Khadya Bibhag

विद्यार्थी कुट्दा विद्यालयमा ताला

राकेश यादव ।
रौतहट, २७ जेठ । विद्यार्थीलाई प्रधानाध्यपकको छोराले कुटपिट गरेको विरोधमा रौतहटको विसुन्पुर्वा मानपुरस्थित निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
प्रधानाध्यापक राजाराम चौधरीका छोरा अजय चौधरीले कक्षा आठमा अध्ययनरत छात्रहरु माथि हातपात गरेको विषयलाई लिएर विद्यार्थीहरुले बुधवार सो विद्यालयमा अध्यन अध्यापन ठप्प पारी तालाबन्दी गरेका हुन् ।
पाँच जना स्थायी शिक्षक दरबन्दी भएकोमा दुई जना अन्यत्र काजमा रहेको, राहत शिक्षक १ जना, पिसिएफ १ जना गरी हाल पाँच जना मात्र शिक्षकबाट विद्यालय संचालन गर्न कठिनाई उत्पन्न भएपछि विद्यालय व्यवस्थापन समितिको जेठ ९ गते बसेको बैठकबाट तिन जना शिक्षकलाई निजी श्रोतमा ६ महिनाको लागि भर्ना गर्ने निर्णय गरेपनि प्रधानाध्यपकले नमान्दा विवाद सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जवाहर पंडितले बताए ।
तिन जना शिक्षकलाई निजी श्रोतमा भर्ना गर्न नियुक्ती पत्र तयार पार्न लाग्दा प्रअ चौधरीले दुई महिनाको लेख्न खोज्दा व्यवस्थापन समितिका पदाधिकारीहरुले शिक्षा नियमावलीमा उल्लेख भए अनुसार तिन महिना, ६ महिना वा एक बर्ष सम्म गर्नुपर्नेमा ६ महिना गर्नुपर्ने अडान राखेपछि विवाद चर्किदा अध्ययनरत छात्रहरु आएर प्रअ चौधरीलाई कार्यकक्षमै थुनेर ताला लगाएका थिए ।
प्रअ स्थानीय भएकोले उनका छोरा अजय चौधरी सहित आएका केही व्यक्तिहरुले गालीग्लौज गर्दै ताला लगाउने छात्रहरु माथि हातपात गर्दा विवाद बढेको थियो । प्रअका छोरा अजय सहितका व्यक्तिले छात्रहरु माथि हातपात गरेको विषयलाई लिएर आक्रोशित बनेका विद्यार्थीहरुले आज विद्यालयमा ताला लगाएर विरोध प्रर्दशन गरे ।
प्रधानाध्यापक चौधरीका अनुसार पहिला पनि निजी श्रोतमा रहेका शिक्षकको तलव बाँकी रहेकोमा उनीहरुलाई तत्काल बाँकी रकम दिएपछि मात्र बढिमा दुई महिना सम्म मात्र निजी श्रोतमा शिक्षक भर्ना गर्न भनिदा उनीहरुको सुनियोजित षड्यन्त्रबाट विद्यार्थीहरुले थुनेर अभद्र व्यवहार गरेको आरोप लगाए ।
जिल्ला शिक्षा अधिकारी भरतबाबु सवेदीले विसुनपुर्वा मानपुर गाविस स्थित निम्न माध्यमिक विद्यालयमा निजी श्रोतबाट शिक्षक भर्ना गर्ने विषयलाई लिएर प्रअको छोराले हातपात गरेको कार्यालयलाई जानकारी प्राप्त भएको स्वीकार गर्दै तत्काल विद्यालय निरीक्षक र श्रोत व्यक्तिलाई शुक्रवार पठाएर समस्या समाधान गर्ने बताए ।

तपाईको प्रतिक्रिया