महामहिम,
राष्ट्रपति ज्यू शितलनिवास, काठमाण्डौं
विषयःउठीवास नगर्न पहल गरिदिनहुने बारे ।
महामहिम ज्यू ,
गत असार २ गते तपाई हाम्रो गाउँ सप्तरीको लोहजरा आएर ठाकुर बाबा दह समुदायलाई हस्तान्तरण गर्नुभयो, त्यसका लागि तपाईलाई धन्यवाद ।
म लगायत ३ घर मुसहर त्यही दहको छेऊमा विगत १२ वर्षदेखि बसोबास गर्दै आइरहेका अवगत गराउन चाहन्छौं । खासमा मेरा बुवा बद्री सदा त्यही दह भएको ठाकुर बाबा सामुदायिक वन संरक्षण गर्दा गर्दै ३ वर्ष अघि बित्नुभयो । मेरा बुबा वन समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । विहानदेखि बेलुकासम्म वन संरक्षण गर्नका लागि सच्चा पहरेदारका रुपमा काम गर्दागर्दै उहाँ बित्नुभयो ।
मेरो पहिलेको घर लोहजरा १ नम्बर वडामा थियो । ऐलानी जमीनमा । सामुदायिक वनका पदाधिकारी र गाउँलेहरुले मेरा बुबाको वन संरक्षणप्रतिको निष्ठा हेरेर वन हेरचाह गर्नका लागि वनको मुखमा घर बनाउन लगायो । मेरा बुबालाई वन संरक्षण गरेवापत पारिश्रमिक दिने वचन त्यसबेला गरिएको थियो । दिनरात एक गरेर १२ वर्षसम्म मेरा बुबा र मेरो परिवारले वन संरक्षण गर्यो । तर, अहिले आएर हामीलाई उठीवास लगाउन खोजिँदैछ ।
महामहिम ज्यू,
पछिल्लो समय नेपाली सेनाले दह जिर्णोद्वार गर्यो । र, यहाँ अहिले तपाईको नामबाट जोडिएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागु भएको छ । अहिले आएर समितिका केही व्यक्ति र जिल्ला वन कार्यालयले मलगायत ३ परिवार मुसहरलाई घर छोडेर जान दिनरात धाक धम्की दिदैँ आइरहेको छ । हिजो मात्रै वन कार्यालयका डीएफओ नन्दलाल राय यादवसहित रेन्जरहरु आएर मेरा श्रीमती तथा वृद्ध आमालाई तेरो छोरा कहाँ छ, यहाँ ल्याए, अहिले घर तोडेर जा भन्दै धाकधम्की दिएर गए ।
यस्तो धम्की पहिलोपटक होइन महामहिम ज्यू, यस अघि पनि वन कार्यालयका कर्मचारीहरु आएर हामीलाई कुटपिट गरेका थिए । यसपटक डीएफओ स्वयमं आएर तीन दिनभित्र घर तोडेर नगए घरमा आगो लगाइदिने र जेल पनि हाल्ने भनेर गएका छन् ।
महामहिम ज्यू,
दह जीर्णोद्धार गरेपछि नेपाली सेनाले तारवार गर्दा हाम्रो घरबाहेकको जग्गामा तारबार गरेको थियो । तर, समिति र वन कार्यालयका केही व्यक्तिहरुको दबावमा गरिसकिएको तारबार हटाएर हाम्रो घरलाई पनि घेर्ने गरी तारबार गरिएको छ ।
महामहिम ज्यू, मेरो बुबा बेग्लै ऐलानी जमीनमा बस्नुभएको थियो । त्यहाँबाट ल्याएर वन छेऊमा बस्न लगाइयो । पहिले घर भएको उक्त जग्गामा उहिल्यै अर्को व्यक्तिले घर बनाइसकेको छ । अनि अहिले हामीलाई विना विकल्प घर तोडेर जान भनिरहेको छ । हामी भूमिहीन मुसहर कहाँ जाऊ ?
महामहिम ज्यू,
मैले हजुरलाई हामी मुसहर समुदायको स्थितिको बारेमा भनिरहनु पर्दैन, किनकि हजुर पनि मधेसकै बासिन्दा हुुनुहुन्छ । नेपाली नागरिकताबाहेक अरु कुनै लिखित प्रमाण हामीसँग छैन ।
मेरा बुबाले पटक पटक समितिलाई वन सरक्षण गरे वापत पाउने ज्याला माग गगुर्नभयो । तर समितिले आज भोलि भन्दै टार्दै गयो । वन संरक्षण गरे वापत केही नपाई बुबा बित्नुभयो । के हामीजस्तो मुसहरलाई वन छेऊबाट हटाएर वन संरक्षण हुन्छ ? के हामी यो देशको नागरिक होइन ? यदि हो भने हाम्रो बासको अधिकार सुनिश्चित गर्ने काम सरकारको होइन ?
महामहिम ज्यू,
हामीलाई उचित विकल्प दियो भने हामी त्यहाँबाट हट्न पनि तयार छौं । तर, वन कार्यालयका डीएफओ लगायतका कर्मचारी तानाशाही किसिमले विना विकल्प हाम्रो घरमा आगो लगाए र हामी घरवारविहीन भयौं भने हामी नेपाली भएको प्रमाणको रुपमा रहेको नागरिकता तपाईलाई बुझाउन चन्दा मागेर भए पनि काठमाण्डौं आउने छौं ।
अन्त्यमा, महामहिम ज्यू,
हामी भूमिहीन गरीबहरुको घर बनाइदिने भाषण तपाईले रेडियोबाट गरेको सुनें, मलाई विश्वास छ, तपाईले हाम्रो पीडा बुझेर केही पहल गरी हाम्रो अधिकार सुनिश्चित गरिदिनुहुनेछ ।
निवेदक
दुःखी सदा, जमाहिर सदा र हरेराम सदा
लोहजरा–३, सप्तरी




तपाईको प्रतिक्रिया