मधेशवादी दलद्धारा सविधानसभा बहिष्कार
काठमाडौ, असार २० गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामा समेत मधेशको माग नसमेटिए काठमाडौका लागि नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरुले संविधानसभा र काठमाडौ एकैपटक छाड्ने निर्णय गरिसकेको र अरु दललाई पनि यस विषयमा प्रस्ताव गरिसकेको बताए ।
अध्यक्ष महतोले भने– ‘इतिहासमा कहिल्यै नभएको आन्दोलन अब मधेशमा हुन्छ । त्यो आन्दोलनका लागि हामीले अन्तिम मस्यौदासम्म कुर्छौ । त्यसमा पनि हाम्रो भावना संम्बोधन भएन भने संविधानसभा त्यागेर काठमाडौको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी काठमाडौबाट सम्बन्ध विच्छेद गरेर मधेश जान्छौ ।’
उनले आफूहरुको आन्दोलनमा भारत लगायत सारा दुनीयाँको समर्थन रहने दावी गर्दै भारत विगतका सहमति र सम्झौता अनुसार संविधान बन्नु पर्छ भन्नेमा स्पष्ट रहेको बताए ।
सारा दुनियाँको आग्रहमा भारतले मधेस आन्दोलनलाई सम्झौतामा टुङग्याउन मध्यस्थता गरेकाले सो सहमति अनुसार नभएपछि सम्झाउन भारतीय दुतावास गएका हौं, उनले भने– ‘हामीलाई सम्झौतामा जानका लागि भारतले आग्रह गरेको थियो । मधेशवादी दलसँग भएको सम्झौताको साक्षिमा भारत बसेका थियो । तर सहमति अनुसार केही पनि भइरहेको छैन ।’
भारतीय राजदूत रेले आफूहरुको मध्यस्थमा भएको सम्झौत बारे जानकार रहेको र संविधानको मस्यौदा सहमति अनुसार नआएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहमतिमै संविधान जारी गर्न पटक पटक भनेको कुरा स्मरण गराउँदै अध्यक्ष महतोले भारत विगतका सहमति अनुसार संविधान जारी हुनु पर्नेमा स्पष्ट भएको बताए ।
मधेशवादी दलका नेताहरु भारतीय दूतावास किन गएको पत्रकारको जिज्ञासामा उनले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड भारतीय दुतावास र दिल्ली जान हुने आफूहरु भारतीय दुतावास जान किन नहुने प्रतिकृया दिए ।
उनले विगतमा सात संसदवादी र माओवादी गरी ८ दलको शतप्रतिशत सहमतिमा बनेको अन्तरिम संविधान विरुद्ध आन्दोलन भएको स्मरण गराउँदै अहिले ९० प्रतिशत मात्रै जनमत बोकेका दलहरुले बनाएको संविधान कहाँ जान्छ अहिले कसैले कल्पना गर्न नसक्ने दावी गरे ।
महतोले अहिल नै सीमाङकनसहितको संघीयता संविधानमा नल्याए कहिल्यै पनि संघीयता नआउने ठोकुवा गर्दै चार दलले जवरजस्ती लागु गर्न खोजे पनि त्यस्तो संविधान लागु नहुने चेतावनी पनि दिए ।
मस्यौदाले मधेसमाथि संबैधानिक कु गरेको आरोप लगाउँदै उनले बेईमान दलहरुले मुलुकलाई राष्ट्रघात तर्फ लगेको टिप्पणी पनि गरे ।
उनले अहिलेकै मस्यौदा अनुसार संविधान बने मधेसलाई ५० वर्ष पछाडि धकेल्ने र मधेस आन्दोलनका सबै उपलब्धि समाप्त पार्ने दावी गर्दै दलहरुले सिमाङकन कोर्न नसक्ने संघीयता कुन ग्रहको मानिस आएर कोर्ने भनि प्रश्न गरे । महतोले यसलाई संघीयता नदिने षडयन्त्रको संज्ञा दिए ।
महतोले स्वायत्तताको लागि चाहिएको प्रदेशलाई विकास क्षेत्र, अञ्चल र जिल्ला जति पनि अधिकार नदिएको दावी गर्दै अधिकार विनाको संघीयता आफूहरुलाई मान्य नहुने बताए ।
सद्भावना पार्टीमा अध्यक्ष महतोले आज विज्ञप्ति जारी गरी मस्यौदाको विरोध गरेको छ । उनले आज जारी गरेको प्रेस नोटमा ७ वटा कुरा उठाएका छन् । ती मुद्दाहरु सम्बोधन नभए कठोर संघर्षमा जाने चेतावनी पनि दिएको छ ।
यसैबीच आफूहरुले पटक पटक ध्यानाकर्षण गराउँदा पनि मस्यौदामा कुनै सुधार नगरेको तथा आफूहरुको मागप्रति कुनै सुनवाई नगरेको भन्दै मधेशवादी चार दल संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टी सविधानसभालाई बहिष्कार गरी बाहिरिएका छन् ।



तपाईको प्रतिक्रिया