Khadya Bibhag

यो त हाम्रो लागि मर्नु जिउँनुको सवाल भएको छ

महेन्द्रराय यादव
अध्यक्ष, तराई मधेश सद्भावना पार्टी

तपाईहरु त अब वार कि पारको आन्दोलन हुन्छ भन्नु हुन्छ कस्तो हुन्छ वारपारको आन्दोलन ?
–पहिलो कुरा त आन्दोलन गर्ने कसैको रहर हुँदैन । बाध्यता हुन्छ । हामीले मधेश आन्दोलन गरेपछि सम्झौताहरु हुँदा अब आन्दोलन गर्नु पर्दैन कि जस्तो लागेको थियो । तर, राज्यले सम्झौतामा हस्ताक्षर गरेपछि पनि जुन रुपमा प्रस्तुत भएको छ त्यसपछि हामीलाई सोच्न बाध्य बनाएको छ । हाम्रो माग कुनै ठूलो होइन र नयाँ पनि होइन । विगतमा भएको सम्झौतालाई कार्यान्वयन गरि दिए हुन्छ । जुन कुरा राज्यले स्वीकार गरिसकेका छन् तर कार्यान्वनमा ल्याइरहेका छैन । पहिलो सविधानसभामा भएका सहमति अनुसार नै दोस्रो सविधान बनाउने कुरा भएको थियो तर अहिले आएर त्यसको ठिक उल्टो भयो । पहिलो सविधानसभाको कुनै पनि सहमती भएका विषयलाई लिएको छैन । यसले गर्दा के बुझ्न सकिन्छ भने चार दल भनौ वा सरकार भनौ निरकुँश हुँदै गइरहेका छन् । निरकुँश यस्तो कि राजा महाराजाले पनि त्यस्तो गरेका थिएन । अब हामीसँग कुनै बाटो छैन । नसविधासभामा बोल्ने हैसियत छ न सिहदरवारमा बोल्ने हैसियत छ । अब मधेशी जनतामा गएर बोल्नु, मधेशी जनताको अधिकारका लागि लड्नु बाहेक अरु कुनै उपाय छैन । त्यसैले हामी त्यसलाई वारपारका आन्दोलन भनेका छौ । आन्दोलनको शुरुवात भइसकेको छ । अहिले पनि केही विग्रेको छैन । राज्यले आफूलाई सुधार गरोस् हामी त्यही चाहन्छौ । हामीसँग भएका सम्झौताहरुलाई कार्यान्वयन गरोस् भनेका छौ । यदि त्यस्तो भएन भने अब सम्झौताहिन आन्दोलन हुन्छ । आन्दोलनबाट नै सबै छिनोफानो हुन्छ ।

वारपारको आन्दोलन विखण्डनतिर पनि जान सक्छ भन्नु भएको हो ?
–होइन, हामी विखण्डनको पक्षमा छैन । हामी नेपालमै बस्न चाहन्छौ । नेपालमै अधिकार लिन चाहन्छौ । नेपालमै स्वयत्तता, अधिकार सम्पन्न राज्य चाहिन्छ । त्यही हाम्रो माग हो । हामी अलग देश बनाउने वा विखण्डन गर्ने पक्षमा छैनौ । यदि भोली कुनै कारण देश विखण्डन तिर गयो भने त्यसको जिम्मेवारी राज्यले लिनुपर्छ । यसको दोषी राज्य हुन्छ किनभने कोही कसैले स्वतन्त्र मधेश, स्वतन्त्र राज्य, छुट्टै देश माग्नुको विभिन्न कारणहरु हुन्छ । बाध्य भएर त्यस्तो मागमा उत्रेका हुन्छन् । जो विश्वमा यसअघि टुक्रिएका देशहरुको उदाहरणबाट बुझ्न सकिन्छ । पाकिस्तानबाट बंगलादेश किन अलग भए ? अरु अरु देशहरु पनि टुक्रिएका छन् त्यसमा उनीहरुको रहर थिएन राज्यले बाध्य पारेको थियो । तर हाम्रो लागि अहिले त्यस्तो बाध्यात्मक अवस्था सृजना भएको छैन । सबै कुरा सहमति सल्टिने कुरा हो । र राज्यले चाहियो भने सल्टाउन सकिन्छ । धर्मनिरपेक्षता, स्वायत्त मधेश प्रदेश, समानुपातिक समावेशीलगायतका मागहरु हुन जुन पहिला त्यसमा सहमति भइसकेका छन् । अहिले आएर आनाकानी गरिरहेका छन् ।

भनाईको अर्थ राज्यले तपाईका माग पुरा गर्न चाहेनन् वा तपाईहरुले उठाएको माग पुरा भएन भने देश टुक्रिन सक्छ ?
–म त्यो कुरा भन्दिन । यो कुरा राज्यसँग नै सोध्नुस् । मैले अघि नै भनिसके कि राज्य विखण्डनतिर गयो भने यसको दोषी राज्यले लिनुपर्छ ।

