Khadya Bibhag

भूकम्पबाट पीडित बालबालिकालाई संरक्षण

File Photo

सर्लाही, जेठ ५ गते । विनाशकारी भूकम्पबाट पीडित बालबालिकालाई सर्लाहीको हरिवनस्थित सर्भिस फर पिस नेपाल नामक संस्थाले संरक्षण दिने भएको छ ।

भूकम्पमा परी अभिभावक गुमाएका र कमजोर आर्थिक अवस्था भएका परिवारका ५० बालबालिकालाई शिक्षासहित पालनपोषणको जिम्मा लिइने सर्भिस फर पिस नेपालका कार्यकारी निर्देशक सरोज खनालले जानकारी दिनुभयो ।
“विशेषगरी विनाशकारी भूकम्पबाट अभिभावक गुमाएका र अभिभावक नगुमाए पनि विस्थापित भएका परिवारका बालबालिकालाई शिक्षादीक्षा एवम् लालनपालन सहितको जिम्मा लिने निर्णय गरेका छौँ”–खनालले भन्नुभयो–“जिल्ला दैवी प्रकोप उद्धार समिति एवम् बालकल्याण समितिको सिफारिससहित आउने बालबालिकाको संरक्षण संस्थाले गर्नेछ ।”

सर्लाहीसहित मुलुकका जुनसुकै स्थानका भूकम्पपीडित परिवारका बालबालिकालाई संरक्षण दिइने छ । भूकम्पका कारण मुलुकको अवस्था दयनीय बनेकाले संस्थाका तर्फबाट सानो भने पनि योगदान पुगोस् भन्ने उद्देश्यका साथ भूकम्पपीडित बालबालिकालाई संरक्षण दिन लागिएको खनालले बताउनुभयो । सो संस्थाले यसअघि नै हरिवनको सुखेपोखरीमा सञ्चालन गरिरहेको बाल आश्रममा ४० अनाथ बालबालिका आश्रित छन् ।

तपाईको प्रतिक्रिया