रुपन्देही, जेठ ६ गते । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत रुपन्देही जिल्लाका सीमा स्तम्भको सर्भे र मर्मत गर्ने काम सुरु भएको छ ।
सीमा स्तम्भ मर्मतका लागि भारतका तर्फबाट सर्वेयर अनिल जोयल र नेपालका तर्फबाट सर्वेयर सञ्जीवकुमार रावतको टोली खटिएको छ । टोलीले आजदेखि काम सुरु गरेको हो । सो टोलीमा नेपालको सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मीसमेत छन् ।
गत माघ २६ गते नेपाल र भारतका फिल्ड सर्भे टोलीको संयुक्त बैठकले सीमास्तम्भ मर्मत र अद्यावधिक गर्ने निर्र्णय गरेको थियो । सीमासम्बन्धी फिल्ड कार्य सञ्चालनका लागि गठित नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला तथा भारतीय जिल्लाका अधिकारीको बैठक बसेको थियो ।
रुपन्देहीको सिमानामा ३६ सीमास्तम्भ पर्दछन् । तीमध्ये २९ स्तम्भ निरीक्षण भइसकेका छन् । बाँकी सात वटा सीमास्तम्भ भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएको हुँदा सर्भे गर्न बाँकी रहेको जिल्ला प्रशसान कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीको सीमा जोडिएका ३६ स्तम्भमध्ये २९ वटा भारतको महाराजगन्जसँग र सात सिद्धार्र्थनगर जिल्लासग जोडिएका छन् ।
“नेपाल–भारतका सुरक्षाकर्मीको रोहवरमा हालसम्म चार सीमास्तम्भको मर्मत भइसकेका छन्”–रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले भन्नुभयो–“अन्य स्तम्भको पनि मर्मत तथा रङ्गरोगनको काम भइरहेको छ ।”
रुपन्देही जिल्लाअन्तर्गत बगाहा–५ सेमरपानीमा पर्ने सहायक सीमास्तम्भ नम्बर ५१७-२३, सिद्धार्थनगर नगरपालिका ११ पिप्रहियामा पर्ने ५२०-२६ नम्बरको सीमास्तम्भको मर्मत गरिएको छ । त्यस्तै पिप्रहियामै रहेको मुख्य सीमास्तम्भ नम्बर ५२१-२७ र मर्यादपुर–९ स्थित ५२२-४ नम्बरको सीमास्तम्भ पनि मर्मत गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी रायमाझीले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया