya Bibhag

म एमालेमा फर्किरहेको छैन

–गोपाल ठाकुर
यदाकदा केही पत्रपत्रिकाहरूले एमाले छाडेका अमूक नेताहरू पुनः पुरानो घर फर्कंदै छन् भन्ने खबरहरू संप्रेषण गर्ने गरेका छन् । हिजै अस्ति कुनै अनलाइन पत्रिकामा केही नेताहरूको नामावली दिएर एमालेमा जान खोजेको तर पार्टीले वास्ता नगरेको भन्ने खबर पढें । त्यसमा ती महानुभावहरूसँग मेरो नाम पनि जोडिएको पाएँ । अहिलेसम्म त्यस पत्रिकाको तर्फबाट मसँग कसैले कुनै कुरा गरेको थाहा छैन । खोई कुन्नि, अन्य महानुभावहरूसँग सोधियो कि सोधिएन ? मलाई थाहा हुने कुरै भएन ।
जहाँसम्म मेरो राजनीतिक आबद्धताको प्रश्न छ, म मार्क्सवाद, लेनिनवाद र माओ विचारधाराको आधारमा नेपालको कम्युनिस्ट आन्दोलनमा जोडिएको हूँ । मेरा बा पनि यसै आन्दोलनमा जोडिनु भएकोले पनि मलाई अलि सहज भएको महशुस गर्दछु । दलको हिसाबले म का. पुष्पलालको नेतृत्वमा हुर्केको नेपाल कम्युनिस्ट पार्टीमा २०४२ आषाढदेखि जिल्ला कमिटी सदस्य भएर आबद्ध भएको हूँ ।
तिनताक त्यहाँ भाषा, भेष, अनुहार, भूगोल, जातियता र राष्ट्रियताका आधारमा कुनै किसिमको विभेद मैले बेहोर्नु परेको थिएन । २०४३ चैत्रमा बनारसको सारनाथमा हाम्रो पार्टी र क. मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेकपाको बीचमा एकीकरण भयो । पार्टीको आयतन र आकार कति बढ्यो कुन्नि ! माओ विचारधारालाई गायब गरियो । साथै पत्रपत्रिकाहरूले हाम्रो पार्टीलाई अब नेकपा (मार्क्सवादी) भन्न सुरू गरे ।
२०४७ पुसमा पुनः हाम्रो पार्टी र नेकपा (माले) को बीचमा एकीकरण भयो । नयाँ नाम नेकपा (एमाले) भयो । पूर्व मार्क्सवादीका महामन्त्री क. मनमोहन अध्यक्ष र पूर्व मालेका क. मदन भण्डारी महासचिव हुन पुगे । औपचारिक रूपमा पाँचौँ महाधिवेशनमा पारित भए पनि एकीकरणकै बेलादेखि क. मदन भण्डारीको देवत्वकरण सुरू भयो । यस चरणमा आएर क. पुष्पलालको नयाँ जनवादी कार्यक्रम रछ्यानमा फाल्दै क. मदनको बहुदलीय जनवादको हैकम लादिएको महशुस भयो ।
त्यस सँगसँगै पूर्व मालेका मधेशी कामरेडहरूले साम्प्रदायिक विभेद खेप्नु परेका कथा व्यथाहरू सुनियो । म बारा जिल्ला संगठन कमिटीको सचिवको जिम्मेवारीमा थिएँ । २०४८ सालको आम निर्वाचनताकाको सीधा साम्प्रदायिक भोगाइ, जिल्ला अधिवेशनको बेला भएको घोर उपेक्षा तथा आम रूपमा कथित ‘नेपाली’ भाषा र पोशाक प्रतिको पंचे मोह देख्दा त तीन छक्क परेको थिएँ । निश्चित रूपमा जिल्ला अधिवेशनमा मैले अवकाश लिएँ । पार्टी सदस्यसम्म भएर सकेको गर्ने र पार्टी सुध्रने प्रतिक्षा गर्ने मेरो दिनचर्या रह्यो ।
