सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न नेपाल प्रहरीका पूर्व डिएसपी जगदिश चन्द ६ वर्षपछि गएको असार १२ गते पक्राउ परेको छ । उनी पक्राउ परेपछि सो हत्याकण्डको अनुसन्धानलाई फराकिलो बनाएको छ र विभिन्न कोणबाट त्यसको अनुसन्धान शुरु गरेको छ । सो हत्याकण्डमा प्रहरीका मात्र होइन नेपाली राजनीतिकका हाइप्रोफाइलका व्यक्तिहरु पनि संलग्न रहेको कुराहरु बाहिर आएका थिए । त्यसमा त्यतिबेला नै तत्कालीन उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको नाम जोडिएर आएको थियो तर फोन कलको आधारमा अनुसन्धान गर्दा गच्छदारसम्म त्यसबेला पुग्न सकेका थिएन । चन्द समातिएपछि गच्छदारको बारेमा पुनः अनुन्धान गर्ने तयारीमा प्रहरी रहेको बुझिाएको छ ।
०६८ असोज ९ गते गोली प्रहारबाट नेपाली इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्या भयो । अनुसन्धानमा जुटेको प्रहरीले त्यसको सात महिनापछि २७ वैशाख ०६९ मा हत्यारालाई सहयोग पुर्याउने ट्याक्सी चालक धनबहादुर थापा मगर र हत्या गर्ने समूहको पहिचान सार्वजनिक गरेर सक्रिय अनुसन्धानको फाइल बन्द गर्यो । त्यो हत्याको उद्देश्य अझै पनि रहस्यमै छ । अझ, त्यसको एउटा पाटो त बाहिर आएकै छैन ।
त्यो हो, तत्कालीन उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारसँग हत्याकाण्डका मुख्य योजनाकार बब्बु र त्रिलोक सिंह उपनामका दीपक शाहीले गरेको टेलिफोन सम्पर्क । शाहीले फैजान हत्याअघि र पछि समेत उपप्रधान तथा गृहमन्त्री गच्छदारले बोक्ने मोबाइल नम्बरमा पटक पटक सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ ।
जब ट्याक्सी चालक पक्राउ परे, प्रहरीले उनले प्रयोग गर्ने मोबाइलको विस्तृत कल विवरणमाथि अनुसन्धान सुरु गर्यो । सोही क्रममा फैजानको हत्या गर्न काठमाडौँ आएका भारतीय नागरिकहरू आदित्य पल, फहद आलम, सरताज, इमरान र आश्रीलगायतको समूहले प्रयोग गरेका आठवटा मोबाइल नम्बर पनि पहिचान भए । र, ती मोबाइलबाट दुई भारतीय मोबाइल नम्बरहरू ००९१–९८११३८६६५१ र ००९१–९००५७७४७०५ मा दर्जनौँपटक सम्पर्क भएको देखियो ।
अनुसन्धानका क्रममा ती दुवै नम्बर सञ्चार उद्यमी जमिम शाह हत्याका लागि काठमाडौँमा रहेर योजना बनाएका शाहीको भएको खुल्यो । शाहीको नम्बरलाई आधार बनाएर अनुसन्धानमा जुटेको प्रहरी त्यतिबेला चकित पर्यो, जब उनका दुवै नम्बरबाट देशका उपप्रधान तथा गृहमन्त्री गच्छदारले प्रयोग गर्ने ९८५१०३३४५० नम्बरको मोबाइलमा फैजान हत्याअघि र पछि पनि पटक–पटक सम्पर्क भएको देखियो । हत्याअघि र पछि गरी बब्बुले गच्छदारसँग सातपटकसम्म टेलिफोनमा सम्पर्क गरेको देखिएको स्रोत बताउँछ । अनौठो के छ भने शाहीको नम्बरबाट उत्तरप्रदेशको राजधानी लखनउको जेलमा थुनिएका बब्लु श्रीवास्तवसँग पनि पटक–पटक सम्पर्क भएको खुलेको छ ।
