Khadya Bibhag

पानीले तिघ्रा नडुबे पनि स्नान गर्ने आस्थावान्को गेरुवामा घुइँचो बढ्दै

जनकपुरधाम, ९ असार । पानीले तिघ्रा नडुबे पनि स्नान गर्ने आस्थावान्को यहाँ घुइँचो बढ्दै गएको छ । आजभोलि यी दृश्य हेर्न सकिने ठाउँ हो – मिथिलाको राजगीर भनी प्रचलित गेरुवा । पुरुषोत्तम मासमा इष्टदेवी देवता घरमा बास नगरी राजगीर ( भारत विहारको धार्मिक स्थल) जान्छन् भन्ने मान्यताअनुरुप सो समयमा राजगीरमा स्नान गर्ने चलन भएझैँ गेरुवा पनि स्नानका लागि गन्तव्य स्थल बन्न पुगेको छ । पुरुषोत्तम पुराणमा वर्णित नदीमा पुरुषोत्तम महिनामा स्नान गर्नाले इच्छित फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ । हरेक दुई वर्ष आठ महिनामा आउने पुरुषोत्तम मासमा गेरुवा स्नानबारे पुराणमा समेत वर्णन गरिएको छ । पुराणअनुसार पुरुषोत्तम मासमा गेरुवा नदीमा स्नान र भगवान् रामको पूजापाठ गर्नाले महाकुम्भ स्नान बमोजिमको फल प्राप्त हुन्छ । पञ्चकोशी परिक्रमा क्षेत्रभित्र रहेको गेरुवा नदीको पश्चिमपट्टि भगवान् राम जानकी मन्दिर र छेउमा हनुमानको मूर्ति तथा शिवलिङ्ग पनि स्थापना गरिएको छ । विग्ही र गरुवा नदीको संगम स्थलमा पुरुषोत्तम मासको आरम्भसँगै स्नान गर्नेहरुको भीड सुरु भए पनि विशेष गरी आइतबार र मङ्गलबार स्नान गर्नेको घुइँचो लाग्ने गरेको छ । गेरुवा नदीमा स्नान गर्नाले चर्म रोग निको हुने, चिताएको कुरा पूरा हुने तथा मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ । यस स्थलमा भारतको मधुवनी, दरभङ्गा, सीतामढीलगायतका जिल्लाका श्रद्धालुसमेत स्नान गर्न आउने गरेका छन् । सदरमुकाम जनकपुरदेखि करिब ८ किलोमिटर पश्चिम महोत्तरी जिल्लाको खुट्टा पिपराडी गाविसअन्तर्गत सो स्थलमा विग्ही नदी र गेरुवा नदीको संगम स्थलमा स्नान गर्ने परम्परा रहेको छ । मैथिल संस्कृति सर्वजाति र समन्वयवादी रहेको छ । यसमा एक अर्काको उपयोगिता अनिवार्य रहेको तथ्यलाई पनि गेरुवाको स्नानमा नियाल्न पाइन्छ । गेरुवा स्नान गर्ने क्रममा द्रव्य र कोइलाबाट तयार गरिएको गेरुवा लिन नुहाउने चलन पनि रहिआएको छ । नुहाउनेले भाकल अनुसार सो नदीमा गेरुवा, झाँप, भन्टाको भार चढाउने गर्दछन् भन्ने कतिपयले बोकाको बलीसमेत दिने गरेको देखिन्छ । स्नान गरेपछि श्रद्धालुले सो नदीको जल घर ल्याउने चलन छ । यहाँको जलले आफन्त र घरलाई अभिषेक गरी शुद्ध गर्ने परम्परा छ । देवीदेवता पुज्ने यो रहस्यमय अनुष्ठानलाई सांस्कृतिक मेलाको संज्ञा पनि दिइएको छ । चिउरा, दही, मुरही, कचरी, झिली, तरकारी पुरी, जिलेबी, सिन्दुर टिकली, टीका, फित्ता, ककवा आदिको बिक्रीसँगै श्रद्धालुद्वारा व्यक्त गरिने यस मेलामा मैला निस्की हाल्ने अवस्थाले पनि यस स्थलमा स्नान गर्नेको घुइँचो लाग्दछ । गुठी संस्थानको अधिनमा रहेको सो स्थलको मन्दिरका मूर्ति सम्बन्धमा कसैले राम, कसैले विष्णु भगवान् मानी पूजा अर्चना गर्ने गरेको समेत पाइन्छ । सो स्थलमा रहेको महादेव र पार्वतीको कालो पत्थरको मूर्ति अनुसन्धानका लागि महत्वपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया