काठमाडौ असार २६ गते । हेलो महेन्द्र सर नमस्कार, सर विभिन्न माग राखी नेपाल पत्रकार महासंघ सप्तरी शाखामा विगत १२ दिनदेखि तालाबन्दी छ । तर, यसको समाधानका लागि कसैले कतैबाट कुनै चासो लिएको छैन । महासंघ सप्तरी शाखा मनमानी ढंगबाट अगाडि बढिरहेका छन् । यहाँका क्रियाशिल पत्रकारलाई किनारामा राखि महासंघले आफ्नै ढंगले काम गरिरहेका छन् । यसको समाधान चाँडै हुनुपर्यो । पत्रकारहरुको विकासका लागि महासंघले कुनै गतिविधि गरिरहेका छैन । मेडिया हाउसहरुमा मधेसीहरुको समान सहभागिता हुनुपर्ने, रोजगारीको सुनिश्चिता हुनुपर्ने कुरा मधेशी पत्रकारहरुले विगतदेखि उठाउँदै आएका छन् तर कतैबाट कुनै सुनुवाई भएको छैन ।
सप्तरीका पत्रकार श्यामसुन्दर यादवले नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलाई गरेको गुनासो हो यो । मधेशी पत्रकार संघले पत्रकारहरुको गुनासो र समस्या सुन्नका लागि आज सार्वजनिक गरेको ९८०१५७१००७ टोल फ्रि (पैसा नलाग्ने नम्बर) नम्बरमा अध्यक्ष विष्टले पत्रकार यादवसँग कुरा गर्दै सो नम्बर सार्वजनिक गरेका हुन् ।
पत्रकार यादवको गुनसो सुनेपछि अध्यक्ष विष्टले महासंघमा ताला लगाएर मात्र समस्या समाधान हुँदैन, यसको समाधान खोज्नुपर्छ । त्यहाँ वरिष्ठ पत्रकारहरुलाई बसाएर कसरी समाधान निकाल्न सकिन्छ निकाल्नुस् । यता केन्द्रबाट त्यसका लागि के सहयोग चाहिन्छ सबै गर्न तयार रहेको प्रतिकृया दिएका थिए । उनले नेपाल पत्रकार महासंघ समावेशी सिद्धान्तलाई अँगालेर अगाडि बढी रहेको छ । हरेक मेडिया हाउस समावेशी हुनुपर्छ भनि अवाज उठाउँदै आइरहेको तथा पत्रकारको पेसागत हितका लागि लड्दै आइरहेको कुरा राखेका थिए ।
नम्बर सावर्जनिक कार्यक्रममा उपस्थित प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारको समस्या र सुरक्षाको चिन्ता लिएर संघले गरेको यस्तो कार्यको प्रशंसा गर्दै मोफसलमा रहेका पत्रकारलाई बढी समस्या रहेकाले गुनासो सुनेर त्यसको समाधानमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
युनेस्को अन्तरर्गत पत्रकारको सुरक्षा कार्यक्रमका संयोजक लक्ष्मण दत्त पन्तले नेपालको पत्रकारितामा नयाँ प्रयास हो, यसले पत्रकारहरुको पीडालाई कम गर्ने विश्वास व्यक्त गरे । यहाँ असुरक्षित रहेका, पीडामा रहेका पत्रकारहरुको गुनासो र पीडा सुन्ने माध्यम पनि छैन, कसैको पीडा पनि सुनि दियो भने पीडकहरु कम हुँदै जानेछ, उनले भने, गुनासो, समस्या सुनेर त्यसलाई कार्यान्वयनमा ल्याउनुस् ।’ उनले यसमा युनेस्कोको पत्रकार सुरक्षा कार्यक्रमले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।



तपाईको प्रतिक्रिया