Khadya Bibhag

लालपुर्जा दिएर विवाह सम्पन्न

महोत्तरी , जेठ  ६ गते । छोरीलाई समेत छोरा सरह अंश दिनुपर्छ भन्ने मान्यतालाई उजागर गर्दै जिल्लाको बर्दिबासका सत्यनारायण महतोले आफ्नी छोरीको विवाह लालपुर्जा दिएर सम्पन्न गर्नुभएको छ ।
मधेशी समुदायमा दाइजोले उग्ररुप लिइरहेको बेला प्रगतिशिल विचार राख्नेहरुले छोरीलाई पनि अंश दिनुपर्ने मान्यता राख्दै यस्तो विवाह गरिएको हो । महतोले आफ्नी छोरी कल्याण कुमारीको विवाहको अवसरमा जमिनको लालपुर्जा हस्तातरण गरेका थिए ।
सोमबार आफ्नै निवास बर्दिवास नगरपालिका १ मा आयोजित स्वयम्वर समारोहमा सत्यनारायणले छोरी कल्याण कुमारी तथा ज्वाई सिरहा मिर्चैया निवासी अनिल महतोलाई जमिनको लालपुर्जा सुम्पेका थिए ।
पराम्परागत विवाहलाई विस्थापित गरि प्रगतिशील संस्कार अनुसार छोराको विवाह गर्न पाउँदा आफुलाई निकै सन्तुष्ट भएको केटाका बुबा रामचन्द्र महतोले बताउनुभयो । आफु पहिलेदेखि नै दाईजो प्रथाको विरोधी भएको वावजुद यस परम्पराअनुसार छोराको विवाह गर्नका लागि ईष्टमित्रसँग निकै नै कठिनको सामना गर्नुपरेको रामचन्द्रले संचारकर्मीसमक्ष प्रतिक्रिया दिनुभयो ।
सो विवाह समारोहमा एकिकृत माओवादीका केन्द्रीय सचिव एवं सचेतक गिरीराजमणी पोखरेल, विभिन्न सभासदहरु, प्रमुख जिल्ला अधिकारी, संचारकर्मी लगायत गणमान्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सो समारोहमा एकिकृत माओवादीका सचिव एवं सचेतक गिरीराजमणी पोखरेलले तराईमा विस्तारै विस्तारै छोरीलाई अंश दिनुपर्ने प्रगतीशिल विचारकहरु बढी रहेको बताउनुहुदै यसले दहेजलाई केही हदसम्म न्यूनीकरण गर्न मद्दत पुग्ने विचार राख्नुभएको थियो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी दिपक काँफ्लेले समाजसाक्षी रुपी विवाह नै मुख्य र सफल हुने बताउनुहुदै मधेशी समुदायमा यस्ता क्रियाक्लापलाई प्रोत्साहन गर्नुपर्ने जानकारी दिनुभयो ।
सो विवाह समारोहमा एनेकपा माओवादीक सभासद निशा साह, पुर्व समान्य प्रशासन मन्त्री राम कुमार यादव, रामचन्द्र सिंह कुशवाहा लगायतका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो । त्यस्तै पुरोहीत एवं पराम्परा रहित प्रगतिशील संस्कारमा सम्पन्न भएको सो विवाह हेर्नको लागि हजारौ सर्वसाधारणको घुईचो लागेको थियो ।

तपाईको प्रतिक्रिया