अहिले तपाईहरु के का लागि आन्दोलन गर्दै हुनुहुन्छ ?
–मैले अघि पनि भने कि हामी कुनै नयाँ कुराका लागि आन्दोलन गरिरहेका छैनौ । हाम्रा सबै पुरानै मागहरु हुन् । त्यही मागलाई अहिलेको मस्यौदामा समावेश नगरेको कारण हामी आन्दोलित भएका हौं । मधेश आन्दोलनको मुख्य माग संघीयतालाई नै मस्यौदामा समावेश गरेको छैन भने अरु कुरा के गर्ने । यो त हाम्रो लागि मर्नु जिउँनुको सवाल भएको छ । ५६ जना मधेशी युवा जसका लागि सहादत प्राप्त गरे त्यही कुरा सविधानमा आइरहेका छैन भने हामी राजनीतिक किन गर्यौं त । या राजनीतिकबाट सन्यास लिनुपर्छ या कि त्यसका लागि लड्नुपर्छ । अब हामीसँग दुईटा विकल्प मात्र बाँकी छ ।

मस्यौदामा त संघीयता भने शब्द उल्लेख गरेका छन् त अब के चाहियो ?
–तपाई पेन्ट लगाउनु हुन्छ त्यसमा बटम वा चेन नलगाउनुस् । बेल्ट पनि नलगाउनुस् । त्यहाँ अडिने केही पनि नलगाउनुस् त अबस्था के हुन्छ । त्यही भएको छ संघीयतालाई । संघीयता भन्ने शब्द राखिएको छ तर नागैं छ । नामविनाको संघीयता कस्तो हुन्छ ? सिमांकन विनाको संघीयता कस्तो हुन्छ ? तपाई नै भन्नुस् त । यो कसलाई उल्लु बनाउन खोजेको हो । यतिका दिन ढिलो भएर केही विग्रेन नामाकंन र सिमाकंनसहितको संघीयता ल्याएर सविधान जारी गरेको भएको के जान्थ्यो । अखिर हामीसँग दुई वर्ष अझै बाँकी छ । इमान्दारी पूर्वक लागेको भए सबै कुरा यसैमा टुग्यांएर अगाडि बढ्न सकिन्थ्यो तर बदमाशी नियतको परिणाम हो यो । र, यसले गलत नतिजा दिनसक्छ ।

आयोगको प्रतिवेदनसम्म त धैर्य गर्नु पथ्र्यो नि ?
–के हो आयोग ? हामीलाई थाह छैन । सविधानसभा हुँदा हुँदै किन चाहियो आयोग । यसअघि पनि आयोगले प्रतिवेदन ल्याएको थियो । सबैले स्वीकार पनि गरेको थियो तर त्यसको प्रतिवेदन किन कार्यान्वयन भएन । फेरि अहिले आएर किन आयोग बनाउनु पर्यो । मानुस्, मलाई त विश्वास छैन त्यस्तो आउँछ तैपनि यदि यसअघिको आयोगले ल्याएको प्रतिवेदन जस्तै यो आयोगले पनि प्रतिवेदन ल्याए भने काँग्रेस, एमाले र माओवादीले स्वीकार गर्न सक्छ ? त्यसको पहिला ग्यारेण्टी गरोस् त । तर मलाई विश्वास छ त्यस्तो प्रतिवेदन पनि आउँदैन र आएपनि यी ठूला दलहरुले स्वीकार गर्दैनन् पनि । त्यसैले आयोग गठनको नै हामीले विरोध गरेका हौं । १६ बुँदे सम्झौता हुँदा नै त्यसको विरोध गरेका हौं भने आयोगबाट आउने प्रतिवेदन वा नआउने प्रतिवेदनसँग हामीलाई कुनै सरोकार छैन । सरोकार सविाधनसभासँग छ । जहाँ छलफल गरेर सबै कुरा सहमतिमा टुग्यांउनुपर्छ । तर ती दलहरुले त्यस्तो गर्ला जस्तो लाग्दैन ।

आन्दोलनको कस्तो छ तयारी ?
–हामी २६ गतेदेखि विभिन्न चरणको आन्दोलनमा छौ । हिजो (असार २९ गते) काठमाडौमा विरोध जुलुस प्रदर्शन गरियौं । अब १ गतेदेखि जिल्लामा विरोधका कार्यक्रमहरु छन् भने ४ र ५ गते निर्वाचन क्षेत्रहरुमा संघर्षका कार्यक्रमहरु तय भएका छन् ।