रोजीरोटीको लागि वीरगंजमा मिनी लैंड स्कूलमा अध्यापन रोजें । केही समय पछि चिकित्साको लागि काठमाडौँ आएँ । चिकित्सा लम्बिएकोले राजधानीमै पुनः शिक्षण पेशा नै रोजेँ । वेस्ट प्वाइंट स्कूलमा काम सुरू गरें । पछि कमरेड मुकुन्दको सहयोगमा रेडियो नेपालमा पनि पुगें । त्यहाँ रहँदा मैले करारदेखि स्थायीसम्म तह पाँचदेखि सातसम्म १३ वर्ष एक महिना बिताएँ । दलीय हिसाबले बारा—काडमाडौँ सम्पर्क मंचको अध्यक्ष, राष्ट्रिय जन सांस्कृतिक मंचको केन्द्रीय कमिटीमा सदस्य, उपाध्यक्ष पनि भएँ । पछि राष्ट्रिय जन सांस्कृतिक महासंघ हुँदा त्यसको भाषा तथा लोक साहित्य मंचका अध्यक्ष र महासंघका सदस्यको रूपमा काम गरें । लोकतान्त्रिक मधेशी संगठनका संस्थापक केन्द्रीय सदस्य, सचिव र महासचिवसम्मको जिम्मेवारीमा रहें । तत्कालीन महासचिव क. माधव नेपालको अनुरोधमा संविधानसभा सदस्यका लागि समानुपातिक उम्मेदवारी दिन रेडियो नेपालको जागिर बिसाएँ । संविधानसभा सदस्य पनि भएँ ।
तर संविधान सभामा रहँदा हाम्रो संसदीय दलमा वा पार्टीको कुनै निकायले कुनै बहस नै नचलाइकन चार वर्ष गुज्रिन पुग्यो । कांग्रेस र एमालेमा भिन्नता देखिन छोडियो । आफैँले गरेका सम्झौताहरूको पनि हाम्रा पार्टी नेताहरूले घोर उल्लंघन गर्न सुरू गरे । संविधान सभाको राज्य पुनः संरचना तथा राज्यशक्तिको बाँडफाँट समितिको एकीकृत प्रतिवेदन, राज्य पुनः संरचना उच्चस्तरीय आयोगको दुई तिहाई बहुमतको प्रतिवेदन र दुई तिहाईभन्दा पनि बढी चार सय सत्र जना सभासदहरूको हस्ताक्षर सहित प्रस्तावित संघीयताको ढाँचा उहाँहरूलाई मनोमान भएन । त्यति मात्रै होइन, क. माधव नेपाल प्रधानमन्त्री हुँदा चोरबाटोबाट पुनः दौरा सुरुवाललाई एकमात्र नेपाली पोशाक पनि बनाउने जनविरोधी काम गरे । जसको विरुद्ध मसहित लोमसका अन्य साथीहरू नै पहिला सदनमा उभिने स्थिति बन्यो र त्यो फिर्ता पनि भयो ।
यी सबै हुँदाहुँदै हाम्रै पार्टीको कारणले सेनामा मधेशीहरूको प्रतिनिधित्व लगायत पहिचानमा आधारित समस्याको समाधानका सबै कदमहरू असफल भए । हुँदहुँदा संविधानसभा पनि विघटन गराए जसमा कांग्रेस, एमाले र एमाओवादीको समान भूमिका थियो । खास गरी मधेशी, आदिवासी जनजाति, दलित लैंगिक रूपमा महिला उत्पीडित जनसमूहको उपेक्षा र शोषणको स्थायित्व नै उहाँहरूको मूलमन्त्र व्यवहारमा उत्रेको देखियो । यसको अर्थ उहाँहरू आफ्नै समुदायमा पनि वर्गीय समस्या समाधानको बाटोमा पनि लागेको देखिएन । निजी वर्गोत्थान सहित राजशाहीले सुरू गरेको खस–गोर्खाली घरेलु साम्राज्यवाद तथा आन्तरिक उपनिवेशवादको असली उत्तराधिकारीको रूपमा एमाले नेतृत्व अघि बढेको मेरो बुझाइ हो ।
