काठमाडौँ, जेठ ११ गते । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गर्नुभएको छ । उहाँले गएराति ज्ञानेश्वरस्थित आफ्नै घरमा ‘सुसाइड नोट ’ लेखेर आत्महत्या गर्नुभएको उहाँका पारिवारजनले बताएका छन् ।
उहाँले ‘सुसाइड नोट’ मा आफूले आत्महत्या गर्नुको दोष नेपाल बार एसोसिएसनलाई दिनुभएको छ ।
अवकाश प्राप्त न्यायाधीशले सर्वोच्च अदालतमा अभ्यास गर्न नपाउने निर्णय नेपाल बारले गरेपछि न्यायाधीश उप्रेतीले असन्तुष्टि जनाउँदै आउनु भएको थियो ।
बारको सोही निर्णयबाट आफू मर्माहित भएको भन्दै आत्महत्या गरेको उहाँको ‘सुसाइट’ नोटमा उल्लेख रहेको उहाँका आफन्तले जानकारी दिएका छन् ।
उहाँको ‘सुसाइड नोट ’ मा इच्छामरण लेखिएको छ । ‘इच्छामरण हो । शव अस्पताललाई दान दिनू। काजकिरिया खर्च रु पाँच लाख भूकम्पपीडितलाई दिनू,’ सुसाइड नोटमा लेखिएको छ ।
स्वर्गीय उप्रेतीको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगिएको छ ।
“स्वर्गीय उप्रेती न्याय क्षेत्रमा इमान्दार र स्वच्छ छवि भएका व्यक्तिका रुपमा परिचित हुनुहुन्थ्यो” डेमोक्र्याटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष यदुनाथ खनालले उहाँको मृत्युको खबरले स्तब्ध भएको बताउँदै भन्नुभयो ।



तपाईको प्रतिक्रिया