शाहीले प्रयोग गरेको नम्बरबाट गच्छदारको नम्बरमा पटक–पटक सम्पर्क भएको देखिन्छ तर गच्छदारको नम्बरबाट शाहीको नम्बरमा ’कल ब्याक’ र सम्पर्क भएको देखिँदैन । अनुसन्धानमा खटिएको प्रहरी टोलीले गच्छदारका निजी सचिव, व्यक्तिगत सुरक्षा अधिकृत र नातेदारहरूको नम्बरबाट शाहीलाई सम्पर्क गरिएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो बनायो । तर, नेपाल सप्ताहिकका अनुसार उनका निजी सचिव, निवास, निजी सुरक्षा अधिकारी, नातेदार कसैको मोबाइल र ल्यान्डलाइन नम्बरबाट पनि शाहीलाई ‘कलब्याक’ र सम्पर्क गरेको देखिएन । अनुसन्धानलाई अझै फराकिलो बनाउँदै फैजान र गच्छदारबीच राजनीतिक या व्यक्तिगत दुस्मनीको पाटो पनि केलाउने प्रयास नगरएिको होइन । तर, दुस्मनीको कुनै कारण र तथ्य पत्ता लाग्न सकेन । त्यसपछि हार खाएको प्रहरी टोलीले गच्छदारलाई केन्द्रमा राखेर थालेको अनुसन्धान पनि थाती राख्यो ।
दीपक शाही तिनै हुन्, जो सञ्चार उद्यमी जमिम शाह र फैजान अहमदको हत्याका मुख्य योजनाकार थिए । खासमा उनी भारतको उत्तराखण्ड नैनितालनजिक किच्चा गाउँका स्थायी बासिन्दा हुन् । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उल्लेखित त्रिलोकसिंह शाहीको वास्तविक नाम भने दीपक शाही हो । बब्बु उनलाई घरमा बोलाउने नाम हो । स्रोतका अनुसार उनी भारतीय जेलमा रहेर आपराधिक क्रियाकलाप सञ्चालन गररिहेका बब्लु श्रीवास्तवका निकटस्थ व्यक्ति हुन् र श्रीवास्तवमार्फत नै अन्तराष्ट्रिय आपराधिक सिन्डीकेटसँग सम्बन्ध राख्छन् ।
उनका बाबु भारतीय रेलवेमा जागिरे थिए । सोही कारण उनको परविार उत्तर प्रदेशस्थित नेपाल सीमावर्ती बढनीस्थित नब्बे क्वार्टर कोलोनीमा बस्थ्यो । उनले त्यहीँबाट अवैध कारोबारी र दुवैतिरका प्रहरीसँग चिनजान बढाए । र, अवैध कारोबारमा संलग्न भए । सोही क्रममा उनको चिनजान भएको हो, नेपाल प्रहरीका डीएसपीहरू जगदीश चन्द, गणेश चन्द, अर्जुन चन्द र सुरेन्द्र सिंहसँग । त्यसमा पनि जगदीश चन्दसँगको साँठगाँठले जमिम शाहको हत्यामा सफलता पाएका थिए ।
फैजान हत्याको योजना उनले लखनउ बसेरै बनाए । ‘सुटर’ हरूलाई मोबाइलबाटै निर्देशन दिए, सुरक्षित बसेरै काम पनि फत्ते गराए । युनुस अन्सारीलाई केन्द्रीय कारागारभित्रै गएर गोली प्रहार गर्ने मनमित सिंह भाटियासँग पनि उनको साँठगाँठ खुलिसकेको छ । फैजानको हत्याका लागि काठमाडौँ आएका सुटरहरूले मनमितका वकिललाई रकम दिएका थिए, जुन शाहीमार्फत नै आएको थियो । मधेसी जनअधिकार फोरमका कपिलवस्तुबाट समानुपातिक सभासद् मोहम्मद अकबाल अहमद शाहको सिफारसिमा ०६३ मा खटिएको नागरकिता वितरण टोलीले शाहीलाई नेपाली नागरकिता दिएको थियो । शाहीलाई नागरकिता दिलाउन पूर्वमन्त्री मिर्जा दिलसाद बेगका ज्वाइँ सिराज फारुकीलगायतले सिफारसि गरेका थिए । १८ माघ ०६३ मा जारी भएको उनको नेपाली नागरकिता प्रमाणपत्र नम्बर ३८३०७० र १०१ हो । जमिम हत्यामा नेपाल प्रहरीको ’मोस्ट वान्टेड’ सूचीमा परेयता उनी फरार छन् ।



तपाईको प्रतिक्रिया