जेठको २५ गते कांग्रेस–एमाले–एमाओवादी र गच्छदार जस्ताका बीच भएको १६ बुंदे सहमति प्रति तमरा अभियानको घोर आपति छ । यस सहमतिबाट जनआन्दोलनका भावनाको उलङघन र मधेसी समुदाय लगायत नेपाली जनतासंग भएको राज्यपुनःसंरचना सम्बन्धि सबै संधि, सम्झौता, सहमतिलार्इ राज्य तर्फबाट तिरस्कार एवं भंग गरिएको छ । फलतः अब बन्ने भनिएको कथित नयां संविधानमा मधेसी जनताको किमार्थ पनि सहमति रहने छैन ।
यो सहमति भूकम्पबाट त्रस्त र असीम पिडाले नेपाली जनता छटपटाएको बेलामा, विरोधको राजनीति थांति रहेको वेलामा राज्यको तर्फबाट गरिएको भावनात्मक अत्याचार र शोषण हो । एमाओवादी पार्टीको तर्फबाट मधेसी र जनजाति समुदायका प्रति गरिएको गद्दारी हो । कांग्रेस–एमाले र एमाओवादीले मधेस आन्दोलनको कारणबाट अतीतमा भोग्नु परेको अपमानजन्य परिस्थितिको प्रतिशोध लिएको हो । साथै, सदैव सताको रक्त अहालमा भोजन खोजी बस्ने अहिले संविधान सभामा रहेका सता समर्पण–मुद्दा विसर्जनवादी कथित मधेसी दलहरूको हैसियतलार्इ पनि नंग्याइदिएको छ । यिनीहरूले गरेका पापको भार अब मधेसी जनताले बोक्नु पर्ने भएको छ ।
तमरा अभियान मधेसी जनतालार्इ पुनः संगठित भै मधेसी समुदाय भित्र रहेका राज्यका चाकरहरूको भण्डाफोर गर्दै नयां संघर्षको तयारीमा लाग्न अपील गर्दछ । मधेसी जनताले कांग्रेस–एमाले–एमाओवादी र संविधान सभामा रहेका सता समर्पण–मुद्दा विसर्जनवादी कथित मधेसी दलहरूलार्इ प्रतिगमनकारीहरूको एउटै कितामा राखेर यिनको विरोधमा मोर्चाबन्द हुनुपर्ने बेला आएको छ । मधेसमा हाल देखा परिरहेका अलग देश बनाउन चाहनेहरूले पनि बुझ्नु पर्ने भएको छ कि उनीहरूको हालका गतिविधीले मधेस आन्दोलनका सीमित उपलब्धिहरूलार्इ नै समाप्त पार्ने काममा मद्द पुर्याएको छ । तसर्थ, यस रूमानी र अतिवादी काममा लागेका युवाहरूले पनि निभ्न लागेको मधेसको दीयोलार्इ बचाउने काममा आफ्नो उर्जा लगाउनु उपयुक्त हुने तथ्य संझिनु बेश हुनेछ । हामी संघर्षमा छौ र फेरी पनि संघर्षमा नै रहनेछौ ।
–जय प्रकाश गुप्ता
संयोजक
२०७२–०२–२८


तपाईको प्रतिक्रिया