यस बुझाइका साथ एउटा नयाँ समाजवादी शक्ति निर्माणको लागि संघीय समाजवादी पार्टीको पनि स्थापना गरियो । एक वर्ष केही महिनाको मेरो अनुभवमा घरेलु साम्राज्यवाद तथा आन्तरिक उपनिवेशवादबाट उन्मुक्तिको झिनो संकेत पनि त्यहाँ देखिएन । यथास्थितिवाद र आत्मसमर्पणवादले ग्रसित सामन्ती साम्प्रदायिकता त्यहाँ पनि हावी रह्यो । यस स्थितिमा करीब तीन महिनाको अन्तर संघर्षमा हामीले उठाएको मुद्दाको कुनै तार्किक समाधान नदेखिएकोले २०७० चैत्र २१ गते परित्याग गरियो ।
त्यसपछि केही अन्य साथीहरूले पनि त्यो दल परित्याग गर्नु भयो । उहाँहरूमध्ये कतिपय एमालेमा पुनः फर्कनु पनि भयो । त्यस बेलादेखि यदाकदा म समेत एमालेमा जान तयार भन्ने उडन्ते खबर सम्प्रेषण भएको थाहा हुन्छ । तिनलाई म त्यति महत्त्वका साथ हेर्दिन पनि ।
अहिले खस गोर्खाली घरेलु साम्राज्यवाद तथा आन्तरिक उपनिवेशवाद झन झाँगिएर आएको छ । गैरगोर्खाली राष्ट्रियताहरूलाई संघीयतामार्फत् संबोधन गर्ने आम जनचाहनाको विरोधमा यो चार दलीय सिन्डिकेटको १६ बुँदे सहमति र त्यसै मार्गचित्रमा बनेको नयाँ संविधानको मस्यौदाको नाटक मंचन हुँदैछ । यसले एउटा नयाँ द्वन्द्वको सुरुवात गर्दैछ भन्ने मेरो ठहर हो ।
यस परिप्रेक्ष्यमा राष्ट्रिय आत्म निर्णयको अधिकारसहित राष्ट्रिय पहिचान आधारित संघीयता, त्यसमा समग्र मधेश एक प्रदेश सहितका अन्य राष्ट्रिय प्रदेशहरूको निर्माण, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, यदि आंशिक रूपमा प्रत्यक्ष निर्वाचन प्रणाली हुन्छ भने समान जनसँख्याको आधारमा निर्वाचन क्षेत्र निर्माण, व्यवस्थापिकामा प्रदेशहरूको जनसाँख्यिक समानुपातिक प्रतिनिधित्व, पूर्ण समानुपातिक समावेशी कर्मचारी तन्त्र, प्रहरी, सशस्त्र प्रहरी, सेना निर्माण, केन्द्र, प्रदेश र स्थानीय तहसम्म बहुभाषा प्रयोगको सरकारी कामकाजको भाषा नीति, संघीय न्याय प्रणाली, मधेशमा बसाइँ सराइको नियन्त्रण, हुलाकी राजमार्गको द्रूत निर्माण, रोजगार आधारित स्तरीय शिक्षा प्रणाली, उन्नत कृषि व्यवस्था तथा कृषिजन्य उद्योग नीति, जमीन, जल, जंगल आदि प्राकृतिक श्रोतहरूमा रैथाने जनताको अग्राधिकारसहितको सहज पहुँच जस्ता अवयवहरूलाई आफ्नो मूल नीति र कार्यक्रममा समेटेर जाने राजनीतिक शक्तिको निर्माण, संरक्षण र संम्बद्र्धनमा मेरो बाँकी जीवन बिताउने ध्येय छ । यसै अनुसारको मैले सक्दो गरिरहेको छु । यसको अलावा मेरो कुनै पनि निजी उद्देश्य नरहेको कुरा प्रस्ट पार्न चाहन्छु ।

तपाईको प्रतिक्रिया