Khadya Bibhag

पहाडमा कति छ दाइजो सम्बन्धि हिंसा ?

दाइजो अर्थात् दहेजसम्बन्धी हिंसाका घटना पहाडका जिल्लामा पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

नेपाल मधेश फाउण्डेशनका लागि अनुसन्धानकर्ता रीता साहले गरेको अध्ययनअनुसार दाइजो हिंसासम्बन्धी घटना पछिल्ला वर्षहरुमा पहाडी भूभागमा पनि बढ्दै गएको छ ।

सन् २०१२ मा हिमाली र पहाडी भेगमा क्रमशः एक÷एक वटा दाइजोसम्बन्धी हिंसा भएकोमा सन् २०१३ मा पहाडमा मात्रै १२ जना महिलाले दाइजोसम्बन्धी हिंसा झेल्नुपरेको तथ्य अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

दहेजसम्बन्धी घटनाका लागि तराई–मधेश उर्वर भूमि रहँदै आएको छ । त्यस अध्ययनले तराईमै प्रतिवर्ष दहेजसम्बन्धी हिंसा बढ्दै गएको देखाएको छ । सन् २०१२ मा तराईमा दहेजका कारण १० वटा महिला हिंसाका घटना बाहिर आएको थियो भने त्यसको एक वर्षपछि १४ वटा घटना सार्वजनिक भएको थियो ।

मधेशी समुदायमा दाइजोको लेनदेन बिहेअघि नै नगद र जिन्सीको रुपमा गरिन्छ भने पहाडी समुदायमा बिहेको बेला जिन्सीको रुपमा दाइजोको लेनदेन गर्ने चलन छ । पहाडी समुदायमा पनि बिहेको बेला नगदको लेनदेन बढेको अनुसन्धानकर्ता साहले बताइन् ।

यस्तै लेनदेनमा समस्या भएपछि दाइजोसम्बन्धी हिंसा हुने गरेको पाइन्छ ।

दक्षिण एसियामा दाइजो
दक्षिण एसियामा आर्थिक लाभका दृष्टिले विवाहमा दाइजोको उपयोग गर्ने चलन छ । भारत, बाङ्गलादेश, पाकिस्तान, नेपाल र श्रीलंकालगायतका मुलुकमा यो एक प्रथाको रुपमा रहेको छ । बाङ्गलादेशमा सन् २०११ मा ३३० जना र सन् २०१३ को पहिलो ६ महिनामै २५५ जना महिलाको हत्या दाइजोका कारण भएको थियो ।

विभिन्न अध्ययनका अनुसारमा दाइजोसम्बन्धी हिंसाका कारण भारतमा वार्षिक रुपमा २५ हजार जनासम्म महिलाको हत्या हुने गरेको छ । यस्तै, पाकिस्तानमा पनि दाइजोसम्बन्धी हिंसा घटित हुने गरेको छ । सन् १९९४ देखि सन् २००३ सम्ममा पाकिस्तानको इस्लामाबाद र रावलपिण्डी क्षेत्रमा दाइजोका कारण ६ हजार ५ सयभन्दा बढी बुहारी जलाइएकी थिइन् । इस्लामाबादमा मात्रै सन् १९९४ देखि २००२ मा ४ हजार महिलालाई दहेजका कारण परिवारका सदस्यले जलाएका थिए ।
Esamata

तपाईको प्रतिक्रिया