जनकपुर, असार २८ गते । व्यावसायिकरुपमा आँपखेती गर्दै आएका किसानलाई सरकारले सहुलियत दरमा आँपको बोट उपलब्ध गराउन थालेपछि राहत महसुस गरेका छन् ।
यसअघि किसानले निजी नर्सरीबाट बढी मूल्य तिरेर आँपको बोट खरिद गर्दा ठगिँदै आएका थिए । सेवा केन्द्रको सिफारिसमा जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराउने आँपको बोटमा ५० प्रतिशत अनुदान दिने गरेको बागवानी विकास अधिकृत राम सगारथ मण्डलले बताउनुभयो ।
कार्यालयले प्रतिवटा रु ४५ पर्ने सो आँपको बोट ५० प्रतिशतको अनुदानको हिसाबले प्रतिबोट २२ रुपैयाँ ५० पैसामा उपलब्ध गराउँदै आएको छ ।
कार्यालयले आव ०७१÷०७२ मा ११ हजार ५०० आँपको बिक्री गर्ने लक्ष्य लिएको छ । जसले व्यावसायिकरुपमा आँपखेती गर्दै आएका छन् त्यस्ता किसानलाई बढी ग्राहयता दिने गरिएको कार्यालयले जनाएको छ ।
किसानलाई बम्बई, माल्द, कलकतिया, दशहरि, अम्रपाली जस्ता उन्नत जातको आँपको बोट उपलब्ध गराउँदै आएको छ । धनुषा जिल्लामा दुई हजार ९५६ हेक्टर क्षेत्रमा आँपखेती गरिए पनि उत्पादनशील क्षेत्र भने दुई हजार २०० हेक्टर मात्र रहेको छ ।
यस वर्ष जिल्लामा रु ६८ करोड १३ लाख २० हजार मूल्य बराबरको १७ हजार ३३ मेट्रिक टन आँप उत्पादन भएको सो कार्यालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया