अहिले म एउटा पिडीत पत्रकार हुँ । न्यायको पर्खाइमा छु । गएको श्रावण ४ गते धनुषाको क्षेत्र नं. ४ मा संविधानको प्रारम्भिक मस्यौदा रायसुझाव संकलन स्थल उद्योग बाणिज्यसंघ क्षेत्रमा उज्यालो नाईन्टी नेटवर्कको ज्याकेट र परिचय पत्रसमेत झुण्ड्याएर समाचार संकलन गरिरहेको बेला प्रहरीहरुले जानवर जस्तै लखेटी लखेटी लठ्ठी प्रहार गरेर निर्घात कुटपीट गरेको कुरा यहाँहरु सबैलाई अवगतै होला । जस्को भिडियो प्रमाण पनि छ । जुन घट्नामा नेपाल प्रहरीका धनुषाका प्रहरी उपरीक्षक (एसपी) गणेश बहादुर थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण प्रसाई र ईन्सपेक्टर निरञ्जन थापाको संलग्नता रहेको छ ।
प्रेस लेखिएको ज्याकेट ,परिचय पत्र लगाएको भएतापनि पत्रकार हो भनेर जानी जानी म लगायत अन्य पत्रकार साथिहरु माथि कुटपीट एवं दुरव्यवहार र केही पत्रकारसाथीको प्रेस लेखिएको मोटरसाईकल समेत प्रहरीले तोडफोड गरेका छन् ।
अस्ति म उपचार गराएर रेस्टमा छु । अहिले सम्म मेरो चोटको पिडा कम भएको छैन । यस घट्नालाई लिएर श्रावण ४ गते नै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ धनुषा सहित अन्य पत्रकार संघसंगठनहरुले विज्ञप्ती निकाले घट्नाको भत्र्सना एवं दोषीहरुलाई अभिलम्ब कडा कारबाहीको माग गरेका छन् । अस्ति नेपाल पत्रकार महासंघ धनुषाले विज्ञप्ति निकाल्दा एसपी,डीएसपी र ईन्सपेक्टरको संलग्नतामा भएको भन्दै कारबाहीको माग गरे । आज श्रावण ८ गते नेपाल पत्रकार महासंघ धनुषाले दोषीहरु माथि कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदा ज्ञापन पत्रमा डीसपी कृष्ण प्रसाई र ईन्सपेक्टर निरञ्जन थापाको मात्र नाम उल्लेख गरिएको छ ।
तर घट्नमा संलग्न जिल्लाका सरक्षा निकायकै प्रमुख एसपी गणेश बहादुर थापाको नाम किन हटाईएको छ ? यो प्रशन छ धनुषा शाखाका पदाधिकारीहरुसंग । आखिर किन बचाउन खोजिएको हो एसपी थापालाई ? पाँच दिनमा फेरी काहीँ डीएसपी कृष्ण प्रसाईको नाम त हाराउने हैन ? कारबाही हँुदा सम्म काँही ईन्सपेक्टर निरञ्जन थापाको नाम त हराउने हैन ? भन्ने जस्तो मनमा आशंका उब्जेको छ महासंघको त्रुटिपूर्ण ज्ञापन पत्रको कारणले । ‘मुखमा राम राम ,बगलीमा छुरा’ भने जस्तो त हुने छैन महासंघको भूमिका । यदि दोषीहरुलाई उन्मुक्ति नै दिने महासंघको उद्देश्य हो भने मेरो भन्नु केही छैन । यदि म नै दोषी छु भने महासंघले मलाई नै कारबाही गर्नु पर्यो । यस अघि पनि म माथि केहि दुरव्यवहारको घट्नाहरु भएको छ । जसमा नुन सातु लगाईएको छ । मनलाई बुझाए । तर यसपालिको चोट र उनीहरुले जानी जानी गरेको गम्भीर गल्तीले मलाई असहय बनाएको छ । त्यसैले दोषीहरुमाथि कडा कारबाही नभएसम्म म एकलो भएपनि कुनैपनि कसर बाँकी राख्ने छैन ।




तपाईको प्रतिक्रिया