काठमाडौ साउन ४ गते । आज देशैभरी सविधानको प्रारम्भिक मस्यौदामाथि राय सुझाव संकलन गर्ने कार्य शुरु भएको छ । तर प्रत्येक निर्वाचन क्षेत्रमा जनताभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर राय सुझाव संकलन गर्ने कार्य गरेको छ । त्यस्तै मस्यौदा संकलनको बारेमा सत्ताधारी दलका नेताले नै विरोध गरेका छन् । आफ्नो गृह जिल्ला राय सुझाव संकलन कार्यक्रममा भाग लिन त्यहाँ पुगेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानको प्रारम्भिक मस्यौदामाथि राय सुझाव लिने कामलाई नौटंकीको संज्ञा दिएका छन् ।
राय सुझाव लिने काममा हतारो देखिएको भन्दै पौडेलले दुइ दिनमा सुझाव संकलन असम्भव र अव्यबहारिक देखिएको भन्दै सुझाव संकलन देखावटीमात्रै भएको बताएका छन् ।
फास्टट्र्याकबाट संविधान बनाइनु अस्वभाविक भएको बताउँदै उनले ‘राय सुझाव लिएरमात्रै भएन त्यसलाई राम्रोसँग अध्ययन गरी मस्यौदामा व्यापक परिमार्जन गरी संविधानको अन्तिम रुप दिनुपर्ने बताए । उनले ‘यति ठूलो योजना, ठूलो जनशक्ति, साधनस्रोत परिचालन र अर्बौको लगानी खेर फाल्नु हुँदैन । अहिले केही नेताको नाटकमात्रै भएको बताए ।
सुझाव संकलनको काम देखावटीमात्रै भएकाले आफूले हतार नगर्न भनेको तर नेताहरुले नमानेको बताए । ‘हतारमा संविधान जारी गर्नु हुन्न । केही नेताको नाटकमात्रै नहोस्,’ उनले भने ।
प्रक्रिया मात्रै पूरा गरेर नहुने भन्दै उनले जनताले दिएको रायसुझाव राम्रोसँग अध्ययन गरी प्रतिवेदन बनाएर संविधान सभामा ब्यापक छलफल गर्नुपर्ने र परिमार्जन गरी संविधानको अन्तिम रुप दिनुपर्नेमा जोड दिए ।
‘एकसाता पछि सार्दा के बित्छ’ उनले भने, ‘सुझाव हेर्दै नहेरी पोको पारेर राख्न पाइँदैन । तर अहिले त्यस्तै होलाजस्तो छ ।’
दलहरुले आफ्ना अडान त्यागेमा प्रदेशको सिमांकन सजिलै टुंगो लाग्ने उनले बताए ।



तपाईको प्रतिक्रिया