४ र ५ गते सविधानसभाका सदस्यहरु पनि निर्वाचन क्षेत्रमा जनतासँग छलफल गर्न जाँदैछन् त्यही दिन तपाईहरु पनि कार्यक्रम राख्नु भएको छ भने मुठभेड हुँदैन ?
–हामी मुठभेड चाहेका छैनौ । यो राज्यले जनता जनताबीचमा लडाई रहेका छन् । राज्य पनि चाहन्छन् कि मधेशमा केही होस् र यही बहानामा सविधानसभा भंग गरेर राजालाई ल्याउ । पंचायती शासनलाई ल्याउ । तर हामी त्यो चाहन्न । हामी १६ बुँदे सम्झौतादेखि नै त्यसको विरोध गर्दै आएका छौ । सर्वोच्च अदालतले पनि त्यसलाई रोक्न अन्तरिम आदेश गरेको छ । राष्ट्रपति डा.रामवरण यादवले पनि चार दलका नेतालाई बोलाएर अन्तरिम सविधान अनुसार गर्नु गराउनु भनिसक्नु भएको छ । चारैतिरबाट चारदलको कार्यको विरोध भइरहेको छ तैपनि उनीहरु जवर्जस्ती मस्यौदा तयार गरेर जनतामा लगेका छन् । अब भन्नुस्, जनता जुन मस्यौदालाई अस्वीकार गरिसकेका छन् त्यही मस्यौदालाई जनतामाझ लग्यो भने के हुन्छ । त्यहाँ त पक्कै पनि जनताले विरोध गर्छन् । मस्यौदा च्यात्छन् । सविधानसभा सदस्यहरुलाई लखेटेर पठाउँछन् । यसमा हाम्रो के दोष ? अब मुठभेड हुन्छ कि के हुन्छ त्यही दिन थाह हुन्छ तर हाम्रो आन्दोलन शान्तिपूर्ण छ ।

तीन दलले त हामीसँग मधेशी दल पनि छन् भन्दै छन् नि ?
–कुन मधेशी दल ? मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको बारेमा सायद तपाई भन्दै हुनुहुन्छ । जो मधेशको मुद्दामा प्रतिवद्ध छैन । मधेशलाई धोका दिन्छन् भने त्यस्ता दललाई मधेशको दल के भन्नु । जुन दलले मधेशलाई दमन गरेका छन् । मधेशको अधिकार खोसेका छन् । मधेशीको अधिकार दिन चाहेका छैन सोही दलसँग गठबन्धन गरेका छन् भने त्यस्तो दललाई कस्तो मधेशी दल भन्ने । जो मधेशको अधिकारका लागि सडकमा छन् । आन्दोलन गरिरहेका छन् त्यो मधेशका दल हुन् । त्यसको कुरा मात्र गर्नुस् । अरु त यस्ता कति आए कति गए ।

तपाई त विजय गच्छदारको मोर्चामा हुनुहुन्छ भने कुराको हल्ला छ नि ?
–यो देशलाई हल्लै हल्लाको देश त्यतिकै भनेको होइन । जे कुराको पहिला हल्ला हुन्छ अनि पछि मात्र त्यसको बारेमा स्पष्ट हुन्छ । म दिल्लीमा उपचारमा थिए । हाम्रा दलका वरिष्ठ नेता रामनरेश राय यादव पार्टीको नेतृत्व गरेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध भएर काम गरिरहनु भएको थियो तैपनि हल्ला भयो कि गच्छदारतिर महेन्द्रराय यादवको पार्टी गयो हल्ला भयो । मलाई पनि अच्चम लाग्यो । मेरो पार्टीका नेताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निर्णयमा हस्ताक्षर गरेका छन् तैपनि विश्वास नगरेर अफवाह फैलाएको थियो तर म आन्दोलनको पक्षमा छु कसैको पक्षमा छैन । जहाँ जनताको लागि आन्दोलन हुन्छ, जहाँ जनताको अधिकारका लागि लड्नुपर्छ म त्यही छु र त्यही रहने छु ।

तपाईलाई त गच्छदारले दिल्लीसम्म सम्पर्क गर्यो रे भनि कुरा आयो, सही हो ?
–हो, एक दुई पटक गच्छदारजी ले मलाई सम्पर्क गर्नु भएको थियो तर म उहाँसँग जाने इच्छा देखाइनन् बरु उहाँलाई नै मैले मधेशी जनताको पक्षमा लाग्नुस् । मधेशी जनताले के चाहेका छन् त्यसमा साथ दिनुस् भनेका थिए । त्यसपछि उहाँले सम्पर्क गर्नुभएन ।

तपाईलाई सम्पर्क गरेर के भन्नु भएको थियो उहाँले ?
–मेरो स्वास्थ्यको बारेमा सोध्नु भएको थियो । कहिले आउनु हुन्छ भनि सोध्नु भएको थियो । सविधान निर्माणका लागि अब मिलेर काम गर्नुपर्छ भन्नु भएको थियो । खासै कुरा भएन । मैले आएपछि कुरा गर्छु भनेका थिए ।

आएपछि कुरा भयो कि भएन त ?
–आएपछि कुरा भएको छैन । आउने वित्तिकै म आन्दोलनका लागे । मधेशी मोर्चामा सक्रिय भए । कुरा गर्न फुर्सद पनि भएन । गच्छदारले पनि सम्पर्क गर्नुभएन ।

तपाईको प्रतिक्रिया